close

म्याद कम भएका करिब ३ लाख ड्राइभिङ लाइसेन्स नछाप्ने तयारी

टेकपाना टेकपाना

असार १९, २०८३ ९:३

म्याद कम भएका करिब ३ लाख ड्राइभिङ लाइसेन्स नछाप्ने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले म्याद एक वर्षभन्दा कम बाँकी रहेका करिब तीन लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नछाप्ने योजना बनाएको छ । लामो समयदेखि छपाइको पर्खाइमा रहेका र थोरै मात्र म्याद बाँकी रहेका कार्डहरू छाप्दा राज्यलाई आर्थिक भार मात्र पर्ने र सेवाग्राहीलाई पनि खासै फाइदा नहुने निष्कर्ष निकाल्दै विभागले यस्तो तयारी गरेको हो ।

विभागमा आन्तरिक छलफल भइरहेको र एक-दुई दिनमै औपचारिक निर्णय हुने बताइएको छ । “एक वर्षभन्दा कम म्याद भएका करिब तीन लाख जति लाइसेन्स नछाप्ने योजना बनाइरहेका छौँ,” विभागका एक अधिकारीले भने, “दैनिक रूपमा आठ सयभन्दा बढी छाप्न बाँकी लाइसेन्सको म्याद खेर गइरहेको छ । यस्तो अवस्थामा छपाइको झन्झट र सेवाग्राहीलाई लिन आउने सास्ती कम गर्न यो कदम चाल्न लागिएको हो ।”

हाल छाप्न बाँकी रहेका करिब तीन लाख लाइसेन्समध्ये ठुलो सङ्ख्यामा सेवाग्राहीहरू वैदेशिक रोजगारी वा अन्य सिलसिलामा मुलुक बाहिर रहेको विभागको आँकलन छ । विदेशमा रहेका व्यक्तिहरूको कार्ड छापेर राख्दा उनीहरू नेपाल फर्किउन्जेल कार्डको म्याद नै समाप्त भइसक्ने देखिएको उसको बुझाइ छ ।

लाइसेन्सको राजस्व तिरिसकेका सेवाग्राहीले कार्ड नपाउँदा हुन सक्ने असन्तुष्टिप्रति विभाग सचेत देखिएको छ । यसको विकल्पमा विभागले सेवाग्राहीलाई छिटै नवीकरण गर्न सक्ने सुविधा दिने योजना बनाएको छ ।

“यदि सेवाग्राहीले चाहनुहुन्छ भने हामी उहाँहरूलाई लाइसेन्स नवीकरण छिटै गर्न सक्ने सुविधा दिन्छौँ,” ती अधिकारीले भने, “त्यसरी नवीकरण गर्दा सेवाग्राहीले एकै पटक १० वर्षको म्याद भएको नयाँ स्मार्ट कार्ड प्राप्त गर्न सक्नुहुनेछ । यसले राज्यको खर्च पनि जोगाउँछ र सेवाग्राहीलाई पनि पटक-पटकको झन्झटबाट मुक्ति मिल्छ ।”

यद्यपि, कुनै सेवाग्राहीले आफ्नो बाँकी अवधिकै लाइसेन्स अनिवार्य रूपमा चाहिन्छ भनेर माग गरेमा विभागले त्यस्तो कार्ड छापेर दिन रोक्ने छैन । हाल नागरिक एपमा उपलब्ध हुने डिजिटल लाइसेन्सले पनि कानुनी मान्यता पाइसकेकाले भौतिक कार्ड नहुँदा पनि तत्काल काम नरोकिने विभागको विश्वास छ ।

विभागले सुरक्षण मुद्रण केन्द्रसँगको सम्झौता अनुसार कुल २९ लाख लाइसेन्स छाप्नुपर्नेमा हालसम्म २४ लाख प्रति छापिसकेको छ । बाँकी रहेका कार्डहरूमध्ये असार मसान्तसम्म थप दुई लाख कार्ड छाप्ने तयारी भइरहेको छ । नयाँ आर्थिक वर्षदेखि लाइसेन्सको आवेदन दिँदा नै हुलाक मार्फत घरमै कार्ड पुर्‍याउने व्यवस्था समेत सुरु गर्न लागिएको विभागले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १९, २०८३ ९:४०