close

कुन स्मार्टवाच किन्ने ?

गणेश सुवेदी गणेश सुवेदी

पुस ७, २०८१ १६:३७

कुन स्मार्टवाच किन्ने ?

काठमाडौं । चट्ट हातमा ब्लुटुथ कलिङ फिचर भएको स्मार्टवाच लगाउने सोच छ, तर बजेट पाँच हजार रुपैयाँको हाराहारीमा मात्र छ भने यो सामग्री तपाईंका लागि ।

यस सामग्री तयार गर्दा ईकमर्स प्लेटफर्म दराजमा उपलब्ध १५०० देखि आठ हजार रुपैयाँ मूल्य रहेका स्मार्टवाच हेरिएको छ । तर तपाईंले यी सबै स्मार्टवाच पाँच हजारभन्दा कम मूल्यमै पाउन सक्नुहुनेछ ।

यसैगरी दराजको सेल्स नम्बर अनि रेटिङलाई विशेष आधार बनाइएको छ । फोर स्टारभन्दा माथि रेटिङ पाएका र ५०० भन्दा बढी थान बिक्री भएका घडीहरू यसमा राखिएका छन् । जसमा आधिकारिक स्टोरबाट बिक्री भएका घडीहरूलाई मात्र समावेश गरिएको छ ।

कुरा सुरु गरौं, सूचीको सबैभन्दा कम मूल्यको प्रोडक्टबाट ।

जिब्लेज बीटक प्लस

 

दराजमा यो स्मार्टवाचको मूल्य पाँच हजार रुपैयाँ रहेको । तर छुटमा तीन हजार रुपैयाँमा नै पाउन सकिन्छ । यसमा ब्लुटुथ कलिङ, १०० बढि स्पोर्ट्स मोड, फेस वाच आदि फिचर रहेका छन् । घडीले आईपी ६८ रेटिङ पाएको छ । 

हर्ट रेट, एसपीओ टू मापन गर्ने सुविधा पाउनु नै हुन्छ । तर यसमा डिस्प्ले २.०३ इन्चको कलर एचडी डिस्प्ले मात्र रहेको छ । यो मूल्यमा एमोलेड डिस्प्ले भएको भए अझ मजा आउँथ्यो ।

घडी जेट ब्ल्याक, स्टारलाइट स्लिभर र रोज पिन्क रङ्गमा उपलब्ध छ । ८०० थान बढी बिक्री भएको यो स्मार्टवाचलाई दराजमा प्रयोगकर्ताहरूले ४.३ स्टार रेटिङ दिएका छन् ।

बोट वेभ कल टू

यदि तपाईंको चेप्टो आकार मै भारतीय ब्रान्डको स्मार्टवाच लगाउने सोच छ भने बोटको स्मार्टवाच वेब कल टूमा पनि आँखा लगाउन सक्नुहुनेछ । यसको मूल्य आठ हजार रुपैयाँ रहेको छ । यसलाई पनि छुटमा तीन हजारको आसपासमा पाउन सकिन्छ ।

यस घडीमा १.८३ इन्चको एचडी डिस्प्ले पाउन सकिन्छ । कलिङ फिचर, क्विक रिप्लाई, भोइस असिस्टेन्ट लगायतका फिचरहरू यसमा रहेका छन् । यसको महत्त्वपूर्ण कुरा भनेको तपाईंले यसमा एक हजार बढी वाच फेस र सात सय बढी स्पोर्ट्स मोड पाउन सकिने कम्पनीले दाबी गरेको छ । 

यति धेरै विकल्पहरू अन्य घडीमा खासेै दिइएको हुँदैन । त्यसैले पनि यो घडी अलि विशेष छ । यसले नोटिफिकेसन पनि सपोर्ट गर्छ । ब्याट्रीको कुरा गर्दा यसमा २३० एमएएच क्षमताको रहेको छ र यसले ५.२ ब्लुटुथ भर्सन सपोर्ट गर्छ । दराजबाटै १७०० भन्दा धेरै बिक्री भएको यो घडीले ४.३ स्टार रेटिङ पाएको छ ।

अल्टिमा नोभा प्रो/अल्टिमा एक्टिभ

अब एमोलेड डिस्प्ले रहेका स्मार्टवाचबारे कुरा गरौं । यसमा अल्टिमाका दुई वटा स्मार्टवाच रहेका छन् । अल्टिमा नोभा प्रो र अल्टिमा वाच एक्टिभ । यसमध्ये अल्टिमा वाच एक्टिभ केही समयअघि मात्र सार्वजनिक भएको घडी हो ।

यी दुवैमा अल्वेज अन डिस्प्ले, आईपी ६८ रेटिङ, २०० बढी वाच फेस, १०० बढी स्पोर्ट्स मोड रहेका छन् । यसैगरी हेल्थ मोनिटरिङका लागि एसपीओ टू, हर्ट रेट, स्लिप ट्रयाक लगायतका फिचरहरू रहेका छन् ।

तर दुवैमा ब्याट्री क्षमता र ब्राइटनेस भने फरक रहेको छ । नोभा प्रोमा २५० एमएएच र अल्टिमा एक्टिभमा ३३० एमएएचको ब्याट्री दिइएको छ । यसैगरी अल्टिमा एक्टिभमा १००० निट्स र नोभा प्रोमा ८०० निट्सको ब्राइटनेस रहेको छ । मूल्य भने अल्टिमा एक्टिभको पाँच हजार ५०० र नोभा प्रोको ६ हजार रुपैयाँ रहेको छ । 

तर बेला बेलामा अफर आइरहेको हुन्छ । त्यो बेलामा तपाईले किन्नु भयो भने तीनदेखि चार हजारको बिचमा यी घडी पाउन सक्नुहुन्छ । यी दुवैमा  ब्लुटुथ भर्सन ५.३ दिइएको छ । यी मध्ये दराजबाट अल्टिमा नोभा प्रो चार हजार ४०० र वाच एक्टिभ १४०० बढी बिक्री भइसकेको छ । यसैगरी नोभा प्रोले दराजमा ४.३ र ४.६ स्टार रेटिङ पाएको छ ।

अलेवा रेन्जर

अब अलेवा रेन्जरकोबारे पनि कुरा गरौं । वर्गाकारसँगै थोरै स्पोर्टी डिजाइनमा आएको यो स्मार्टवाचको मूल्य ४९९९ रुपैयाँ रहेको छ । तर अफर भएको बेलामा किन्नु भयो भने अझै सस्तो मूल्यमा तपाईंले पाउन सक्नुहुने छ ।

यो घडीमा ४१० एमएएचको ब्याट्री रहेको कम्पनीको दाबी छ । घडीमा ब्लुटुथ भर्सन ५ दिइएको छ । यसमा पनि माथिका स्मार्टवाचहरूमा जस्तै हेल्थ मोनिटरिङ फिचर, ३०० बढी वाच फेस, स्पोर्ट्स मोड जस्ता फिचरहरू दिइएका छन् ।

यस घडीमा पनि अल्वेज अन डिस्प्ले सहितको १.४३ इन्चको एमोलेड डिस्प्ले रहेको छ । साथै यसमा ८०० निट्सको ब्राइटनेस पनि दिइएको छ । आईपी ६८ रेटिङ दिइएको यो घडीले २० भन्दा बढी ल्याङ्ग्वेज सपोर्ट गर्छ । दराजमा ४.३ रेटिङ पाएको यो घडी करिब ८०० थान बिक्री भइसकेको छ ।

ग्रिन अर्बिट प्रो लक्जरी स्मार्टवाच

​हाम्रो सुचीमा परेको अर्को स्मार्टवाच हो, ग्रिन लाइफ एक्सपेरियन्सको ग्रिन अर्बिट प्रो लक्जरी स्मार्टवाच । यसमा कनेक्टिभिटीका लागि ब्लुटुथ भर्सन ५.२ दिइएको छ । मेटालिक बडी भएको यो स्मार्टवाचमा अरु घडीभन्दा भिन्न इन्टरफेस र थ्रीडी फेस वाच पाउन सकिन्छ । 

१.४३ इन्चको डिस्प्ले रहेको यसमा ८०० निट्सको ब्राइटनेस र ६० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा पनि हेल्थ मोनिटरिङ, ब्लुटुथ कलिङ, महिनावारी ट्रयाकिङ लगायतका फिचर रहेका छन् ।

आईपी ६८ रेटिङसहित आउने यो स्मार्टवाचमा १७८ स्पोर्ट्स मोड रहेका छन् । यसमा २७० एमएएचको ब्याट्री दिइएको छ । यदि तपाईंलाई गह्रौं र स्टेनलेस स्टिलको स्ट्राप मन पर्छ भने यो घडी तपाईंको रोजाइमा पर्न सक्छ ।

यसबाहेक पनि यो घडी किन्दा एउटा लेदर स्ट्राप पनि पाउन सकिन्छ । यसको मूल्य सात हजार ९९९ रुपैयाँ तोकिएको छ । तर तपाईंले घडीलाई चार/पाँच हजारको आसपासमा पाउन सक्नुहुने छ । दराजबाट २०० बढी थान बिक्री हुँदा यसलाई ४.८ स्टार रेटिङ दिइएको छ । 

यी पाँच विकल्पबाहेक बजारमा अन्य पनि स्मार्टवाच रहेका छन् । तपाईंले छुट दिइरहेका समयमा घडी किन्नु भए सस्तोमा पाउन सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८१ १७:१