close

नेपाली स्टार्टअप ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट ६० विश्वव्यापी नवप्रवर्तनमा छनोट

टेकपाना टेकपाना

जेठ १४, २०८३ २२:५९

नेपाली स्टार्टअप ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट ६० विश्वव्यापी नवप्रवर्तनमा छनोट

काठमाडौँ । संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यहरू (एसडीजी) प्राप्तिका लागि विश्वभरका उत्कृष्ट प्रविधि र समाधानहरू समेटेर प्रकाशन गर्ने पुस्तक ‘एसटीआई सोलुसन्स बुक २०२६’ नेपाली जलवायु-प्रविधि स्टार्टअप ‘वायुदृष्टि’ समावेश भएको छ ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले आयोजना गर्ने ‘११औँ विज्ञान, प्रविधि र नवप्रवर्तन बहु-सरोकारवाला मञ्च’ सँग सम्बन्धित रहेर यो पुस्तक तयार गरिएको हो ।

सन् २०२६ को ‘कल फर इनोभेसन्स’ मा सहभागी हुन विश्वका विभिन्न देशहरूबाट ९०० भन्दा बढी उत्कृष्ट आवेदनहरू परेका थिए । तीमध्ये कडा छानबिन, प्राविधिक मूल्यांकन र प्रभावकारिताको आधारमा वायुदृष्टिलाई व्यवहारिक, विस्तार गर्न मिल्ने (स्केलेबल) र उच्च प्रभावकारी समाधानको रूपमा उत्कृष्ट ६० भित्र छनोट गरिएको हो ।

के हो वायुदृष्टि र यसले कसरी काम गर्छ ?

बोट्स इन्डस्ट्रिज प्रालि अन्तर्गत विकास गरिएको ‘वायुदृष्टि’ एउटा हार्डवेयर र सफ्टवेयर एकीकृत प्रणाली हो । यसले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्लेटफर्ममार्फत वायु प्रदूषणलाई देखिने र बुझिने बनाउने काम गर्छ ।

यो प्रणालीले जमिनमा जडान गरिएका कम लागतका सेन्सर नेटवर्कहरू, स्याटलाइट डेटा र एआई विश्लेषणमार्फत वास्तविक समयमा वायुको गुणस्तरसम्बन्धी जानकारी र प्रदूषणको पूर्वानुमान प्रदान गर्छ ।

यसले वायु प्रदूषण मापनसँगै त्यसको प्रभावबारे समुदाय, उद्योग, विद्यालय र सरकारलाई समयमै सचेत गराउँदै आवश्यक कदम चाल्न कार्यमूलक मार्गदर्शनसमेत प्रदान गर्छ ।

नेपालमा बनेको प्रविधिले पनि विश्वका जटिल चुनौतीहरू समाधान गर्न सक्छ भन्ने प्रमाणित गरेको वायुदृष्टिको विज्ञप्तिमा उल्लेख छ । विशेषगरी वायु प्रदूषण, जलवायु परिवर्तन र सार्वजनिक स्वास्थ्यका जोखिमहरू तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा आफ्नो भूमिका महत्त्वपूर्ण देखिएको कम्पनीको भनाइ छ ।

‘एसटीआई सोलुसन्स बुक’ ले सन् २०३० सम्मको दिगो विकास एजेन्डामा प्रगति बढाउन सहयोग गर्ने नयाँ उपायहरूलाई प्रोत्साहन गर्नेछ । सन् २०२६ को यो संस्करणले मुख्यगरी सफा पानी, सुलभ ऊर्जा, उद्योग, पूर्वाधार, दिगो शहर र साझेदारी जस्ता लक्ष्यहरूलाई केन्द्रमा राखेको छ ।

वायुदृष्टिले भनेको छ, “यो मान्यता हाम्रा लागि मात्र नभई सम्पूर्ण नेपालका लागि गर्वको क्षण हो । वायुदृष्टि एउटा सरल उद्देश्यबाट सुरु भएको थियो– अदृश्य वायु प्रदूषणलाई प्रविधिको आँखाले देखिने बनाउने र समुदायलाई सही जानकारी दिएर सुरक्षित राख्ने । संयुक्त राष्ट्रसंघको यो छनोटले हामीलाई नेपालबाट विश्वस्तरको प्रविधि निर्माण गर्ने यात्रामा अझ ठुलो ऊर्जा र प्रेरणा दिएको छ ।”

नवप्रवर्तन, अनुसन्धान र दृढ इच्छाशक्ति भएमा नेपाली आइडिया पनि विश्व मञ्चमा आत्मविश्वासका साथ उभिन सक्छ भन्ने बलियो उदाहरण पेश गरेको कम्पनीको भनाइ छ यस मान्यतासँगै वायुदृष्टिले नेपाल र अन्तर्राष्ट्रिय स्तरमा वातावरणीय डेटा विस्तार गर्ने, सफा हावा सुनिश्चित गर्ने र स्वस्थ एवं दिगो भविष्य निर्माणमा आफ्नो अभियानलाई अझ तीव्र बनाउने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुहोस्: नेपाली युवाले बनाए हातमै अट्ने वायु प्रदूषण मापन उपकरण, ४१ लाखको काम ३५ हजारमै

पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ २३:१७