‘प्रोटोन ई.मास ७’ पछि अब नेपाली बजारमा ‘ई.मास ५’ भित्र्याउँदै जगदम्बा मोटर्स
जेठ २१, २०८३ १९:४०
काठमाडौं । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ मोडेल विस्तार गर्ने घोषणा गरेको छ । ‘प्रोटोन ई.मास सेभेन’ लाई नेपाली ग्राहकले रुचाएको भन्दै कम्पनीले अब ‘ई.मास ५’ भित्र्याउन लागेको जानकारी दिएको छ ।
हाल नेपाली बजारमा १६० किलोवाटको मोटर जडित ‘प्रोटोन ई.मास ७’ इलेक्ट्रिक एसयूभी उपलब्ध छ । यस गाडीले एकपटकको फुल चार्जमा ४७५ किलोमिटरसम्मको रेन्ज (एनईडीसी) दिन्छ । यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, हेडरेस्ट स्पिकर सिस्टम र अत्याधुनिक सुरक्षा सुविधाहरू रहेका छन् ।
अहिले यो गाडी खरिद गर्दा ग्राहकले एक वर्षको बीमा, सडक कर छुट, ७ किलोवाटको होम चार्जर र ८ वर्षको वारेन्टी जस्ता सुविधा पाउँछन् ।
कम्पनीले नेपाल ल्याउन लागेको ‘प्रोटोन ई.मास ५’ सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री हुने ईभीमध्ये एक हो । सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएको यो मोडेलले नेपालको ईभी बजारलाई थप विस्तार गर्ने कम्पनीको विश्वास छ ।
प्रोटोन ई.मास ५ मलेशियाली कार निर्माता कम्पनी प्रोटोनको पहिलो सस्तो इलेक्ट्रिक कार हो । यो बी सेगमेन्टको कम्प्याक्ट ह्याचब्याक कार हो जुन चिनियाँ कम्पनी Geely को Xingyuan मोडलमा आधारित छ । यो कार सन् २०२५ को अन्त्यतिर मलेसियामा सार्वजनिक भएको थियो ।
यो कार दुई मुख्य भेरियन्टमा उत्पादन गरिएको छ । प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवरको ब्याट्री दिइएको छ, जसले २२५ किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिन्छ भने प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट आवर ब्याट्रीले ३२५ किलोमिटरसम्म रेन्ज (डब्लूएलटीपी) प्रदान गर्छ ।
यो कार राम्रो ह्यान्डलिङ र ड्राइभिङ अनुभवका लागि Rear Wheel Drive (RWD) प्रणालीमा आधारित छ । यसमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् । यसमा ३७५ लिटरको बुट स्पेस छ, जसलाई फोल्ड गरेर १३२० लिटरसम्म बनाउन सकिन्छ । त्यस्तै, अगाडि ७० लिटरको फ्रंक स्टोरेज पनि उपलब्ध छ ।
प्रिमियम मोडलमा डीसी फास्ट चार्जिङले ३० देखि ८० प्रतिशत चार्ज मात्र २०-२१ मिनेटमा पूरा गर्नसक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १९:४०
