काठमाडौं । चीनको एक सुपरकम्प्युटरले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वका शक्तिशाली ५०० सुपरकम्प्युटरको सूचीमा शीर्ष स्थान हासिल गरेको छ । सन् २०१७ यता कुनै चिनियाँ कम्प्युटरले यो सूचीको शीर्ष स्थान हासिल गरेको यो पहिलो पटक हो । यो सूचीलाई प्रायः कुनै देशको प्राविधिक क्षमता र प्रतिस्पर्धात्मक सामर्थ्यको महत्त्वपूर्ण सूचकका रूपमा हेरिन्छ ।
मंगलबार सार्वजनिक ‘टप ५०० प्रोजेक्ट’ को सूचीमा चीनको शेन्जेनमा रहेको 'लाइनशाइन' सुपरकम्प्युटले शीर्ष स्थानमा रहेको अमेरिकी कम्प्युटर 'एल क्यापिटन' लाई विस्थापित गरेको छ । यस सूचीमा उक्त चिनियाँ कम्प्युटरको यो पहिलो प्रवेश हो । टप ५०० प्रोजेक्टका वैज्ञानिकहरूका अनुसार चीनको 'नेसनल सुपरकम्प्युटिङ सेन्टर' मा रहेको लाइनशाइन कम्प्युटरले २.१९८ 'एक्साफ्लप्स' को गति हासिल गरेको छ । अर्थात्, यसले प्रति सेकेन्ड २ क्विन्टिलियन (१,०००,०००,०००,०००,०००,०००) भन्दा बढी गणना (Calculation) हरू गर्न सक्छ ।
कैलिफोर्नियास्थित अमेरिकी सरकारको 'लरेन्स लिभरमोर नेशनल ल्याबोरेटोरी' मा रहेको एल क्यापिटन अहिले दोस्रो स्थानमा झरेको छ । टेनेसी र इलिनोइ राज्यस्थित राष्ट्रिय प्रयोगशालाहरूमा रहेका अन्य दुई अमेरिकी सुपरकम्प्युटरहरू तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै, जर्मनीको जुपिटर सुपरकम्प्युटर भने पाँचौं स्थानमा रहेको छ ।
सार्वजनिक रूपमा प्रमाणित गरिएका विश्वका एक्सास्केल कम्प्युटरहरू यिनै पाँचवटा हुन् । यद्यपि, लाइनशाइन अन्य उच्च क्षमताका कम्प्युटरहरू भन्दा फरक रहेको छ । यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि सामान्यतया प्रयोग हुने ग्राफिक्स प्रोसेसर (जीपीयू) को सट्टा पूर्ण रूपमा परम्परागत कम्प्युटर चिप्स अर्थात् सीपीयूबाटै सञ्चालित हुन्छ । टप ५०० का अनुसार यो सुपरकम्युटर सञ्चालन गर्नका लागि करिब ४२.२ मेगावाट बिजुली आवश्यक पर्छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८३ २१:३१
