तपाईँलाई कस्तो लाग्यो जिमेल, ड्राइभ, क्यालेन्डरसहितका गुगल वर्कस्पेस एपहरूको नयाँ लोगो डिजाइन ?
जेठ १३, २०८३ १४:३
काठमाडौँ । गुगलले आफ्ना लोकप्रिय गुगल वर्कस्पेस एपहरूको आइकनमा व्यापक हेरफेर गर्दै नयाँ र आधुनिक भिजुअल पहिचान सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो नयाँ डिजाइनले प्रत्येक एपलाई एक विशिष्ट पहिचान दिनुका साथै जेमनाई युग (Gemini Era) का लागि उपयुक्त र साहसी स्वरूप प्रदान गरेको छ ।
यो नयाँ स्वरूपले गुगलका उत्पादनहरूमा एकरूपता ल्याउने लक्ष्य राखेको छ । नयाँ डिजाइनका क्रममा डक्स, शिट्स, स्लाइड्स, किप, फर्म्स, साइट्स र भिड्स जस्ता एपहरूमा पहिले प्रयोग हुँदै आएको कागजको टुक्रा जस्तो ब्याकग्राउन्ड हटाइएको छ ।
क्यालेन्डर, मिट र च्याट एपहरू अब पहिले जस्तो धेरै वर्गाकार देखिने छैनन् । पहिले गुगलका लोगोहरूमा चार वटै मुख्य रङ्गहरू अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने नियम थियो । जुन अब हटाइएको छ । अब जिमेल मात्र त्यस्तो एप हो, जसमा चारवटै रङ्गहरूको प्रयोग कायम राखिएको छ ।
गुगलले यो नयाँ स्वरूपलाई हेल्पफुलनेसको नयाँ युगसँग जोडेको छ । हाल सबै वर्कस्पेस एपहरूमा जेमनाईद्वारा सञ्चालित एआई फिचरहरू उपलब्ध गराइएका छन् । उदाहरणका लागि गुगल आई/ओ २०२६ का क्रममा जिमेल लाइभ, डक्स लाइभ र गुगल किपका लागि नयाँ भ्वाइस फिचरहरू सार्वजनिक गरिएका थिए ।
यी नयाँ बोल्ड लोगोहरूले तिनै आधुनिक क्षमताहरूलाई प्रतिनिधित्व गर्ने गुगलको विश्वास छ । यससँगै अब प्रयोगकर्ताहरूले निम्न एपहरूमा नयाँ आइकनहरू देख्नेछन् ।
-
जिमेल (Gmail)
-
क्यालेन्डर (Calendar)
-
च्याट (Chat)
-
मिट (Meet)
-
ड्राइभ (Drive)
-
डक्स (Docs)
-
शिट्स (Sheets)
-
स्लाइड्स (Slides)
-
भिड्स (Vids)
-
किप (Keep)
-
फर्म्स (Forms)
-
भोइस (Voice)
-
साइट्स (Sites)
-
टास्क (Tasks)
१९ मे, २०२६ देखि र्यापिड रिलिज र शेड्युल्ड रिलिज डोमेनहरूमा यो परिवर्तन रोलआउट हुन सुरु भइसकेको छ । यो अपडेट पूर्ण रूपमा लागु हुन १५ दिनभन्दा बढी समय लाग्न सक्ने बताइएको छ ।
यो अपडेट स्वचालित रूपमा लागु हुनेछ । यसका लागि एड्मिन वा प्रयोगकर्ताले कुनै पनि नियन्त्रण वा सेटिङ मिलाउनु पर्दैन ।
नयाँ लोगो डिजाइनका कारण एपको मुख्य कार्यक्षमता वा एड्मिनिस्ट्रेटिभ कन्ट्रोलमा कुनै पनि परिवर्तन हुने छैन । यदि कुनै संस्थाले आफ्नो आन्तरिक कागजातहरूमा गुगलका आइकनहरू प्रयोग गरेको छ भने, उनीहरूले नयाँ डिजाइनका लागि गुगलको हेल्प सेन्टरबाट सहायता लिन सक्नेछन् ।
गुगलले आफ्नो आधिकारिक ब्लगमा 'पुरानोलाई बिदा, साहसीलाई स्वागत' (Out with the old, in with the bold) भन्दै यी परिवर्तनहरू सार्वजनिक गरेको हो । यसले प्रयोगकर्ताहरूको स्क्रिनमा एपहरूलाई थप आधुनिक र सजिलै चिन्न सकिने बनाउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १४:२१
