काठमाडौं । घरायसी काम आफैँ गर्ने रोबोट बनाउने होडबाजीमा एउटा अमेरिकी कम्पनीले ठुलो सफलता पाएको दाबी गरेको छ । अमेरिकाको बे एरियामा रहेको ‘सन्डे रोबोटिक्स’ नामको स्टार्टअपले मानिसको घरमा सजिलै काम गर्न सक्ने र कहिल्यै नदेखेका कपडा पनि पट्याउन सक्ने प्रविधि बनाएको छ ।
यस कम्पनीले ‘एसीटी-२’ नामक नयाँ एआई प्रणाली सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस एआईले उक्त पाङ्ग्रायुक्त रोबोटलाई नियन्त्रण गर्छ ।
परीक्षणका क्रममा यो रोबोटले बिल्कुलै नयाँ र अपरिचित घरमा पनि ९९ प्रतिशतभन्दा बढी पटक सफलतापूर्वक लुगा पट्याएर देखाएको कम्पनीको दाबी छ ।
यो नयाँ प्रविधिका कारण अब घरभित्र काम गर्ने रोबोट मानिसको पहुँचमा आउने समय निकै नजिकिएको कम्पनीका सीईओ तथा सह-संस्थापक टोनी झाओले बताएका छन् ।
Introducing ACT-2 Preview, the world’s first robotics model that works in your home.
— Sunday (@sundayrobotics) July 16, 2026
99% success rate, fully autonomous in unseen homes. Zero data from you. pic.twitter.com/0DJKoZZo5u
उनले ‘बिजनेस इन्साइडर’ सँग कुरा गर्दै सन् २०२६ सम्ममा यस्ता रोबोट मानिसका घरघरमा देखिन थाल्ने दाबी गरे । विगत लामो समयदेखि रोबोट बनाउने कम्पनीले रोबोटलाई नयाँ ठाउँ र नयाँ वस्तुसँग घुलमिल गराउन ठुलो संघर्ष गरिरहेका थिए ।
पहिलेका रोबोटले निश्चित ठाउँमा काम सिकेपछि नयाँ कोठामा जाँदा वा नयाँ वस्तु भेट्दा काम बिगार्ने गर्थे । जस्तै, जिन्स कपडा पट्याउन सिकेको रोबोटलाई स्कार्फ दिँदा त्यसले काम गर्न सक्दैनथ्यो । तर नयाँ मेमो रोबोटले एउटा ठाउँमा सिकेको सीप अर्को नयाँ ठाउँमा पनि सजिलै प्रयोग गर्न सक्छ । यस्तो हुँदा यसलाई हरेक नयाँ घरका लागि फेरि तालिम दिइरहनुपर्ने झन्झट हुँदैन ।
सन् २०२४ मा स्थापना भएको यस कम्पनीले यसै वर्षको सुरुमा १.१५ अर्ब डलर मूल्य बराबरको मूल्याङ्कनमा १६ करोड ५० लाख डलर लगानी जुटाएको थियो । कम्पनीले रोबोटिक्सको क्षेत्रमा कुन रोबोट कति सक्षम छ भनेर जाँच्नका लागि ‘सल्भ’ नामक नयाँ नियम वा मानकको प्रस्ताव पनि गरेको छ । यसको उद्देश्य केवल भिडिओ वा प्रदर्शनमा देखाइने चमकदमकभन्दा रोबोटको वास्तविक क्षमतालाई बुझ्नु रहेको कम्पनीले जनाएको छ ।
अधिकांश रोबोटका भिडिओमा रोबोटले कति पटकको प्रयासमा काम सफल गर्यो वा कस्तो वातावरणमा काम गर्यो भन्ने कुरा लुकाइएको हुन्छ । झाओका अनुसार हरेक कम्पनीले आफ्नो रोबोटले के काम गर्न सक्छ, कहाँ परीक्षण गरिएको हो र काम गर्नका लागि मानिसको कति सहयोग चाहिन्छ भन्ने कुरा स्पष्ट रूपमा खुलाउनुपर्नेछ । कम्पनीले मेमो रोबोटको लुगा पट्याउने यो क्षमतालाई पहिलो ‘सल्भ’ क्षमता मानेको छ ।
यो रोबोटलाई यति भरपर्दो बनाउन कम्पनीले दुई चरणमा काम सिकाउने गर्छ । पहिलो चरणमा, मानिसले विशेष खालको सेन्सर जडान भएको पञ्जा लगाएर दैनिक काम गर्छन् र रोबोटले त्यसैबाट आधारभूत शारीरिक सीप सिक्छ । कम्पनी आफैँले तयार पारेको यो पञ्जा बनाउन करिब २०० डलर खर्च लाग्छ । यो पञ्जाको आकार र सेन्सर मेमो रोबोटको हातसँग मिल्दोजुल्दो छ । यसले गर्दा मानिसले कसरी हात चलाउँछन् भन्ने कुरा रोबोटले सजिलै सिक्न सक्छ ।
दोस्रो चरणमा कम्पनीका अन्य रोबोटले यो प्रणालीलाई आफ्ना गल्तीबाट सिक्न मद्दत गर्छन् । यसले गर्दा रोबोटले केही मिनेटभित्रै नयाँ सीप सिक्ने र आफ्नो कामलाई सुधार्ने गर्छ । झाओका अनुसार कम्पनीको कार्यालयमा मेमोले गरेको प्रदर्शन र वास्तविक बाहिरी वातावरणमा यसको प्रदर्शन लगभग उस्तै पाइएको छ । कम्पनीले विगत केही महिनादेखि आफ्ना कर्मचारीका घर र भाडाका कोठामा लगेर यस रोबोटको सफल परीक्षण गरिसकेको जनाएको छ ।
यो प्रविधि विकास गर्ने टिमले आफ्नो यात्रा सिलिकन भ्यालीको एउटा सानो कोठाबाट सुरु गरेका थिए । टोनी झाओले स्ट्यानफोर्ड विश्वविद्यालयको कम्प्युटर विज्ञान विधाको पीएचडी कार्यक्रम छोडेर आफ्ना साथी चेङ चीसँग मिलेर सन् २०२४ मा यो कम्पनी स्थापना गरेका हुन् । फ्याक्ट्रीको तुलनामा मानिसको घर अस्तव्यस्त र अनपेक्षित हुने भएकाले उनीहरूले घरमा काम गर्ने रोबोट रोजेका हुन् ।
यस्तो कठिन वातावरणमा काम गर्न सक्ने रोबोट बनाउनु नै मानिसजस्तै भौतिक काम गर्न सक्ने एआईतर्फ जाने सही बाटो भएको झाओको भनाइ छ ।
अहिले यस कम्पनीमा १०० भन्दा बढी कर्मचारी कार्यरत छन् । कम्पनीमा सुरुमै लगानी गर्ने संस्था ‘कन्भिक्सन’की सारा गुओले संस्थापकको क्षमता र उपभोक्ताका लागि उपयोगी उत्पादन बजारमा ल्याउने उनीहरूको प्रतिबद्धताका कारण आफूले लगानी गरेको बताएकी छिन् । विश्वका अन्य ठुला कम्पनी पनि घरघरमा रोबोट पुर्याउने तयारीमा भइरहेको बेला सन्डे रोबोटिक्सले यस्तो सफलाता हासिल गरेको छ । ‘वेभ रोबोटिक्स’ कम्पनीले अबको केही समयमै क्यालिफोर्नियामा सात हजार ९९९ डलर पर्ने लुगा पट्याउने रोबोट ‘आइज्याक १’ बिक्री सुरु गर्दैछ । त्यस्तै ‘वन एक्स’ कम्पनीले २० हजार डलर पर्ने ‘नियो’ र टेस्लाले आफ्नो ‘अप्टिमस’ रोबोट घरमा ल्याउने काम गरिरहेका छन्।
सन्डे रोबोटिक्सले पनि अबको केही महिनामा परीक्षण कार्यक्रम अन्तर्गत ‘मेमो’ रोबोटलाई केही घरमा पठाउने योजना बनाएको छ । यद्यपि घरको संख्या भने खुलाइएको छैन । यो रोबोटले घरमा आफैँ स्वायत्त रूपमा काम गर्नेछ । र, ग्राहकलाई समस्या परेको अवस्थामा मात्र रिमोट अपरेटर (मानिस) ले अनलाइनमार्फत मद्दत गर्नेछन् । अन्य कम्पनीको रणनितिभन्दा ठीकविपरीत सन्डेले ग्राहकको घरको डेटा संकलन गर्न यो प्रविधिको प्रयोग नगर्ने नीति लिएको छ ।
झाओले ग्राहकको गोपनीयता सुरक्षित राख्नु र उनीहरूको विश्वास जित्नु नै कम्पनीको मुख्य लक्ष्य भएको बताए । कम्पनीले यसअघि आफ्नो पुरानो प्रणाली ‘एक्ट-वन’ मार्फत खाना खाएको टेबल सफा गर्ने, भाँडा माझ्ने मसिनमा भाँडा राख्ने र कफी बनाउने काम सफलतापूर्वक प्रदर्शन गरिसकेको छ ।
कम्पनीले नयाँ प्रणालीमार्फत यी कामलाई अझ भरपर्दो बनाउन काम गरिरहेको छ । हाल मेमो रोबोटले भ्याकुम गर्ने, खेलौना ठाउँमा राख्ने, कपडाको चेन लगाउने र कफी बनाउने जस्ता थप काम सिक्दैछ । तर, यी काम अहिले नै पूर्ण रूपमा व्यावसायिक रूपमा सार्वजनिक गर्न योग्य र भरपर्दो भइनसकेको कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन २, २०८३ १४:२९
