काठमाडौं । गिटहबले कोडिङ नगरी प्राकृतिक भाषा (न्याचुरल ल्याङ्ग्वेज)का आधारमा नै एप बनाउन सहयोग गर्ने एआई टुल ल्याएको छ । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित गिटहब युनिभर्स कन्फ्रेन्सका क्रममा कम्पनीले ‘स्पार्क’ नामक टुल सार्वजनिक गरेको हो ।
यस टुलले अङ्ग्रेजी भाषामा लेखिएको निर्देशन (प्रम्प्ट)का आधारमा वेब एप बनाउन सक्नेछ । गिटहब नेक्स्ट ल्याब्सले तयार पारेको यस टुलले प्रयोगकर्ताको सुरुवाती सुझाव लिएर केही सेकेन्डमै एपको झलक तयार पार्नेछ । त्यसपछि प्रयोगकर्ताले च्याटमार्फत इन्टरफेसमा थप सुधार गर्न सक्नेछन् ।
गिटहबका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थोमस डोहम्केका अनुसार स्पार्कलाई मुख्यत: व्यक्तिगत प्रयोगका लागि माइक्रो एप निर्माणमा केन्द्रित गराइएको छ । यसको अर्थ यसबाट जटिल र ठूलो आकारका एप नभइ सामान्य खालमा एप बनाउन सकिन्छ । तर स्पार्कको क्षमता सीमित नगरिएकाले शक्तिशाली एप समेत निर्माण गर्न सकिने उनको भनाइ छ ।
टुलमा प्रयोगकर्ताले ओपनएआईको जीपीटी र एन्थ्रोपिकको क्लाउड सोनेट जस्ता एआई च्याटबट पनि छान्न सक्नेछन् । यसले एप निर्माणको कामलाई थप सजिलो बनाउने छ । यसबाहेक प्रयोगकर्ताले आफ्नो स्पार्क अन्यसँग साझा गर्न, नियन्त्रण गर्न समेत सक्नेछन् ।
त्यस्तै कोडिङ जान्ने प्रयोगकर्ताले भने स्पार्कले तयार पारेको कोडमा कुनै समस्या देखिए त्यसलाई परिमार्जन गर्न सक्नेछन् । एआईबाट सधैं सही कोड नआउने भएकाले यस्तो फिचर राखिएको सीईओ डोहम्केको भनाइ छ ।