लागु औषध विरुद्ध मोरङ प्रहरीले टिकटक प्रतियोगिता आयोजना गर्दै, उत्कृष्ट भिडियोलाई ५० हजार नगद
जेठ ११, २०८३ १३:५६
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध विरुद्ध जनचेतना फैलाउने उद्देश्य सहित टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रहरीले आइतबार (१० जेठ) देखि सञ्चालन गरिरहेको लागु औषध विरुद्धको महाअभियान (मेगा क्यान २०८३) अन्तर्गत उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यस प्रतियोगितामा सहभागी हुन चाहनेले ‘लागु औषध विरुद्ध सबै एकजुट बनौँ’ भन्ने आशयको ६० सेकेन्डसम्मको टिकटक भिडिओ बनाएर सामाजिक सञ्जालमा अप्लोड गर्नुपर्नेछ । यस्तो भिडिओ सकारात्मक भाव र सन्देशमूलक जानकारी सहितको हुनुपर्ने बताइएको छ ।
यसरी बनाइएको भिडियोलाई सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिङ्क ३१ जेठ भित्रमा आधिकारिक इमेल [email protected] वा ह्वाट्सएप नम्बर ९८५२०३७९०२ मा पठाउनुपर्नेछ । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने प्रहरीले जनाएको छ । दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई ३० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक टिकटक युजर आईडीबाट एउटा मात्रै भिडियो पेश गर्न पाइने प्रहरीले जनाएको छ । कपीराइट उल्लङ्घन भएका, एडिट गरिएका वा एआईको प्रयोग गरेर बनाइएका भिडियोले प्रतियोगितामा मान्यता नपाउने प्रहरीले जानकारी गराएकाे छ । त्यस्तै, नकारात्मक सन्देश दिने वा कानुन विपरीतका सामग्री समावेश भएका भिडियोहरू प्रतियोगितामा छनोट हुने छैनन् ।
प्रतियोगितामा सहभागी भएका भिडियोहरूमध्ये उत्कृष्ट भिडियो छनोट गर्न प्रहरीले विशेष समिति बनाउने जनाएको छ । उक्त समितिले गरेको निर्णय अन्तिम मानिने जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ १४:२४
