शार्क ट्याङ्कमार्फत ‘सजिलो सेवा’ ले पायो डेढ करोड लगानी, देशभर सेवा विस्तार गर्ने लक्ष्य
साउन ८, २०८२ १३:५८
काठमाडौँ । अनलाइनमार्फत घर तथा कार्यालयमा मर्मतसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको स्टार्टअप कम्पनी ‘सजिलो सेवा’ले डेढ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ मार्फत कम्पनीले उक्त लगानी सुनिश्चित गरेको हो ।
बुधबार प्रसारित एपिसोडमा कम्पनीका सह-संस्थापकहरू कविस श्रेष्ठ, पुकार आचार्य र सुजीत रेग्मीले लगानीका लागि आफ्नो प्रस्ताव प्रस्तुत गरेका थिए । उनीहरूले कम्पनीको १५ करोड रुपैयाँ मूल्याङ्कन गरी १० प्रतिशत इक्विटीको बदलामा डेढ करोड लगानी प्रस्ताव गरेका थिए ।
छलफलपछि शार्कहरू क्याबिनेट श्रेष्ठ र सौरभ ज्योतिले कम्पनीको १० करोड रुपैयाँ मूल्याङ्कन गर्दै १५ प्रतिशत इक्विटीमा उक्त रकम लगानी गर्न सहमत भएका हुन् । कम्पनीले प्राप्त लगानी देशभर सेवा विस्तार गर्न उपयोग गर्ने जनाएको छ ।
सन् २०१७ देखि सञ्चालनमा आएको सजिलो सेवाले आवश्यक प्राविधिक र सेवाग्राहीलाई जोड्ने पुलको रूपमा काम गर्दछ । हाल काठमाडौँ र पोखरामा प्लम्बिङ, इलेक्ट्रिकल, फर्निचर मर्मत, सरसफाइ लगायत ५० भन्दा बढी सेवाहरू प्रदान गर्दै आएको छ ।
१८ लाख सुरुवाती लगानी भएको कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा साढे तीन लाख रुपैयाँको कारोबार गरेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा साढे ६ करोडको कारोबार गर्ने लक्ष्य राखिएको प्रस्तुतिमा जानकारी दिइएको थियो ।
हाल कम्पनीमा ३० जना नियमित कर्मचारी र एक हजारभन्दा बढी फ्रिल्यान्सर प्राविधिकहरू आबद्ध छन् । कम्पनीले हालसम्म एक लाख १० हजारभन्दा बढी पटक सेवा प्रदान गरिसकेको छ । सेवामा खटाउनुअघि प्राविधिकहरूको पृष्ठभूमि प्रमाणीकरण गरिने र सेवाग्राहीसँगको व्यवहारबारे तालिम दिइने बताइएको छ ।
ग्राहकलाई सहजताका लागि कम्पनीले सन् २०२३ देखि सञ्चालनमा ल्याएको मोबाइल एप ५० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १४:३४
