एन्ड्रोइड १७ र जेमिनाईका नयाँ फिचर घोषणा: फोन, ल्यापटपदेखि गाडीसम्म यस्ता हुनेछन् एआई सुविधा
बैशाख ३०, २०८३ १०:४
काठमाडौँ । गुगलले सन् २०२६ को ‘द एन्ड्रोइड शो: आई/ओ एडिसन’ मार्फत एन्ड्रोइड इकोसिस्टममा ठुलो परिवर्तनको घोषणा गरेको छ । मंगलबार आयोजित उक्त कार्यक्रममा गुगलले एन्ड्रोइडलाई साधारण अपरेटिङ सिस्टमबाट ‘इन्टेलिजेन्स सिस्टम’ मा रूपान्तरण गर्ने लक्ष्य राख्दै जेमिनाई एआईलाई केन्द्रमा राखेर नयाँ अपडेटहरू सार्वजनिक गरेको हो ।
यी अपडेटहरू फोन, ट्याब्लेट, गाडी, ल्यापटप र आगामी दिनमा आउने स्मार्ट ग्लासहरूमा उपलब्ध हुने बताइएको छ ।
एन्ड्रोइड १७ मा प्राइभेसी र सेक्युरिटी फिचर
आगामी एन्ड्रोइड १७ मा स्क्याम र चोरी नियन्त्रणका लागि नयाँ फिचर समावेश गरिने छ । यसमा रहने ‘भेरिफाइड बैंकिङ कल प्रोटेक्सन’ फिचरले बैंकको नाममा आउने नक्कली कलहरूलाई पहिचान गरी ब्लक गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, ‘लाइभ थ्रेट डिटेक्सन’ फिचरले शंकास्पद एपहरूलाई तत्कालै पत्ता लगाउनेछ । फोन हराएमा बायोमेट्रिक लक र सुरक्षित पिन सेक्युरिटीका साथै अस्थायी लोकेसन शेयरिङ जस्ता गोपनीयताका फिचर पनि थपिएका छन् ।
जेमिनाई सञ्चालित ल्यापटप ‘गुगल बुक’
कम्पनीले क्रोमबुकको विकसित रूप ‘गुगल बुक’ सार्वजनिक गरेको छ । यो ल्यापटप पूर्ण रूपमा एआईमा आधारित छ । यसमा रहेको ‘म्याजिक पोइन्टर’ ले स्क्रिनमा काम गर्दा एआई सुझावहरू दिनेछ भने प्रयोगकर्ताले आफ्नै आवश्यकता अनुसारका विजेटहरू बनाउन सक्नेछन् ।
एन्ड्रोइड फोनसँग सहजै जोडिने बताइएको यो ल्यापटपमा एसर, आसुस, डेल, एचपी र लेनोभो जस्ता कम्पनीहरूसँगको साझेदारीमा बजारमा आउनेछ ।
एन्ड्रोइड अटो र सवारी साधनमा एआई
गाडीका लागि एन्ड्रोइड अटोमा पनि ठुलो सुधार गरिएको छ । गुगल म्याप्समा अब थ्रीडी दृष्यसहितको 'इमर्सिभ नेभिगेसन' उपलब्ध हुनेछ । गाडी रोकेको समयमा युट्युब जस्ता एपमा एचडी भिडिओ हेर्न सकिने र डल्बी एटमस अडियोको आनन्द लिन सकिने कम्पनीले जनाएको छ ।
जेमिनाई एआईमार्फत मेसेजको उत्तर दिने वा गाडीबाटै खाना अर्डर गर्ने जस्ता काम सहजै गर्न सकिनेछ । यो सुविधा टाटा, महिन्द्रा, हुण्डाई, बीएमडब्लूजस्ता कारमा उपलब्ध हुने बताइएको छ ।
पज प्वाइन्ट (Pause Point)
धेरै समय मोबाइलको स्क्रिनमा अल्झिने बानी हटाउन गुगलले ‘पज प्वाइन्ट’ ल्याएको छ । यसले कुनै पनि एप खोल्नुअघि १० सेकेन्डको समय लिनेछ । जसले गर्दा प्रयोगकर्तालाई त्यो एप वास्तवमै खोल्नु पर्ने हो कि होइन भनेर सोच्ने मौका दिनेछ । यो फिचर हटाउन फोन नै रिस्टार्ट गर्नुपर्ने झन्झटिलो व्यवस्था गरिएको छ, ताकि प्रयोगकर्ताले सजिलै यसलाई बन्द नगरुन् ।
इन्स्टाग्राम र युट्युब क्रिएटरहरूका लागि नयाँ फिचर
कन्टेन्ट क्रिएटरका लागि एन्ड्रोइड १७ मा स्क्रिन रियाक्सन फिचर थपिएको छ । जसले आफ्नो र स्क्रिनको भिडिओ एकैसाथ रेकर्ड गर्न सघाउनेछ । इन्स्टाग्राममा गुणस्तरीय भिडिओ अपलोड गर्न ‘नाइट साइट’ र एआई-पावर्ड ‘स्मार्ट इन्हान्स’ जस्ता टुल उपलब्ध हुनेछन् । एडोबी प्रिमियर पनि यसै वर्ष एन्ड्रोइडमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।
थ्रीडी इमोजी र एडभान्स्ड ब्राउजिङ
गुगलले कुराकानीलाई जीवन्त बनाउन ‘Noto 3D’ नामक नयाँ इमोजीहरू सार्वजनिक गरेको छ । साथै, एन्ड्रोइडको क्रोम ब्राउजरमा जेमिनाई एआई थपिनेछ, जसले लामा लेखहरूको सारांश निकाल्ने र जटिल विषयहरू बुझाउन मद्दत गर्ने बताइएको छ । ‘अटो ब्राउज’ फिचरले पार्किङ बुक गर्ने वा अर्डर अपडेट गर्ने जस्ता काम स्वचालित रूपमा गरिदिनेछ ।
आईफोनबाट एन्ड्रोइडमा डेटा ट्रान्सफर सहज हुने
एन्ड्रोइडले आईफोन प्रयोगकर्ताका लागि फाइल शेयरिङ र डेटा ट्रान्सफरलाई सहज बनाउने भएको छ । अब क्यूआर कोड स्क्यान गरेरै आईफोनमा फाइल पठाउन सकिनेछ । साथै, आईफोनबाट एन्ड्रोइडमा सर्दा पासवर्ड, फोटो, मेसेज र ई-सिम समेत वायरलेस सार्न सकिने व्यवस्था गरिएको छ ।
गुगल एन्ड्रोइडका अध्यक्ष समीर सामतले प्रविधिलाई मानिसको जीवनमा अझ सहयोगी बनाउन र स्क्रिनमा बिताउने समयलाई घटाएर वास्तविक संसारमा ध्यान केन्द्रित गर्न यो अपडेट ल्याएको बताएका छन् । उनका अनुसार जेमिनाईका यी फिचर पहिलो चरणमा पिक्सेल र ग्यालेक्सी फोनहरूमा उपलब्ध हुनेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ १०:३१
