close

साइबर अपराधमा संलग्नलाई अमेरिका प्रवेशमा रोक, परिवारका सदस्य समेतले भिसा नपाउने

टेकपाना टेकपाना

साउन ८, २०८३ १०:३१

साइबर अपराधमा संलग्नलाई अमेरिका प्रवेशमा रोक, परिवारका सदस्य समेतले भिसा नपाउने

काठमाडौं । साइबर अपराधमा संलग्न व्यक्ति तथा तिनका सहयोगरीहरूले अमेरिका प्रवेश गर्न नपाउने भएका छन् । अमेरिकी विदेश सचिव मार्को रुबियोले बिहीबार साइबर अपराध र साइबर प्रविधिको सहायताले गरिने स्क्याम, सेक्सटोर्सन (यौनजन्य ब्ल्याकमेल) लगायत अपराधमा संलग्न वा त्यस्ता गतिविधिलाई सहयोग गर्ने व्यक्तिलाई लक्षित गर्दै नयाँ विश्वव्यापी भिसा प्रतिबन्ध नीति सार्वजनिक गरेका छन् ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिका तत्कालका परिवारका सदस्यहरू पनि अमेरिकी भिसा प्रतिबन्धको दायरामा पर्न सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले आपराधिक साइबर ठगी सञ्जाल ध्वस्त पार्न आफ्नो हातमा रहेका सबै कानुनी र कूटनीतिक उपाय प्रयोग गर्ने जनाएको छ ।

यसअन्तर्गत आर्थिक प्रतिबन्ध, फौजदारी अभियोजन, सम्पत्ति जफत, अभियुक्तको प्रत्यर्पण (एक्स्ट्राडिसन) र अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन निकायसँगको सहकार्यलाई तीव्र बनाइने बताइएको छ ।

साथै, यस्ता आपराधिक सञ्जाल सञ्चालन गर्ने वा त्यसमा सहयोग गर्ने व्यक्तिलाई अमेरिकी भिसा नदिने व्यवस्था गरेर आफ्ना नागरिकलाई साइबर ठगी र अन्य अनलाइन अपराधको सिकार बनाउनेहरूमाथि कडा कारबाही गर्ने स्पष्ट सन्देश दिन चाहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ १०:३१