काठमाडौं । राहदानी विभागको सिस्टममा भाइरस संक्रमण भएको पुष्टि भएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले ‘राहदानी आवेदन प्रणालीमा' भाइरस प्रवेश गरेको कुराको जानकारी दिएको हो ।
भाइरस प्रवेश गरेको प्रारम्भिक आशङ्कामा चार दिनदेखि विभागको सिस्टम डाउन गरिएको छ । यसबाट राहदानी सम्बन्धी सेवा समेत अवरुद्ध भएको छ ।
अवरुद्ध सेवा पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै दुई हप्तासम्म लाग्न सक्ने बताइएको छ । यसअघि विभागले सेवा अवरुद्ध भएको मात्र सूचना राखेको थियो ।
त्यसमा सेवा अवरुद्ध हुनुको कारण भने खुलाइएको थिएन । आइतबार अद्यावधिक सूचना राख्दै विभागले सिस्टममा भाइरस पसेकाले थप सङ्क्रमण नहोस् भन्नका लागि साइट डाउन गरिएको जानकारी गराएको हो ।
“राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको र यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको छ,” सूचनामा लेखिएको छ ।
“उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन एक/दुई हप्तासम्म लाग्न सक्ने देखिएको छ ।”
सूचनामा राहदानी विभागबाट आंशिक रूपमा सेवा सुरु गरिएको जानकारी दिइएको छ । विभागले यस अघि नै फाराम भर्ने सेवाग्राहीलाई सेवा दिन सुरु गरिसकेको जानकारी दिएको छ । त्यस्तै एक दुई दिनमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुला गरिने कार्यालयले जनाएको छ ।
भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको बताइएको छ । आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको भन्दै कार्यालयले धैर्ययता अपनाउन अनुरोध गरेको छ ।
त्यस्तै अत्यावश्यक पर्ने सेवाग्राहीका लागि विभागबाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको बताइएको छ ।