close

यसपालीको दशैंको दक्षिणा प्रविधिमा खर्च गर्ने कि ?

टेकपाना टेकपाना

असोज २५, २०८१ १०:४५

यसपालीको दशैंको दक्षिणा प्रविधिमा खर्च गर्ने कि ?

काठमाडौं । नेपालीहरूको महान् चाड दशैंमा ठूलाबाट आशिर्वादसहित दक्षिणा (पैसा) पनि पाइन्छ । पहिले दक्षिणालाई नयाँ लुगा, मिठो खानेकुरा वा अन्य व्यक्तिगत आवश्यकता पूरा गर्न प्रयोग गरिन्थ्यो । तर, अहिलेको डिजिटल युगमा आफ्नो दक्षिणालाई प्रविधिसम्बन्धी विभिन्न काममा खर्च गर्न सकिन्छ । त्यसो गर्दा व्यावसायिक, सिर्जनात्मक र शैक्षिक पक्षमा फाइदा नै पुग्छ ।

आज हामी दशैंको दक्षिणालाई लगानी गर्न सकिने केही प्रविधि सम्बन्धी विकल्पबारे चर्चा गर्ने छौं:

क्यान्भा प्रो (Canva Pro)

यदि तपाईं डिजाइनिङमा रुचि राख्नुहुन्छ भने क्यानभा प्रोमा लगानी गर्नु उत्तम हुन्छ । क्यान्भा प्रोमा तपाईंले प्रोफेसनल ग्राफिक्स डिजाइन गर्न धेरै टुल, टेम्पलेट र फिचर पाउन सक्नुहुन्छ ।

त्यसो हुँदा फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता सामाजिक सञ्जालका लागि आकर्षक पोस्ट, ब्यानर, लोगो र थम्बनेल बनाउन सक्नुहुन्छ । हुन त नि:शुल्क रूपमा पनि ती काम गर्न सकिन्छ, तर प्रो लिँदा धेरै कामका लागि अन्य टुलमा भर पर्नु पर्दैन । भनौं क्यान्भा प्रोमा तपाईंको समय र दक्षता दुवै बचत हुन्छ ।

युट्युब प्रिमियम (YouTube Premium)

युट्युब हाम्रा लागि मनोरञ्जन, सिकाइ र जानकारीको प्रमुख स्रोत हो । युट्युब प्रिमियममा लगानी गरेर तपाईंले विज्ञापनरहित भिडिओ हेर्न सक्नुहुन्छ । त्यस्तै अफलाइन भिडिओ डाउनलोड र युट्युब म्युजिकमा पहुँच पाउन सक्नुहुन्छ । 

स्पोटिफाई प्रिमियम (Spotify Premium)

संगीतप्रेमीहरूको लागि स्पोटिफाई प्रिमियम राम्रो विकल्प हो । स्पोटिफाईमा विज्ञापनरहित संगीत सुन्न, अनलाइन र अफलाइन प्लेलिस्ट बनाउन र विश्वभरका कलाकारहरूको नयाँ गीतहरू सुन्न सकिन्छ । तपाईंले दशैं दक्षिणाले स्पोटिफाइको प्रिमियम लिएर अब आउने तिहारको रमाइलो माहोलमा ‍मनपर्ने गीतहरू बजाउन सक्नुहुन्छ ।

गुगल ड्राइभ स्टोरेज (Google Drive Storage)

यदि तपाईंले आफ्नो डिजिटल डेटा व्यवस्थापन गर्न थप ठाउँको आवश्यकता महसुस गर्नुभएको छ भने गुगल ड्राइभ स्टोरेजमा लगानी गर्न सक्नुहुन्छ । यसले तपाईंलाई फाइलहरू सुरक्षित तरिकाले राख्न, महत्त्वपूर्ण डकुमेन्ट सजिलैसँग सेयर गर्न सजिलो बनाउँछ । स्पेस पुगेन भनेर चिन्ता गरिरहनु पर्दैन ।

एडोबी क्रिएटिभ क्लाउड (Adobe Creative Cloud)

फोटोग्राफी, भिडिओ सम्पादन वा ग्राफिक डिजाइनमा रुचि राख्नेहरूका लागि एडोबी क्रिएटिभ क्लाउड उत्कृष्ट विकल्प हो । यसले फोटोशप, प्रिमियर प्रो, इलस्ट्रेटर जस्ता टुलको पहुँच प्रदान गर्छ । जसबाट तपाईंले आफूलाई मनपर्ने काम गर्न सक्नुहुन्छ । यसले तपाईंको सिर्जनशील कामलाई थप नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्छ ।

लिंक्डइन प्रिमियम (LinkedIn Premium)

यदि तपाईं आफ्नो करिअरलाई अगाडि बढाउन चाहनुहुन्छ भने लिंक्डइन प्रिमियममा लगानी गरेर आफ्नो प्रोफाइल सुधार्न सक्नुहुन्छ । लिंक्डइन प्रिमियमले तपाईंलाई कर्पोरेट क्षेत्रका व्यक्तिहरूको प्रोफाइल हेर्न, प्रत्यक्ष मेसेज पठाउन र नयाँ अवसर पत्ता लगाउन सहयोग पुर्‍याउँछ । 

डोमेन खरिद र वेबसाइट निर्माण (Domain and website)

यदि तपाईं दशैंपछि कुनै व्यवसाय गर्ने सोच्दै हुनुहन्छ भने वेबसाइट बनाउनु र यसका लागि डोमेन खरिद पनि दक्षिणाको राम्रो सदुपयोग हो । होइन, यदि व्यवसाय गर्नुहुन्छ भने आफ्नो व्यक्तिगत ब्रान्डिङ, ब्लगिङका लागि पनि तपाईंले यस्तो काम गर्न सक्नुहुन्छ । 

फिटनेस र हेल्थ एप्स (Fitness & Health Apps)

यदि तपाईं आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन चाहनुहुन्छ भने फिटनेस र हेल्थ एप्समा लगानी गर्न सक्नुहुन्छ । यस्ता एप नि:शुल्क पाइन्छन् । तर तिनमा विशेषज्ञले उपाय नदिएका हुन सक्छन् । यसकारण प्रिमियम एपमा लगानी गरेर स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ ।

क्यापकट प्रो (CapCut Pro) 

नेपालमा चर्चित सामाजिक सञ्जाल मध्येको एक हो, टिकटक । यसमा चाँडै नै जोकोहीले हजारौं फलोअर बटुल्न सक्छन् । तर यसका लागि भिडिओ राम्रो हुन आवश्यक छ । टिकटकमा हाल्ने भिडिओ एडिट नै गर्न भनेर क्यापकट नामक एप उपलब्ध छ ।

यसबाट भिडिओलाई आकर्षक र प्रोफेसनल देखाउन सकिन्छ । यसका लागि इन्टफरेस, ट्रान्जिसन/इफेक्ट, सङ्गीत जस्ता भिडिओ सम्बन्धी अनेकन् टुल पाइन्छन् । तर यदि सशुल्क चलाइए तीभन्दा अझ बढी फिचर पाइन्छन् । यस पटकको दशैं दक्षिणा तपाईंले यहाँ लगानी गर्न सक्नुहुन्छ ।

अनलाइन कोर्स (Online Courses)

आफ्नो ज्ञान र सीप बढाउन चाहनुहुन्छ अनलाइन कोर्स प्लेटफर्ममा दक्षिणालाई सदुपयोग गर्न सक्नुहुन्छ । युडेमी (Udemy), कोर्सेरा (Coursera) वा स्किलशेयर (Skillshare) जस्ता प्लेटफर्म केही राम्रा विकल्प हुन् । जसमा लगानी गरेर तपाईंले नयाँ सीपहरू सिक्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८१ २१:२८