सञ्चालनमा आएको ५ वर्षसम्म लगातार घाटामा टेलिकमको वालेट नमस्ते पे, हरेक वर्ष करोडौँको नोक्सानी
कात्तिक २८, २०८२ १२:३
काठमाडौँ । २९ भदौ २०७८ देखि सञ्चालनमा आएको नमस्ते पे अहिलेसम्म कुनै पनि वर्ष नाफामा जान सकेको छैन । नमस्ते पे सञ्चालनमा आएदेखि लगातार घाटामै चलिरहेको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैँकको संयुक्त लगानीमा स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले नमस्ते पे ब्रान्डमा मोबाइल वालेट सञ्चालन गरिरहेको छ ।
दुई ठुला व्यावसायिक संस्थाको साथ पाउँदा समेत नमस्ते पे नाफामा जान नसकेको देखिन्छ । कम्पनीमा टेलिकमको ६२ प्रतिशत र वाणिज्य बैँकको ३८ प्रतिशत लगानी छ । कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ ।
नमस्ते पेले ३ चैत २०७७ मा नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी सेवा प्रदायक (पीएसपी) को लाइसेन्स पाएको थियो । नमस्ते पे चुक्ता पुँजीका हिसाबले देशकै दोस्रो ठुलो मोबाइल वालेट हो ।
नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । यसअघि नमस्ते पे सबैभन्दा धेरै चुक्ता पुँजी भएको वालेट रहेको भए पनि खल्ती र आईएमई पे मर्ज भएपछि दोस्रो बनेको हो । आईएमई खल्तीको चुक्ता पुँजी ५४ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनी सुरु भएकै वर्ष नमस्ते पेले १७ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । सुरुआति वर्ष लाखमा घाटा खेपिरहेको नमस्ते पे त्यसपछिका हरेक वर्ष करोडौँ घाटा खाइरहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नमस्ते पेले तीन करोड ३२ लाख रुपैयाँ घाटा ब्यहोर्यो । त्यसपछि घाटाको ग्राफ बढेर कम्पनी आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ३२ लाख रुपैयाँ पुग्यो । आर्थिक वर्ष २०८०/८१ मा घाटाको रकम केही घट्यो । त्यो वर्ष नमस्ते पेको घटा चार करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को ताजा वित्तीय विवरणअनुसार घाटा चुलिएर अहिलेसम्मकै सर्वाधिक ६ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि पाँच वर्षको अवधिमा नमस्ते पेले ग्राहकबाट गर्ने आम्दानी केही बढाउँदै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा नमस्ते पेले ८५ लाख २० हजार रुपैयाँ ग्राहकबाट आम्दानी गरेको देखिन्छ । त्यसपछि आर्थिक वर्ष २०७९/८० मा त्यस्तो आम्दानी एक करोड ५४ लाख रुपैयाँ थियो ।
आर्थिक वर्ष २०८०/८१ मा करिब चार करोड रुपैयाँ आम्दानी गरेको भए पनि आर्थिक वर्ष २०८१/८२ मा भने त्यो रकम घटेर तीन करोड ६५ करोड रुपैयाँमा सीमित भएको वित्तीय विवरणले देखाउँछ ।
गत वर्षसम्म नमस्ते पेको मौज्दात १९ करोड ४८ लाख रुपैयाँ घाटामा छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीकी चिफ कमर्सियल अफिसर श्वेता बग्ला भने कम्पनीलाई घाटाको दृष्टिबाट मात्रै हेर्नु उपयुक्त नहुने बताउँछिन् । समग्र मोबाइल वालेटको बजारलाई हेर्दा घाटाको नजरबाट हेर्न उपयुक्त नहुने उनको जिकिर छ ।
इकोसिस्टमको तयारीमा समय खर्चिनु परेकाले दुई सरकारी संस्थाको संयुक्त लगानीमा सञ्चालित नमस्ते पेले सोचेअनुसार व्यापार गर्न नसकेको उनको भनाइ छ । कम्पनी सुरु गर्ने समयमा कोरोना महामारीको समय परेकाले पनि इकोसिस्टम तयार पार्न आफूहरूले ठुलो चुनौती खेप्नु परेको उनले बताइन् । घाटामा गएर कम्पनी बर्बाद हुन लाग्यो भन्नु गलत हुने बताउँदै क्रमश: इकोसिस्टम निर्माण हुँदै गएकाले अवस्था सुधार हुँदै जाने उनको दाबी छ ।
"जतिबेला आईएमई पे, इसेवा, खल्ती लगायतका वालेटले सेवा सुरु गरे, त्यतिबेला धेरै नियामकीय प्रावधान विकास भएकै थिएनन् । कुनै वालेट त नियमन नहुँदा बिना लाइसेन्स पनि सञ्चालन भएकै हो । उनीहरू इकोसिस्टम, बिलिङ लगायतका विषयमा काम गर्दै, नियामकलाई भन्दै अघि बढेका हुन्,” उनले भनिन् ।
त्यो परिस्थिति र नमस्ते पे सुरु गर्ने बेलामा आकास-जमिनको फरक रहेको उनको बुझाई छ । “कोभिड महामारीको जोखिम उच्च रहेका कारण सुरुवाति समयमा प्राविधिक चुनौती हामीलाई धेरै नै पर्यो । प्राविधिक टिमहरूले सँगै बसेर काम गर्नै सकेनन् । जतिबेला वालेट सुरु गर्यौँ, एकदमै न्यूनतम सेवाबाट मात्रै थाल्न सक्यौँ," बग्लाले टेकपानासँग भनिन् ।
नमस्ते पेले पहिलो तीन वर्षसम्म सेवा विस्तार गर्नमै समय खर्चियो । इकोसिस्टम निर्माणमा बढी केन्द्रित हुँदा नमस्ते पेले सोचेअनुसार बजार ओगट्न नसकेको देखिन्छ ।
"हामीले मोबाइल टपअप (रिचार्ज) बाट सेवा सुरु गर्यौँ । त्यसपछि आईओएस, एन्ड्रोइडका फरक भर्सन, एजेन्ट अनबोर्डिङ गर्यौँ । बैङ्कहरूसँग इन्टिग्रेट गर्नुले मात्रै हुँदैन । इन्टरनेट सेवा प्रदायकलाई छान्नुपर्यो भने सयमाथि छन्, उनीहरूलाई नमस्ते पेमा ल्याउन त वर्षौँ लाग्छ । अहिले नमस्ते पेबाट न्यूनतम सेवा दिइरहेका छौँ । नमस्ते पे मात्रै होइन समग्र मोबाइल वालेट उद्योगलाई हेर्नुहुन्छ भने वित्तीय अवस्था राम्रो बनाउन सात वर्ष त कम्तीमा लाग्छ," बग्लाले भनिन् ।
"पाँच वर्ष भयो, हामीले नमस्ते पे सञ्चालनमा ल्याएको । चुक्ता पुँजी ठुलै छ । मार्केटिङ, प्रमोसनमा अत्यधिक खर्च गर्न सक्ने क्षमता भएपनि त्यसले कुनै तुक आजको दिनमा राख्दैन । त्यसैले हाम्रो पहिलो प्राथमिकता भनेको ग्राहकका लागि थप सेवा सेटअप गर्दै लैजानु हो ।"
आधारभूत सेवा आफ्नो प्लेटफर्ममा समावेश गरेपछि वालेटले अबको ३ देखि ६ महिनापछि ग्राहक सङ्ख्या विस्तारमा ध्यान दिने बताएको छ । यसले नमस्ते पेलाई 'ग्रोथ फेज'मा लैजाने अपेक्षा व्यवस्थापनको छ ।
पीएसओ र बैङ्क तथा वित्तीय संस्थाले बजार खोसे
देशमा हाल भुक्तानी सेवा प्रदायक (पीएसपी) वा मोबाइल वालेट २१ वटा र भुक्तानी सेवा सञ्चालक (पीएसओ) आठ वटा छन् । नमस्ते पे, आईएमई खल्ती, इसेवा, हाम्रो पे, सीजी पेलगायत मोबाइल वालेट हुन् । जो पीएसपी अन्तर्गत पर्छन् ।
पीएसओ भनेका चाहिँ नेपाल क्लियरिङ हाउस (एनसीएचएल), फोन पेल गायत छन् । मोबाइल वालेटहरूले आफूले दिइरहेकै जस्तो सेवा पीएसओका साथै बैङ्क तथा वित्तीय संस्थाहरूले दिँदा समस्या परेको बताउँदै आएका छन् । पीएसओ र बैङ्क तथा वित्तीय संस्थाहरूले मोबाइल वालेटबाट दिनुपर्ने सेवालाई समेत आफ्नो एपमार्फत प्रडक्टको रूपमा बेचेपछि वालेटहरूको आर्थिक स्थितिमा धक्का पुगिरहेको नमस्ते पेको विश्लेषण छ ।
नमस्ते पेले पनि आफूहरूले गर्नुपर्ने काम पीएसओ र बैङ्क तथा वित्तीय संस्थाहरूले गरिदिँदा वालेटहरूको बिजिनेस खोसिन पुगेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्जीवकुमार देओ उपभोक्ताको सुरुआति पहुँचमा पीएसओ र बैङ्क तथा वित्तीय संस्था हुनै नहुने मान्यता विपरीत नेपालमा काम भएको बताउँछन् ।
"करेन्सी फ्रमेवर्कअनुसार पीएसपी, पीएसओ र बैङ्क तथा वित्तीय संस्था छुट्टिएका छन् । तर, माथिको बैङ्क तथा वित्तीय संस्थाले तलको वालेटसम्मको काम गर्दा वालेटको बजार खुम्चिन पुग्यो । पीएसओजस्तै कनेक्ट आईपीएस, फोनपेलगायतले पनि यही शैलीमा वालेटको बजार खोसिदिए । किनभने वालेटले दिइरहेको सेवा उनीहरूको प्लेटफर्ममा पनि सहजै उपलब्ध छन् ।”
“क्रस होल्डिङ समेत रहेकाले बैङ्क पीएसओसँग बस्दिने, पीएसओ पीएसपीसँग बस्दिने । जस्तै फोनपे र इसेवा । यो नीतिगत तहमा रहेको एउटा कमजोरी हो । जसका कारण पीएसपीहरूको वित्तीय प्रगति राम्रो हुन सकेको छैन," देओले भने ।
यसका साथै मोबाइल वालेटहरूलाई आन्तरिक रेमिट्यान्स र साना कारोबारहरूमा व्यापक प्रयोग गर्न सकिने विश्व अभ्यास रहेपनि नेपालमा भने त्यो अभ्यास देखिएको छैन । राष्ट्र बैङ्कले पनि यस विषयमा आत्मालोचना गरेपनि आफैँले लाइसेन्स दिएका बैङ्क तथा वित्तीय संस्थाहरूलाई त्यो नगर भन्नसक्ने अवस्था छैन ।
टेलिकम र राष्ट्रिय वाणिज्य बैँकले गरेनन् पर्याप्त सहयोग
लगानीकर्ता दुवै संस्था नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कले पर्याप्त सहयोग नगररिरहेका कारणले पनि नमस्ते पेको विकास सोचेअनुसार हुन नसकेको हो । दुवै सरकारी स्वामित्वमा खुलेका संस्थाले लगानी गर्ने बाहेक थप भ्यालु जगाउन नसकेको पाइन्छ ।
आजको दिनसम्म कम्पनीमा चुक्ता पुँजी हाल्ने बाहेक राष्ट्रिय वाणिज्य बैङ्कले एक रुपैयाँ पनि थप सहयोग गर्न नसकेको नमस्ते पेमा एक पूर्व प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।
“वाणिज्य बैङ्कले लगानी गर्ने बाहेक एक रुपैयाँको बिजिनेस नमस्ते पेलाई दिन सकेको छैन । उसले उल्टै प्रतिद्वन्द्वी इसेवाको माउ संस्था एफवन सफ्ट ग्रुपअन्तर्गतको कम्पनीले निर्माण गरेको मोबाइल बैङ्किङ एप चलाइरहेको छ । एफवन सफ्टले वाणिज्य बैङ्कको आरबीबी डिजिटल संसार नामक मोबाइल बैङ्किङ एप विकास गरेको हो । बरु वाणिज्य बैङ्कका ग्राहकहरूलाई हाम्रो लगानी रहेको नमस्ते पे प्रयोग गर्नुस्, त्यसबाटै सेवा पाउन सकिन्छ भनेर सहयोग गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । यसले वाणिज्य बैङ्कबाट थप बिजिनेस नमस्ते पेलाई आउन सक्थ्यो,” ती पूर्वसीईओले भने ।
उनले नमस्ते पे अरू वालेटभन्दा फरक हुन नसक्दा पनि त्यसको स्वीकार्यता नदेखिएको बताए । यसका साथै निजी क्षेत्रका वालेटहरूले आफ्नो कम्पनी नाफामा लैजान गरिरहेको हरसम्भव प्रयास जस्तै टेलिकम र वाणिज्य बैङ्कले पनि अनुसरण गर्नुपर्ने उनले सुझाए ।
“मान्छेसँग एक वा दुई वटा वालेट भएपछि किन नमस्ते पे हाल्छन् र ? कि त केही फरक हुनुपर्यो वा उपभोक्तालाई फाइदा पुग्ने स्किम हुनुपर्यो । तेस्रो वालेट उसलाई जरुरत नै नभएपछि प्रयोग गर्ने नै भएन,” ती पूर्वसीईओले भने, “निजी लगानी भएका वालेटहरू आफ्नो लगानी जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् । त्यसैको उदाहरण हो, खल्ती र आईएमई पेको मर्जर । इसेवाबाहेक अरू वालेट नाफामा गएको देखिँदैन । तर, सरकारी संस्थाहरूले आफूले जन्माएको नमस्ते पेलाई पालनपोषण गर्न समेत बिर्सिएको जस्तो देखिन्छ । कम्पनी खोलेर मात्रै हुँदैन, आफ्नो व्यापारिक लिगेसीले पनि सहयोग पुर्याउनुपर्छ ।”
अर्को तर्फ नेपाल टेलिकमले नमस्ते पे वालेटबाट सिम र रिचार्ज कार्ड बिक्रीको कमिसन भुक्तानी गर्न खोज्दा डिलरहरूले अवरोध खडा गरिरहेका छन् । नमस्ते पेले वालेटबाट कमिसन भुक्तानी गर्न ‘बल्क पेमेन्ट सिस्टम’ तयार गरिसकेको छ ।
टेलिकमको बागमती प्रदेशको प्रादेशिक निर्देशनालयले रिटेलर/पीओएसको भुक्तानी नमस्ते पे मार्फत दिन खोजे पनि टेलिकम उच्च व्यवस्थापनकै चाहनामा अवरोध खडा गरिएको टेलिकम स्रोत बताउँछ । जसका कारण टेलिकमको टप-अपका लागि नमस्ते पे सुपर एजेन्ट बन्नबाट चुकिरहेको छ ।
डिलरहरूको मातहत रहेका रिटेलर/पीओएसलाई प्यान नम्बर सहितको अद्यावधिक विवरण बुझाउन निर्देशनालयले पटक-पटक आग्रह गर्दै आएको छ । तर, डिलरहरूले त्यसलाई बेवास्ता गर्दै नमस्ते पे मार्फत रिटेलर/पीओएसलाई भुक्तानी गर्न अवरोध खडा गरेका हुन् । यसले पनि नमस्ते पेको बिजिनेसमा टेलिकमको असहयोग रहेको प्रस्ट पार्छ ।
“आफ्नै वालेटबाट सेवा दिउँ भनेर नमस्ते पेले प्रणाली विकास गरिसकेको छ । तर, डिलरको प्रभावमा परेर व्यवस्थापनले पर्याप्त सहयोग गरिरहेको छैन । बुझ्ने डिलरहरूले नमस्ते पेमा गएर सम्पर्क गरिरहेका छन् । केवाईसीको झन्झट पनि छ । टेलिकम प्रयोगकर्ताहरूले नमस्ते पे चलाउनुपरे स्वचालित रूपमा आफ्नो केवाईसी अपडेट हुनेगरी सहजीकरण गर्न सकिन्छ,” टेलिकम स्रोतले भन्यो । लगानी गरेका दुवै संस्थाले नमस्ते पेको व्यापार वृद्धिमा व्यावसायिक सहायता नगरेकाले नै माथि उठ्न नसकेको उनले बताए ।
“टेलिकमले नमस्ते पे ल्याउनुपर्छ भन्नेहरूलाई अहिले ‘हामीले त पहिल्यै भनेको हो नि वालेटको भविष्य छैन भनेर’ भन्दै गिज्याउने गरिएको छ । यस्तो संस्कार टेलिकममा छ । आखिर टेलिकमको पैसा पनि त नमस्ते पे स्थापनामा लागेको छ । यसलाई विभिन्न प्रयत्न गरेर उठाउनु पर्नेमा उल्टै असहयोग गर्ने गरिएको छ । यसरी त कहाँ चल्छ र,” टेलिकमका एक अधिकारीले भने ।
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १२:६
