नेपाल-भारतका क्लब सहभागी क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदै, एक्सन स्पोर्ट्स एचडीमा लाइभ
असार ११, २०८३ १९:३२
काठमाडौं । एक्सन स्पोर्ट्स एचडीले शुक्रबार (१२ असार) देखि सुरु हुने 'केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता २०२६' को प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल र भारतका क्रिकेट क्लब तथा एकेडेमीहरूको सहभागिता रहने यस प्रतियोगिताका सबै महत्त्वपूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण गरिने एक्सन स्पोर्ट्सले जानकारी गराएको छ ।
प्रतियोगिता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट स्टेडियममा २३ असारसम्म सञ्चालन हुनेछ । यो प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब तथा क्रिकेट एकेडेमी टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा इटहरी सुपर किङ्स, छिन्नमस्ता लायन्स, मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र भारतका एचपीसीए पटना, केसीसी तथा आरएमएल स्पोर्ट्स एकेडेमी लगायतका टोली सहभागी हुनेछन् । प्रतियोगिता टी–२० ढाँचामा खेलाइनेछ ।
प्रतियोगितामा लिग चरणका खेलहरू १२ असारदेखि १९ असारसम्म सञ्चालन हुनेछन् । त्यसपछि असार २० गते क्वालिफायर–१ र इलिमिनेटर, असार २१ गते क्वालिफायर–२ र २३ असारमा फाइनल खेल हुनेछ । प्रतियोगिताले नेपाल–भारत क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय तथा क्षेत्रीय स्तरका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८३ १९:३२
