आफूलाई प्रधानमन्त्री निकट भएको बताउँदै फेसबुक मार्फत् धम्की दिएको आरोपमा पत्रकार ढकाल पक्राउ
असार १२, २०८३ १४:७
काठमाडौं । क्यानडा नेपाल नामक अनलाइनका प्रधान सम्पादक तथा पत्रकार विनोद ढकाल पक्राउ परेका छन् । आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालय नजिकको व्यक्ति भएको दाबी गर्दै फेसबुकमार्फत धम्की दिएको र जथाभावी आरोप लगाएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार विद्युतीय कसुर सम्बन्धी उजुरीको अनुसन्धानका लागि ढकाललाई काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरी शुक्रबारै सुनसरी तर्फ पठाइएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्र खड्काले इटहरीस्थित जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले उजुरी दिएपछि अदालतको आदेशमा ढकाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
यो घटना इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, स्थानीय एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गाल र पत्रकार ढकालबिच सामाजिक सञ्जालमा चलेको दोहोरीको उत्कर्ष हो । ढकालले स्थानीय राजनीतिज्ञ र व्यक्तिहरूलाई लक्षित गर्दै फेसबुक स्टाटस लेखेका थिए ।
उक्त पोस्टमा उनले लेखेका थिए, "एउटा अशोक चौधरी सांसद छ, मेयरलाई प्रश्न उठाउँछ, अर्को लालबिक्रम सांसद छ मेयरको तलुवा चाट्छ । चिज के हो भने, लालबिक्रमले भ्रष्टाचार गरेको वडा चौधरीको क्षेत्र हो । अब सहिद हुने काशीनाथ हो, यसको पनि संलग्नता ठुलो देखियो डकुमेन्ट हेर्दा । मेयर त सम्पत्ति शुद्धीकरणमा जाने हो, गफ र सत्य फरक हुन्छ ।"
यही ‘सहिद हुने’ भन्ने धम्कीपूर्ण अभिव्यक्तिका कारण काशीनाथ दङ्गालले उनीविरुद्ध जाहेरी दिएका हुन् । टेकपानासँगको कुराकानीमा दङ्गालले भने, "म त्यो मान्छेलाई चिन्दिनँ । फेसबुकमा 'काशीनाथ अब सहिद हुने भयो' लेखेको रहेछ । सुरुमा उसले लेखेको त्यो स्टाटस पनि देखिनँ, आफन्तले भनेपछि थाहा पाएको थिएँ । उसको फेसबुकमा लेखेको देखेपछि सहन नसकेर श्रीमती बिरामी नै परिन् । अन्य धेरै कुराहरू लेखेको छ, जुन म सार्वजनिक रूपमा भन्न पनि सक्दिनँ । झुटा निराधार आरोप लगाएर आत्मसम्मान र जीवन रक्षाका लागि जाहेरी दिएको हुँ ।"
दङ्गालले यसअघि नै फेसबुकमा मेयर पौडेलको पोस्ट शेयर गर्दै आफूले विनोदलाई नचिन्ने र उनको तरिका अत्यन्तै गलत भएको भन्दै प्रमाण भए अनुसन्धान गर्न वा भ्रम नछर्न चेतावनी दिएका थिए । जसमा उनले शिक्षामन्त्री सस्मित पोखरेललाई नै ट्याग गरेका थिए ।
मेयर पौडेलको कडा चेतावनी
इटहरीका मेयर हेमकर्ण पौडेलले पनि प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै ढकालविरुद्ध कडा स्टाटस लेखेको पाइएको छ । रातको सुरुमा मनपरी लेख्ने क्यानडा नेपालको सम्पादक भन्ने ढकाललाई जनतालाई धम्क्याउने प्रयास नगर्न र कानुन तथा सरकारको ख्याल गर्न मेयर पौडेलले चेतावनी दिएका थिए ।
मेयर पौडेलले लेखेका थिए, "आफूलाई कहिले प्रधानमन्त्रीको सचिवालयसँग निकट रहेको, कहिले गृहमन्त्रीको सचिवालयको मान्छे भएको, कहिले विभिन्न शक्तिकेन्द्रसँग पहुँच भएको दाबी गर्दै सामाजिक सञ्जालमा व्यक्तिहरूको नाम लिएर आरोप लगाउने, धम्कीपूर्ण शैलीमा लेख्ने र केही समयपछि पोस्ट सम्पादन वा हटाउने प्रवृत्तिबारे गम्भीर प्रश्न उठेको छ ।"
उनले कुनै पनि गैरकानुनी गतिविधिको अनुसन्धान गर्ने निकाय अख्तियार, प्रहरी र अदालत भएको स्मरण गराउँदै सामाजिक सञ्जालमा आफूलाई राज्यका निकायको प्रतिनिधि जस्तो प्रस्तुत गरी कसैलाई त्रसित बनाउने अधिकार नभएको प्रष्ट पारेका थिए ।
पत्रकार ढकालको निरन्तर चुनौती
मेयरको उक्त पोस्टलगत्तै ढकालले पनि कडा जवाफ फर्काउँदै प्रधानमन्त्री कार्यालयलाई ट्याग गरेकोमा व्यंग्य गरेका थिए । "चारैतिर घेरा हाल्न सकिन्छ भनेर आज इटहरीको मेयर हेमकर्ण पौडेलले फायर खोले मविरुद्ध, राम्रो गरे," ढकालले लेखेका थिए ।
उनले दुवै जनाको सम्पत्ति छानबिन हुनुपर्ने माग राख्दै मेयरले आफूलाई बारम्बार भेट्न खोजेको र ‘मेराविरुद्ध लागेछौ, भाइ त्यस्तो हैन’ भनेको अडियो आफूसँग सुरक्षित रहेको भन्दै मौकामा सार्वजनिक गर्ने चेतावनी दिएका थिए ।
ढकालले अर्को पोस्ट गर्दै आफूले प्रधानमन्त्री र गृहमन्त्रीको मान्छे भनेर कसैलाई नियुक्ति दिलाउने भन्दै नठगेको दाबी गरेका छन् । "म बिनोद ढकालले प्रधानमन्त्री र गृहमन्त्रीको मान्छे भनेर कस-कसलाई यो त्यो नियुक्ती गर्छु, सबै काम गर्दिन्छु म नजिक हो भनेर ठगेको छु ? कृपया नजिकको प्रहरी कार्यालयमा उजुरी/जाहेरी दिनुहोला," उनले चुनौती दिँदै लेखेका थिए, "म कङ्गोले गोल गरे जस्तै हो निर्धो तर सक्षम ।"
विद्युतीय माध्यमबाट शक्तिकेन्द्रको आडमा त्रसित बनाएको र निराधार आरोप लगाई मानहानी गरेको विषयमा उजुरी परेपछि अन्ततः उनी पक्राउ परेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाउने भएको छ ।
पछिल्लो अध्यावधिक: असार १२, २०८३ १४:१५
