काठमाडौँ । राहदानी विभागले इलेक्ट्रोनिक मसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएमआरटीडीएस) को ठेक्का दुई जर्मन कम्पनीलाई दिएको छ । बिहीबार छुट्टाछुट्टै सूचनामार्फत विभागले दुवै कम्पनीको सँग ठेक्का सम्झौता गर्न चाहेको जानकारी गराएको हो ।
दुई प्याकेजमा विभाजित ईएमआरटीडीएसको प्याकेज-१ मुइलबर आईडी सर्भिसेज जीएमबीएच (Muehlbauer ID Services GmbH) लाई एक अर्ब ५५ करोड ८ लाख १४ हजार ३२५ तथा ७ लाख ३८ हजार ५३६ गरी एक अर्ब ५५ करोड १५ लाख ५२ हजार ८६१ रुपैयाँमा दिइएको छ । जसमा प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डेटा म्यानेजमेन्ट र डेलिभरी सिस्टम लगायत ईएमआरटीडीएस सिस्टमको काम समावेश छ ।
त्यसैगरी परियोजनाको प्याकेज-२ को ठेक्का ६ अर्ब ११ करोड ३८ लाख २७ हजार ३७० का अतिरिक्त १६ करोड १६ लाख ८ हजार ३८४ गरी ६ अर्ब २७ करोड ५४ लाख ३५ हजार ७५४ रुपैयाँको ठेक्का जर्मनीकै भेरिडोस जीएमबीएच (Veridos GmbH) लाई हस्तान्तरण गरिएको छ ।
जसमा ईएमआरटीडीएसको बुकलेटसहित पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टम समावेश छ । दुवै प्याकेजको ठेक्का सम्झौताका लागि तय गरिएको मूल्य ७ अर्ब ८२ करोड ६९ लाख ८८ हजार ६१५ रुपैयाँ हुन आउँछ । उल्लिखित दुवै कम्पनी न्यूनतम बोलकबोल रकमको आधारमा छनौट गरिएको विभागले जनाएको छ ।