close

नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद

टेकपाना टेकपाना

जेठ २९, २०८३ ८:३२

नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गा चेकपोस्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला परेका हुन् । बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई शङ्का लागेर खानतलासी गर्दा अवैध रूपमा ल्याइएका ती सामग्री बरामद गरिएको हो।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले बसको खानतलासी गर्दा चालकको सिटको छेउमा कालो झोलामा लुकाएर राखिएको अवस्थामा ती आईफोनहरू फेला पारेको थियो । बरामद गरिएका मोबाइलहरूको सम्बन्धमा कुनै पनि आधिकारिक बिल वा खरिद कागजात फेला नपरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार बरामद गरिएका ती सबै सेट पुराना आईफोनहरू हुन् । “ती मोबाइलहरू पुराना रहेछन्, जसको बजार मूल्य मूल्याङ्कन गर्दा करिब सात लाख रुपैयाँ बराबर देखिएको छ,” प्रवक्ता भट्टराईले जानकारी दिए ।

बरामद गरिएका ती मोबाइलह आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ ८:३२