२६ साउनदेखि राजधानीमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’, ४९ ब्राण्डका स्टल रहने
जेठ ३०, २०८३ ९:४
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का लागि स्टल बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ । यो एक्स्पो आगामी २६ साउनदेखि पाँच दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
प्रदर्शनीका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको नाइमाले जनाएको छ । जसमा चार पांग्रे सवारी साधनका लागि २६ वटा र दुई पांग्रे तथा व्यावसायिक सवारी साधनका लागि २३ वटा स्टलहरू प्रदान गरिएको आयोजकले जनाएको छ ।
स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमाका अध्यक्ष रितु सिंह वैद्यले यस एक्स्पोलाई केवल प्रदर्शनीमा मात्र सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता (मोबिलिटी) प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गरिने बताइन् । उनले निर्धारित समयसीमा सकिएपछि पनि थप कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध आइरहेको जानकारी दिँदै उपलब्ध स्थानका आधारमा नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकता दिइने उल्लेख गरिन् ।
एक्स्पोमा चार पांग्रेतर्फ हुन्डाई, बीवाईडी, टाटा, टोयोटा, किया, निसान, एमजीसहित २६ ब्रान्ड र दुई पांग्रेतर्फ बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, सुजुकी लगायतका १७ ब्रान्ड तथा अन्य व्यावसायिक सवारी साधन ब्रान्डहरूको सहभागिता रहनेछ ।
यस प्रदर्शनीमा नवीनतम सवारी साधन, मोबिलिटी समाधान, प्रविधि र नवप्रवर्तनका प्रवृत्तिहरू प्रदर्शन गरिनुका साथै नयाँ उत्पादन सार्वजनिक र ज्ञानमूलक सत्रहरू समेत सञ्चालन हुनेछन् ।
पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ ९:४
