शिक्षामन्त्रीको प्रगति विवरणमा रहेको सिकाइ चौतारी एप नाम मात्रको, उल्टै विद्यार्थी नै जोखिममा
बैशाख १७, २०८३ ९:३
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा हालै आफ्नो प्रगति विवरण सार्वजनिक गरेका थिए । उक्त विवरणमा गर्वका साथ समेटिएको एउटा बुँदा थियो- 'सिकाइ चौतारी' एपको सुरुवात ।
सरकारले यसलाई डिजिटल सिकाइ प्रवर्धन गर्ने एउटा क्रान्तिकारी र महत्त्वपूर्ण उपलब्धिको रूपमा प्रस्तुत गरेको छ । मन्त्रालयको दाबीअनुसार यो एप विद्यार्थीका लागि निकै उपयोगी प्लेटफर्म हो ।
तर, टेकपानाले गरेको विस्तृत अध्ययन र प्रयोगकर्ताहरूको अनुभवले भने अर्कै चित्र देखाएको छ । मन्त्रालयले 'उपलब्धि' भनेर प्रचार गरेको यो एप वास्तवमा सामग्रीको अभाव, प्रयोगमा जटिलता र सुरक्षाका दृष्टिकोणले अत्यन्तै कमजोर र जोखिमपूर्ण देखिएको हो ।
लगइन र दर्ता प्रक्रियामै महाभारत
कुनै पनि मोबाइल एपको सफलता त्यसको प्रयोगकर्ता अनुभव (UX) मा निर्भर हुन्छ । तर सिकाइ चौतारी एप डाउनलोड गरेर खोल्ने बित्तिकै प्रयोगकर्ताले पहिलो सास्ती खेप्नुपर्छ ।
एपमा लगइन गर्ने विकल्प त दिइएको छ, तर नयाँ प्रयोगकर्ताका लागि सिधै अकाउन्ट बनाउने (Sign Up) कुनै सुविधा छैन । जब विद्यार्थीले एपमा रहेको 'For students' भन्ने विकल्पमा क्लिक गर्छन्, एपले उनीहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको बाह्य वेबसाइट (learning.cehrd.gov.np) मा रिडाइरेक्ट गरिदिन्छ ।
एपभित्रै अकाउन्ट बनाउने सुविधा नहुनु र बाहिरको वेबसाइटमा जानुपर्ने बाध्यताले पहिलो गाँसमै ढुङ्गा लागेको महसुस गराउँछ । वेबसाइटमा पुगेपछि पनि नयाँ अकाउन्ट बनाउने विकल्प कता छ भनेर खोज्नै धौ-धौ पर्छ ।
यसको जटिलता परीक्षण गर्न टेकपानाले हालै कक्षा १२ को परीक्षा दिइरहेका र प्रविधिसँग अभ्यस्त विद्यार्थीहरूको समूहलाई छनोट गरेको थियो । अचम्मको कुरा के छ भने, दिनरात मोबाइल र इन्टरनेट चलाउने ती विद्यार्थीहरूले समेत यसमा अकाउन्ट बनाउन निकै सकस माने ।
अन्ततः टेकपाना आफैँले एपको पहुँचको लागि अकाउन्ट बनाइदिनु पर्ने अवस्था आयो । अकाउन्ट बनाउने प्रक्रिया पनि उत्तिकै लामो र पट्यारलाग्दो छ ।
वेबसाइटको दायाँतर्फको मेनुमा गएर 'Create New Account' मा थिचेपछि विद्यार्थीले आफ्नो ईमेल ठेगाना, नाम, र विद्यालयको विस्तृत विवरण (प्रदेश, जिल्ला, नगरपालिका) अनिवार्य भर्नुपर्छ ।
यति गरिसकेपछि ईमेलमा एउटा 'अकाउन्ट कन्फर्मेसन' लिङ्क जान्छ । ईमेल खोलेर भेरिफाई गरेपछि मात्र पुनः एपमा फर्किएर लगइन गर्न सकिन्छ ।
एउटा सामान्य सिकाइ एप चलाउन यति लामो फन्को मार्नुपर्ने बाध्यताले विद्यार्थीहरू सुरुमै निराश हुने गरेका छन् । साथै यो एप हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ, जसका कारण आईओएस प्रयोगकर्ता विद्यार्थीहरू यो 'डिजिटल उपलब्धि' बाट पूर्णतः वञ्चित छन् ।
नेपाल सरकारको एप कि विदेशी भिडिओको डाइरेक्ट्री ?
सरकारले यो एप कमजोर नेटवर्कमा पनि चल्ने दाबी गरेको छ । तर यथार्थमा एप लोडिङ हुन निकै समय लाग्छ । विशेषगरी सबै डेटा क्लियर गरेर एप खोल्दा पनि यसको गति अन्य सामान्य एपको तुलनामा निकै सुस्त पाइएको छ ।
एपभित्र 'Site home' र 'Dashboard' गरी दुई मुख्य भाग छन् । 'Site home' मा शिक्षकहरूका लागि अभिमुखीकरण सामग्री राखिएको छ । जहाँ प्रवेश गर्न 'इनरोलमेन्ट कि' (Enrollment Key) आवश्यक पर्छ ।
एपको 'आईसीटी मेटेरियल' (ICT Material) सेक्सन त झन् नाम मात्रको छ । 'जनरल' सेक्सन पूर्ण रूपमा खाली छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्तो आधुनिक विषयमा 'टिचेबल मसिन', 'स्क्र्याच प्रोग्रामिङ' र 'मसिन लर्निङ फर किड्स' जस्ता शीर्षक त राखिएका छन्, तर त्यहाँ नेपाल सरकारको आफ्नो कुनै मौलिक सामग्री छैन ।
'टिचेबल मसिन' भित्र गुगलको युट्युब च्यानलका भिडिओ इम्बेड गरिएका छन् । 'स्क्र्याच प्रोग्रामिङ' मा एमआईटीको अङ्ग्रेजी भिडिओको लिङ्क छ भने 'मसिन लर्निङ फर किड्स' मा 'डेल लेन' नामक विदेशी क्रियटरको भिडिओ राखिएको छ । कम्प्युटर नेटवर्किङमा पनि विदेशीकै अङ्ग्रेजी भिडिओ मात्र छन् ।
यति मात्र होइन, 'एआई टुल फर स्टुडेन्ट्स' सेक्सनमा फोटोम्याथ, जिओजेब्रा, सिम्बोल्याब र माइक्रोसफ्ट म्याथ सल्भर जस्ता बाह्य टुलका लिङ्कहरू मात्र थुपारिएको छ । 'टपिक फोर' भन्ने सेक्सन त पुरै रित्तो छ । यसले गर्दा यो एप विद्यार्थीलाई केही सिकाउने भन्दा पनि विदेशी प्लेटफर्म र विदेशी क्रियटरहरूको 'डाइरेक्ट्री' जस्तो मात्र बनेको छ ।
सरकारले आफ्नै लगानी र स्रोतमा सामग्री तयार पार्नुको सट्टा युट्युबमा सित्तैमा उपलब्ध सामग्रीको लिङ्क राखेर उपलब्धि दाबी गर्नु आफैँमा हास्यास्पद छ ।
पाठ्यपुस्तक र सन्दर्भ सामग्री: गुगल सर्चभन्दा पनि कमजोर
प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्मका लागि भनिएका शिक्षण सामग्रीहरूमा पनि धेरै त्रुटि छन् । अडियो-भिडिओका नाममा 'NCED Virtual' युट्युब च्यानलका सामग्री मात्र राखिएका छन् ।
सबैभन्दा उदेकलाग्दो पक्ष त पाठ्यपुस्तकको उपलब्धता हो । एपभित्र पाठ्यपुस्तक सिधै पढ्न मिल्दैन; ती पीडीएफ फाइलका रूपमा डाउनलोड गर्नुपर्ने हुन्छ ।
डाउनलोड भएपछि ती फाइल एप बाहिर डिभाइसमा मात्र खुल्छन् । पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा पहिलेदेखि नै सहजै उपलब्ध हुने यी पीडीएफहरू डाउनलोड गर्नकै लागि विद्यार्थीले किन यो झन्झटिलो एप प्रयोग गर्ने ? यसको उत्तर मन्त्रालयसँग छैन ।
सामग्रीको उपलब्धता पनि निकै सीमित छ । उदाहरणका लागि कक्षा १ को गणित विषयमा पहिलो पाठको भिडिओ त छ, तर दोस्रो पाठ खोज्ने कुनै विकल्प भेटिँदैन । कक्षा १० सम्मका धेरै विषयको अवस्था यस्तै छ- एउटा मात्र पाठमा केन्द्रित युट्युब भिडिओ राखिएको छ ।
कक्षा ११ र १२ को हकमा त झन् अनिवार्य विषयहरू (अङ्ग्रेजी, नेपाली र सामाजिक) बाहेक अन्य कुनै सामग्री नै छैन । शिक्षकका लागि राखिएका सामग्रीहरू पनि केवल पीडीएफ फर्म्याटमा छन्, जसलाई बुझाउन कुनै भिडिओ वा अन्तरक्रियात्मक सामग्री छैनन् । यी सबै फाइलहरू सामान्य गुगल सर्च गर्दा सहजै फेला पर्छन् ।
सुरक्षामा गम्भीर लापर्बाही, विद्यार्थीको गोपनीयतामाथि खेलबाड
यो एपको सबैभन्दा खतरनाक र गम्भीर पक्ष भनेको यसले निम्त्याएको सुरक्षा जोखिम हो । ड्याशबोर्डमा विद्यार्थीले पहिले हेरेका सामग्रीहरूको सूची रहन्छ, जसलाई हटाउने (Clear) कुनै विकल्प छैन ।
तर, यसभन्दा डरलाग्दो कुरा 'सहभागी विवरण' को खुला पहुँच हो । एपमा कुनै पनि कोर्समा सहभागी भएका विद्यार्थी वा शिक्षकको 'Details' मा गएर जोसुकैले उनीहरूको ईमेल एड्रेस, जिल्ला, स्थानीय तह र विद्यालयको नाम सहजै हेर्न सक्छन् ।
यति मात्र होइन, ती व्यक्तिहरूलाई एपभित्रैबाट वा ईमेलमार्फत सिधै मेसेज पठाउन मिल्ने सुविधा पनि छ । विद्यालय जाने साना बालबालिकाहरूको यति संवेदनशील व्यक्तिगत विवरण सार्वजनिक रूपमा उपलब्ध हुनुले उनीहरूको गोपनीयताको हनन् मात्र गरेको छैन, बरु साइबर बुलिङ, स्टकिङ र डेटा दुरुपयोगको गम्भीर खतरा निम्त्याएको छ ।
विद्यार्थीको सुरक्षा र डेटा संरक्षणको सामान्य सिद्धान्तलाई समेत यो एपले लत्याएको देखिन्छ ।
प्राविधिक त्रुटि र सान्दर्भिकताको अभाव
एपको मेनुबारमा राखिएको क्यालेन्डर ईस्वी संवत् (AD) मा मात्र छ, जब कि नेपालको आधिकारिक संवत् विक्रम संवत् (BS) को त्यहाँ कुनै नामोनिसान छैन । 'Site blog' सेक्सनमा विभिन्न अनलाइन न्युज पोर्टलका सामग्रीहरू छन् ।
तर ती विद्यार्थीका लागि कति सान्दर्भिक छन् वा शिक्षासँग सम्बन्धित छन् भन्ने कुनै फिल्टर छैन । 'ट्याग' सेक्सनमा दर्जनौँ शब्दहरू राखिए पनि त्यसमा क्लिक गर्दा 'नो रिजल्ट' मात्र देखिन्छ । एपको 'ग्लोबल सर्च' बाट जो-कोही शिक्षक वा विद्यार्थीको जानकारी सजिलै पत्ता लगाउन सकिन्छ, जसले सुरक्षा जोखिमलाई झन् बढाएको छ ।
विद्यार्थीको नजरमा मोबाइलको स्टोरेज मात्र खाने एप
यो एप प्रयोग गरेपछि विद्यार्थीहरूले निकै निराशा व्यक्त गरेका छन् । कक्षा १२ का एक विद्यार्थीले आफ्नो बोर्ड परीक्षाको बेला सहयोगी सामग्री पाउने आशामा यो एप डाउनलोड गरेकी थिइन् ।
तर, अकाउन्ट बनाउनै समस्या भोगेपछि बल्लतल्ल एप भित्र छिर्दा त्यहाँ केवल नेपाली, अङ्ग्रेजी र सामाजिकको किताबको पीडीएफ मात्र देखिन् ।
उनले भनिन्, "मसँग भएकै किताबको पीडीएफ हेर्न मलाई यो एप किन चाहियो ? मलाई गाह्रो लागेको अकाउन्ट विषयको कुनै सामग्री नै छैन । बेकारमा मोबाइलको स्टोरेज मात्र ओगटेकाले मैले त डिलिट गरिदिएँ ।"
त्यस्तै कक्षा ११ का अर्का एक विद्यार्थीले युट्युबको लिङ्क एपमा खोज्नुभन्दा सिधै युट्युबमा सर्च गरेर पढ्नु धेरै प्रभावकारी हुने बताए । यो एप पूर्ण रूपमा इन्टरनेट (अनलाइन) मा मात्र चल्ने भएकाले इन्टरनेटको पहुँच नभएका दूरदराजका विद्यार्थीका लागि यो पूर्ण रूपमा अनुपयोगी सरह भएको छ ।
सरकारी दाबी
यति धेरै कमजोरीका बाबजुद शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने यसलाई ठुलो सफलता मानिरहेको छ । केन्द्रको श्रव्यदृश्य शाखाका निर्देशक वासुदेव वस्तीका अनुसार सन् २०२१ देखि वेब पोर्टलका रूपमा रहेको सेवालाई नै गत वैशाख २ गतेदेखि मोबाइल एपमा रूपान्तरण गरिएको हो ।
केन्द्रले एप प्रयोगको विषयलाई लिएर १४ वैशाखमा ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सम्बोधन गर्दै पत्राचार नै गरेको छ । जसमा देशभरका सबै विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीलाई सिकाइ चौतारी एप डाउनलोड गरी प्रयोग गर्ने कार्यमा समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ ।
हालसम्म ६४ हजारभन्दा बढीले यो एप डाउनलोड गरेको र २४ हजारले अकाउन्ट बनाएको वस्तीको दाबी छ । तर गुगल प्ले स्टोरको तथ्याङ्कले अर्कै कुरा भन्छ । प्ले स्टोरमा यो एप ५ हजारभन्दा बढी पटक मात्र डाउनलोड भएको देखिन्छ (जुन ५ देखि १० हजारको बिचको सङ्ख्या हो) ।
एपका कोर्सहरूमा रहेको एक्सेस सङ्ख्या हेर्दा पनि वास्तविक प्रयोगकर्ता १० हजारभन्दा बढी छैनन् । निर्देशक वस्ती आफैँले पनि यो एपमा अहिले पुराना सामग्री बाहेक कुनै नयाँ विशेष सुविधा नरहेको स्वीकार गरेका छन् ।
तीन महिना लगाएर तयार पारिएको भनिएको यो एप केवल पुरानो वेबसाइटको 'वेब भ्यु' भर्सन मात्र हो भन्ने कुरामा कुनै शङ्का छैन । वस्तीले भविष्यमा यसलाई अन्तरक्रियात्मक र 'ग्लोबल लर्निङ प्लेटफर्म' बनाउने आश्वासन चर्चा गरे । तर वर्तमान अवस्था भने दयनीय छ ।
मन्त्रालयले २०७७ सालमै सुरु भएको पुरानो वेबसाइटलाई नयाँ कलेवरमा 'एप' को रूपमा प्रस्तुत गरेर मन्त्रीको प्रगति विवरणमा सङ्ख्या थप्ने काम मात्र गरेको देखिन्छ ।
शिक्षा मन्त्रालयको यो 'उपलब्धि' वास्तवमा विद्यार्थीका लागि उपलब्धि भन्दा बढी सास्ती र जोखिम साबित भएको छ । जटिल दर्ता प्रक्रिया, मौलिक सामग्रीको अभाव, पीडीएफ डाउनलोडको बाध्यता र विद्यार्थीको व्यक्तिगत डेटाको असुरक्षाले गर्दा यो एपले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन ।
विद्यार्थीको अकाउन्टबाट शिक्षकका सामग्री देखिनु र जो-कोहीले विद्यार्थीलाई मेसेज गर्न पाउनु जस्ता त्रुटिहरू तत्काल सच्याउनु आवश्यक छ । मन्त्रालयले सङ्ख्यात्मक विवरणमा मात्र रमाउनुको सट्टा प्रविधिको सही र सुरक्षित प्रयोगमा ध्यान दिनु पर्ने देखिन्छ । अन्यथा यस्ता एपहरू केवल सरकारी बजेट खर्च गर्ने र मोबाइलको स्टोरेज ओगट्ने माध्यम मात्र बन्नेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८३ ९:३
