close

अटोपाइलट मोडको सुरक्षाबारे टेस्लाकै शेयरधनीले हालेको मुद्दामा एलन मस्कलाई सफाइ

टेकपाना टेकपाना

असोज १६, २०८१ १७:५९

अटोपाइलट मोडको सुरक्षाबारे टेस्लाकै शेयरधनीले हालेको मुद्दामा एलन मस्कलाई सफाइ

काठमाडौं । विश्व धनाढ्य एवं टेस्लाका संस्थापक एलन मस्कले टेस्लाको अटोपाइलट मोडसँग सम्बन्धित थप एक मुद्दा जितेका छन् । कम्पनीकै शेयरधनीहरूले टेस्लाको अटोपाइलट मोडको सुरक्षा र प्रभावकारिताको विषयमा हालेको मुद्दामा अदालतले मस्कको पक्षमा फैसला सुनाएको हो ।

टेस्लाको शेयरमूल्य बढाउन ड्राइभर असिस्ट प्रविधिको क्षमता र प्रभावकारिताबारे मस्कले बढाई चढाई गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो । तर रिट निवेदकले अटोपाइलट र पूर्ण सेल्फ-ड्राइभिङ प्रविधिमा लापरबाही भएको प्रमाण दिन नसकेपछि  क्यालिफोर्निया नर्थन डिस्ट्रिक्टका न्यायाधीशले मस्कलाई सफाइ दिएका हुन् ।

अदालतले अटोपाइलट मोडको सुरक्षा र प्रभावकारिताबारे मस्कले ठगी गरेको आरोपलाई खारेज गर्दै यसलाई 'कर्पोरेट पफरी' अर्थात् ठोस प्रतिज्ञा नभई मार्केटिङका लागि दिइएको बयानको रूपमा व्याख्या गरेको छ ।

अदालतले मस्कलाई सफाइ दिए पनि अटोपाइलट मोडको प्रभावकारिता र सुरक्षाको विषय कम्पनीले हाल गरिरहेको काम, भविष्यको योजना तथा ग्राहकहरूको अपेक्षा जस्ता विविध पक्षहरूमा निर्भर हुने ठहर गरेको छ । जसले शेयरधनीहरूबीच आरोपलाई परिमार्जित गर्दै पुनः मुद्दा हाल्न सक्ने बाटो भने खुल्ला रहेको छ ।​

मस्कले यस पहिला पनि टेस्लाको अटोपाइलट मोडको सुरक्षा र प्रभावकारितासँग अन्य दुई मुद्दामा सफाइ पाइसकेका छन् भने अटोपाइलट अन भएको बेला भएका दुर्घटनालाई लिएर संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान निकाय तथा राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले छानबिन गरिरहेको छ । 

 

पछिल्लो अध्यावधिक: असोज १६, २०८१ १८:२८