अब वित्तीय अपराधसँग सम्बन्धित खाता रोक्का गर्न बैंकहरूको वेबसाइटमै 'डेडिकेटेड कन्ट्याक्ट नम्बर'
असार ११, २०८३ १४:२४
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्नका लागि सातै दिन/२४ सै घण्टा कार्य गर्ने व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन दिएको छ । यसका लागि बैंकहरूले आफ्नो वेबसाइटमै 'डेडिकेटेड कन्ट्याक्ट नम्बर' राख्नपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख गरेको छ ।
यससँगै बैंकहरूले वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अनुसन्धान वा कानुन कार्यान्वयन गर्ने निकायको मौखिक वा लिखित अनुरोध प्राप्त भएलगत्तै अल्पकालीन अवधिका लागि रोक्का राख्न सक्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय अपराध अनुसन्धान गर्न र शंकास्पद खाता रोक्का गर्नका लागि बैंकहरूसँग समन्यवय गर्न छिटो होस् भन्ने उद्देश्यले यो व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८२ मा उक्त व्यवस्था थप गरेको हो । निर्देशनमा भनिएको छ, "इजाजतपत्रप्राप्त संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिक/लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ । त्यस्ता कार्यका लागि आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।"
यस्तै, कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीले विवरण माग गरेमा सोझै यथाशिघ्र उपलब्ध गराउने ब्यवस्था मिलाउन पनि बैंकहरूलाई निर्देशन दिइएको छ ।
पछिल्लो अध्यावधिक: असार ११, २०८३ १४:२४
