काठमाडौं रिङरोडमा महानगर यातायातका थप १६ विद्युतीय बस, एकपटकको चार्जमा २०० किलोमिटर गुड्ने
जेठ २१, २०८३ १८:१७
काठमाडौं । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा विद्युतीय सवारीको पहुँच बढाउँदै महानगर यातायात प्रालिले चक्रपथ क्षेत्रमा १६ वटा नयाँ विद्युतीय बस थपेको छ । यसअघि सोही क्षेत्रमा १२ वटा विद्युतीय बस सञ्चालन गर्दै आएको कम्पनीले बुधबारदेखि थप बसहरू सेवामा उतारेको हो ।
शशिला मोटर्स प्रालिमार्फत चीनबाट आयात गरिएका यी बसहरू महानगर यातायातले खरिद गरी सञ्चालनमा ल्याएको हो । ३३ सिट क्षमताका यी बसमा उभिएर यात्रा गर्ने यात्रुलाई समेत सहज हुने गरी डिजाइन गरिएको छ । जसले गर्दा एकै पटक ७० जनासम्म यात्रुले सहजै यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्राविधिक पक्षका अनुसार नयाँ बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग गरिएको छ । यी बसलाई एकपटक पूर्ण रूपमा चार्ज गरेपछि २०० किलोमिटरसम्मको दूरी तय गर्न सकिन्छ । एउटा बसको खरिद मूल्य एक करोड ३१ लाख ९० हजार रुपैयाँ परेको कम्पनीले जानकारी दिएको छ ।
नयाँ बस सेवाको उद्घाटन गर्दै महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारी साधन नै अबको भविष्य भएको बताए । "सुरुवाती लगानी केही ठुलो देखिए पनि व्यावसायिक दृष्टिकोणले विद्युतीय बसहरू डिजेल गाडीको तुलनामा निकै उपयुक्त र किफायती छन्," उनले भने ।
सचिव नेपालले अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीमा लगानी गर्न सुझाव दिँदै सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ठुला चार्जिङ स्टेसनमा लाग्ने करमा सहुलियत दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, कम्पनीका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि सञ्चालित १२ वटा विद्युतीय बसको उत्साहजनक सफलतापछि थप १६ वटा बस थपिएको जानकारी दिए । उनले प्राविधिक सरलता र न्यून सञ्चालन खर्चका कारण विद्युतीय बसले डिजेल बसको तुलनामा झन्डै चार गुणा बढी आम्दानी दिइरहेको अनुभव सुनाए ।
महानगर यातायात प्रालिले हाल काठमाडौँ उपत्यका र बाहिर गरी कुल १४० भन्दा बढी सवारी साधनमार्फत सेवा दिइरहेको छ । नयाँ थपिएका १६ बससहित अब कम्पनीसँग विद्युतीय सवारीको संख्या ५२ पुगेको छ, जसमा २८ वटा ठुला सिटी बस र २४ वटा माइक्रो बस रहेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ १८:१७
