काठमाडौं । एप्पलले लोकप्रिय फोटो एडिटिङ एप पिक्सेलमेटर खरिद गर्ने भएको छ । पिक्सेलमेटरले आफ्नो ब्लगमा यसबारे जानकारी दिँदै यो कदमले अझै ठूलो संख्यामा प्रयोगकर्तासम्म आफ्नो पहुँच विस्तार गर्नसक्ने बताएको छ ।
एप्पलसँगको सम्झौतामा पिक्सेलमेटर प्रो, पिक्सेलमेटर फोर आईओएस, र फोटोमेटर एप्समा तत्काल कुनै ठूलो परिवर्तन नआउने उल्लेख छ । सम्झौताका थप जानकारी खुलाइएको छैन । यो अधिग्रहण प्रक्रिया चाँडै अनुमोदन हुने बताइएको छ ।
पिक्सेलमेटर एक लिथुआनियाली कम्पनी हो, जसको स्थापना २००७ मा भएको थियो । पछिल्ला वर्षहरूमा यसले पिक्सेलमेटर र पिक्सेलमेटर प्रो जस्ता एप्सको लागि एडोबी फोटोशपसँग प्रतिस्पर्धा गर्दै आएको छ । यसले फोटोमेटर नामक फोटो एडिटिङ एप पनि बनाएको छ ।
एप्पलले आफ्ना उत्पादन सार्वजनिक गर्ने क्रममा पिक्सेलमेटरका एपहरूलाई पटकपटक प्राथमिकता दिएको छ । २०१८ मा एप्पलले पिक्सेलमेटर प्रोलाई ‘Mac App of the Year’ को सम्मान प्रदान गर्दै यसको आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको प्रभावकारी प्रयोगलाई उच्च सराहना गरेको थियो ।
पिक्सेलमेटरले ब्लगमा भनेको छ, “हामी सुरु देखि नै एप्पल बाट प्रेरित हुँदै आएका छौं र हाम्रा उत्पादनहरूलाई डिजाइन, सजिलो प्रयोग र प्रदर्शनमा विशेष ध्यान दिएका छौं ।”
एप्पल सामान्यतया सिलिकन भ्यालीका अन्य ठूला कम्पनीहरू जस्तै धेरै ठूला कम्पनीहरू खरिद गर्दैन । यसले प्रायः साना कम्पनीहरू खरिद गरेर उनीहरूको प्रविधि वा टोलीलाई आफ्ना उत्पादनहरूमा समाहित गर्ने प्रयास गर्दछ । पिक्सेलमेटरर र एप्पल दुवैले लेनदेनको मूल्यबारे कुनै जानकारी दिएका छैनन् ।
यसै साता एप्पलले आफ्नो फोटो एडिटिङ क्षमताहरू समेटिएको ‘एप्पल इन्टेलिजेन्स’ को पहिलो संस्करण सार्वजनिक गरेको थियो, जसमा एआई प्रयोग गरी फोटोबाट मानिस वा वस्तुहरू हटाउन सकिने सुविधा छ ।