नेपालको जेनजी आन्दोलनमा चर्चित इन्टरनेटबिनै कुराकानी गर्न सकिने ‘बिटच्याट’ एप भारतमा प्रतिबन्ध
साउन ९, २०८३ १२:५
काठमाडौं । भारत सरकारले ब्लुटुथमा आधारित मेसेजिङ एप ‘बिटच्याट’ लाई आफ्नो प्लेटफर्मबाट हटाउन ‘गिटहब’लाई निर्देशन दिएको छ । गृह मन्त्रालय मातहतको साइबर अपराध नियन्त्रण निकाय ‘इन्डियन साइबरक्राइम कोअर्डिनेसन सेन्टर’ले माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहबलाई सो निर्देशन दिएको हो ।
यो एप ट्वीटरका पूर्व मुख्य कार्यकारी अधिकृत (सीईओ) ज्याक डर्सीले विकास गरेका हुन् । डर्सीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै २४ जुलाईको सरकारी सूचना सार्वजनिक गरेका छन् । भारत सरकारले बिटच्याट जस्ता प्रविधि हटाउन खोजेको उनको दाबी छ । यस विषयमा इन्डियन साइबरक्राइम कोअर्डिनेसन सेन्टरले सञ्चार माध्यमलाई हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यो एपले इन्टरनेट वा मोबाइल नेटवर्क नभएको अवस्थामा पनि सञ्चार कायम राख्न मद्दत गर्छ । यस प्राविधिक संरचनाका कारण राष्ट्रविरोधी तत्व, आतंकवादी र साइबर अपराधीले यसको दुरूपयोग गर्न सक्ने सरकारको भनाइ छ । यो एप्लिकेसनमा प्रयोगकर्ता दर्ता, फोन नम्बर प्रमाणीकरण वा सञ्चारको केन्द्रीय रेकर्ड रहँदैन । यसले गर्दा सुरक्षा निकायलाई सञ्चार ट्र्याक गर्न र अनुसन्धान गर्न गम्भीर बाधा पुग्ने सेन्टरले जनाएको छ ।
नीट पेपर लिकको विषयलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सहित अन्य माग राख्दै ककरोच जनता पार्टीले नयाँ दिल्ली स्थित जन्तरमन्तरमा विरोध प्रदर्शन गर्दै आएको छ । सोही प्रदर्शनका क्रममा यो एप प्रयोग भएको दाबी गरिएको छ । सरकारले प्रदर्शन स्थल वरपर इन्टरनेट बन्द गरेको समयमा पनि प्रदर्शनकारीले ब्लुटुथ मेस नेटवर्कमार्फत सञ्चार गरेका थिए ।
यस्ता विकेन्द्रीकृत प्लेटफर्म गैरकानुनी भेला, हिंसात्मक प्रदर्शन र भ्रामक सूचना प्रवाहमा प्रयोग हुन सक्ने सरकारी सूचनामा उल्लेख छ । यसले भारतको सार्वभौमसत्ता, अखण्डता र सार्वजनिक सुव्यवस्थामा नकारात्मक असर पुऱ्याउने दाबी गरिएको भारतीय पत्रिका द हिन्दुले उल्लेख गरेको छ ।
गिटहबलाई पठाइएको सूचनामा बिटच्याट एपले भारतको सूचना प्रविधि ऐनको धारा ४३, ८४-बी, ८४-सी, ६१, १९६ र १९७ को उल्लंघन गरेको उल्लेख छ । २३ र २४ भदौको जेन-जी विद्रोहका क्रममा नेपालमा यस एपले व्यापक चर्चा पाएको थियो । खासगरी अधिकांश सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लागेको अवस्थाा र इन्टरनेट नै ब्ल्याकआउट हुन्छ भन्ने हल्ला चलिरहेको बेला सञ्चारका लागि सबैभन्दा भरपर्दो विकल्पका रूपमा नेपालीले यो प्लेटफर्म प्रयोग गर्न थालेका थिए ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८३ १२:५१
