close

युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

टेकपाना टेकपाना

फागुन २७, २०७७ १५:३

युट्युबले ल्याएको नयाँ कर नीतिले नेपाली युट्युबरको आम्दानी ३० प्रतिशतसम्म घट्ने

काठमाडौं । युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै बनिरहेकाे अवस्थामा नयाँ कर नीतिले क्रिएटरलाई निरुत्साहित पार्ने भएको छ ।

युट्युबले आउँदो जून महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म कर काट्ने भन्दै युट्युबरलाई ईमेलमार्फत जानकारी गराउन थालेकाे छ । युट्युबका अनुसार अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ ।

याे नीतिले गर्दा कन्टेन्ट क्रिएटरले करकाे नियमबारे आवश्यक विवरण आउँदो मे ३१ सम्म बुझाउनुपर्नेछ । यदि जानकारी बुझाएको खण्डमा गुगलले तपाईंको निर्धारित कर मात्रै कटौती गर्नेछ ।

यदि मे ३१ तारिखसम्म करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने तपाईंको कुल आम्दानीको २४ प्रतिशत करको रुपमा काटेर मात्रै रकम उपलब्ध हुनेछ ।

भएको के हो ?

अमेरिकाभन्दा बाहिरका क्रिएटरको हकमा अब युट्युबले अमेरिकाबाट आएको भ्युजमार्फत भएको आम्दानीको कर कटौती गर्ने हो ।

किन यस्तो नियम ?

अमेरिकाको आन्तरिक राजश्व नीतिको परिच्छेद ३ अनुसार अब युट्यबले अमेरिकाभन्दा बाहिरका माेनिटाइज्ड क्रिएटरबाट कर संकलन गर्नुपर्ने हुन्छ ।

यसले आम्दनीमा कस्तो असर पर्ने छ ?

यसमा देश, क्रिएटरका साथ अन्य धेरै कुराले करको दायरा फरक–फरक हुनसक्छ । जसमा पहिला अमेरिकी भिजिटरबाट तपाईंको च्यानलले गर्ने मासिक आम्दानी एक हो ।

यदि तपाईंले युट्युबले भनेको समयमा करसम्बन्धी जानकारी समयमा बुझाएको खण्डमा तपाईंले अमेरिकाबाट भएको आम्दानीको ० देखी ३० प्रतिशतसम्म कर बुझाउनुपर्छ ।

करको दायरा भने देशअनुसार फरक-फरक हुन सक्छ । यदि नेपालको अमेरिकासँग युट्युब लगायतका सेवाको हकमा करसम्बन्धी कुनै सन्धि सम्झौता भएको खण्डमा उक्त सम्झौताअनुसार लाग्नेछ ।

तर, नेपालको हकमा अमेरिकासँग कुनै दोहोरो कर सम्झौता भएकाे अवस्था छैन । यसो हुँदा युट्युबरहरुले दुवैतर्फ कर भुक्तानी गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने सबैभन्दा ठूलो असर पर्नेछ । यसको अर्थ तपाईंले करसम्बन्धी जानकारी नबुझाएको खण्डमा तपाईंको कुल आम्दानीको २४ प्रतिशत रोक्का गरिने छ ।

नेपालको हकमा धेरैजसो युट्यबरले आम्दानी गरेको कर नबुझाउने गरेकाले उनीहरुले करसम्बन्धी जानकारी बुझाउन असहज हुने देखिन्छ । त्यो हुँदा धेरैजसो युट्युबरले आफ्नो आम्दानीकै २४ प्रतिशत काटेरमात्रै प्राप्त गर्न सक्ने अवस्था छ ।

उदाहरणका लागि

यदि तपाईंले अघिल्लो महिना युट्युबबाट कुल १ हजार अ‍ेमरिकी डल आम्दानी गर्नुभयो । त्यसमध्ये १०० डलर आम्दानी अमेरिकी भिजिटरले हेरेबापत भएको छ । यस्तो अवस्थामा यदि युट्युबरले कर सम्बन्धी जानकारी नबुझाएको खण्डमा कुल आम्दानीको २४ प्रतिशत अर्थात् २४० अमेरिकी डलर काटिने छ ।

यदि युट्युबरले अमेरिकासँग भएको सम्झौतासम्बन्धी जानकारी बुझाएको खण्डमा सम्झौता अनुसारको कर दायरा अनुसार कटौती हुनेछ । जस्तो भारतको हकमा अमेरिकी सरकारसँग सम्झौता रहेकाले अमेरिकी भिजिटरबाट भएको आम्दनीको १५ प्रतिशत मात्रै बुझाउँदा हुनेछ ।

यदि करसम्बन्धी जानकारी उपलब्ध त गराउनुभयो, तर अमेरिकी सरकारसँग करसम्बन्धी कुनै सम्झौता नभएको खण्डमा तपाईंलाई अमेरिकी भिजिटरबाट भएको आम्दानीको ३० प्रतिशत काटेरमात्रै बाँकी रकम उपलब्ध हुनेछ ।

त्यसैले युट्युबले मागेअनुसारकाे करसम्बन्धी जानकारी उपलब्ध गराएकाे खण्डमा भने युट्युबरलाई केही राहत हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१