इन्फ्लुएन्सरलाई नयाँ नियम: पैसा लिएर बनाएको कन्टेन्टलाई ‘विज्ञापन’ भन्नैपर्ने
असार १९, २०८३ ७:७
काठमाडौं । अब सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ (प्रभावशाली व्यक्ति) हरूले कुनै पनि वस्तु वा सेवाको शुल्क लिएर कन्टेन्ट (सामग्री) बनाएमा उक्त सामग्री ‘विज्ञापन’ हो भनेर स्पष्ट रूपमा खुलाउनुपर्ने भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ ले यस्तो व्यवस्था गरेको हो ।
नयाँ नीतिको कार्यनीति बुँदा नम्बर ९.१३ मा ‘स्पोन्सर कन्टेन्ट (प्रायोजित सामग्री) तथा इन्फ्लुएन्सर मार्केटिङलाई स्वघोषणा गर्न लगाउने’ व्यवस्था गरिएको छ । सोही बुँदामा डिपफेक प्रविधि प्रयोग गरेर तयार पारिएका विज्ञापनलाई समेत नियमन गर्ने उल्लेख छ ।
स्पोन्सर कन्टेन्ट र इन्फ्लुएन्सर मार्केटिङलाई स्वघोषणा गर्न लगाउने तथा एआई प्रयोग गरी बनाइएका डिपफेक जस्ता विज्ञापनको नियमनका लागि दुई वर्षको समयसीमा तोकिएको छ । यस कार्यका लागि विज्ञापन बोर्डलाई जिम्मेवार निकाय मानिएको छ भने तीनै तहका सरकारले यसमा सहयोग गर्नुपर्ने उल्लेख छ ।
यस्तो नियमनले देशभरिको विज्ञापन क्षेत्रमा एकरूपता कायम गर्न र उपभोक्तालाई भ्रमबाट बचाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
पछिल्लो अध्यावधिक: असार १९, २०८३ ७:७
