close

यही २२ असारदेखि थ्रिजी सेवा बन्द गर्दै एनसेल

टेकपाना टेकपाना

असार १५, २०८३ ९:५३

यही २२ असारदेखि थ्रिजी सेवा बन्द गर्दै एनसेल

काठमाडौं । निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कलाई थप अत्याधुनिक र शक्तिशाली बनाउने उद्देश्यका साथ आगामी असार २२ गतेदेखि देशका विभिन्न स्थानमा सञ्चालित थ्रिजी (3G) सेवा बन्द गर्ने घोषणा गरेको छ । नयाँ प्रविधि अपनाउँदै सेवाको गुणस्तरमा स्तरोन्नति गर्ने योजना अनुरूप कम्पनीले यो कदम चालेको हो ।

एनसेलले जारी गरेको आधिकारिक सूचना अनुसार पहिलो चरणमा कोसी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरूमा थ्रिजी सेवा बन्द गरिनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लालाई भने यस चरणमा समेटिएको छैन ।

थ्रिजी सेवा बन्द भए पनि ग्राहकहरूले सञ्चार सेवामा कुनै समस्या झेल्नु नपर्ने र उल्टै अझ उत्कृष्ट अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ । एनसेलले आफ्ना ग्राहकहरूलाई अझ राम्रो र स्पष्ट भोइस तथा तीव्र गतिको डेटा सेवाका लागि भोल्टे (VoLTE) सेवा सक्रिय गर्न आग्रह गरेको छ । यो सेवा सक्रिय गरेपछि ग्राहकले उही पुरानै शुल्कमा उच्च गुणस्तरको एचडी (HD) भोइस र निर्बाध इन्टरनेट सेवाको लाभ लिन सक्नेछन् ।

एनसेलका ग्राहकहरूले यसका लागि आफ्नो मोबाइलको सेटिङमा गएर VoLTE विकल्पलाई 'अन' (On) गर्नुपर्ने हुन्छ । त्यसपछि *१२३*११# डायल गरी यो सेवा सक्रिय गर्न सकिने छ ।

कम्पनीका अनुसार हाल एनसेलको फोरजी (4G) नेटवर्कले देशको करिब ९५ प्रतिशत जनसङ्ख्यालाई समेटिसकेको छ । अझ उन्नत र आधुनिक प्रविधिमार्फत आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरको दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको एनसेलले बताएको छ । सेवा परिवर्तनका क्रममा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति कम्पनीले क्षमा समेत मागेको छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८३ ९:५७