close

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क ‘आईओटी’ तालिम हुँदै

टेकपाना टेकपाना

जेठ ९, २०८३ ९:२०

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क ‘आईओटी’ तालिम हुँदै

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै अनामगरस्थित लिबर्टी कलेजले प्रविधिमा आधारित निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । कलेजले ‘फ्रम सेन्सर्स टु सोलुसन: बिल्ड द कनेक्टेड वर्ल्ड’ शीर्षकमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।

तालिममा विशेषगरी इन्टरनेट अफ थिङ्स (आईओटी) सम्बन्धी आधारभूतदेखि व्यावहारिक ज्ञानसम्म प्रदान गरिने भएको छ । सहभागी विद्यार्थीहरूले आईओटी प्रविधिमार्फत विभिन्न उपकरणहरूलाई इन्टरनेटसँग जोडेर स्मार्ट प्रणाली निर्माण गर्ने तरिका, सेन्सरको प्रयोग, डेटा सञ्चार तथा वास्तविक जीवनमा यसको प्रयोगका विषयमा प्रत्यक्ष प्रशिक्षण पाउने कलेजले जनाएको छ ।

कलेजका बीसीएसआईटी कोअर्डिनेटर ई. नवीन आचार्यले भने, “अहिलेको डिजिटल युगमा प्रविधिसम्बन्धी व्यावहारिक सीप अत्यन्त आवश्यक छ । विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै करिअर तयारी र सिर्जनशील सोच विकासमा महत्त्वपूर्ण भूमिका खेल्न र समयानुकूल दक्ष बनाउन हामी प्रतिबद्ध छौँ ।”

यो निःशुल्क तालिम आगामी २२ जेठदेखि सुरु हुने कलेजले जानकारी दिएको छ । सिट सङ्ख्या सीमित भएकाले इच्छुक विद्यार्थीहरूलाई समयमै यो लिङ्कमार्फत अनलाइन आवेदन दिन कलेज प्रशासनले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ ९:३७