close

फुटबलमा प्रविधिः बलभित्र रहेको सेन्सरले पोर्चुगललाई यसरी बचायो

टेकपाना टेकपाना

असार १९, २०८३ १७:११

फुटबलमा प्रविधिः बलभित्र रहेको सेन्सरले पोर्चुगललाई यसरी बचायो

काठमाडौं । विश्वकप फुटबलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । तर पोर्चुगलको जीतमा क्रिस्टियानो रोनाल्डो र गोन्जालो रामोसको गोलसँगै फुटबल प्रविधिको योगदन पनि महत्त्वपूर्ण बन्यो । एक क्षणका लागि क्रोएसियाले असम्भवलाई सम्भव तुल्याए जस्तो देखिएको थियो । विश्वकपको राउन्ड अफ ३२ (अन्तिम ३२) को खेलमा क्रेएसियाका योस्को भार्डिओलले इन्जुरी समयमा बराबरी गोल गर्दै पोर्चुगल विरुद्धको खेललाई जीवितै राखेका थिए ।

तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को समीक्षापछि उक्त गोललाई रद्द गरियो, जसका कारण पोर्चुगल २-१ ले विजयी भयो र क्रोएसियाको विश्वकप यात्रा निराशाजनक रूपमा समाप्त हुन पुग्यो । तर यो निर्णयमा सबैभन्दा उल्लेखनीय पक्ष भीएआरले गोल रद्द गर्न लिएको आधार थियो । खेलमा प्रयोग भएको आधिकारिक बलभित्र जडान गरिएको सूक्ष्म माइक्रोचिपले अफसाइड भएको पुष्टि गरेपछि भीएआरले गोललाई अमान्य घोषित गर्यो ।

गोल हुनुअघि इभान पेरिसिचले पेनाल्टी बक्स भित्र लामो पास दिएका थिए, जसलाई मारियो पासालिचले नियन्त्रणमा लिएका थिए । त्यसपछि बल बाउन्स भएपछि भार्डिओलले गोल गरेका थिए । यद्यपि, पेरिसिचको बल पासालिचसम्म पुग्नुअघि पेनाल्टी बक्समै रहेका इगोर मातानोभिचले छोएका थिए कि थिएनन् भन्ने आशंका थियो । यदि बल मातानोभिचको टाउकोले छोएको भए पासालिच अफसाइड हुने थिए भने नछोएको भए गोलले मान्यता पाउने थियो ।

मैदानमा रहेका खेलाडी, रेफ्री र दर्शकले मात्र होइन, स्लो मोशन रिप्लेमा समेत मातानोभिचले बल छोए कि छोएनन् भन्ने पत्ता नलागेपछि बल भित्र रहेको सेन्सरको सहायता लिइएको थियो । एडिडासको आधिकारिक म्याच बलभित्र जडान गरिएका सेन्सरहरूले मातानोभिचले बल छोएको पुष्टि गरेपछि क्रोएसियाको गोल रद्द गरिएको बीबीसीमा उल्लेख छ ।

रोनाल्डोको भावनात्मक उतारचढाव, क्रोएसियाली समर्थकहरूको आक्रोश 

विश्वकप जित्ने सपना अझै पूरा गर्न नसकेका क्रिस्टियानो रोनाल्डोका लागि टोरन्टोको बिहीबारको रात भावनात्मक उतारचढावले भरिएको रह्यो । इभान पेरिसिचले क्रोएसियालाई अग्रता दिलाउँदा प्रसिद्ध विश्वकप ट्रफी उचाल्ने आफ्नो सपना यहीँ समाप्त हुने हो कि भन्ने डर रोनाल्डोमा देखिएको थियो । तर पेनाल्टी मार्फत नकआउट चरणमा आफ्नो पहिलो गोल गर्दै रोनाल्डोले पोर्चुगलको सम्भावना जिवितै राखे । तर उनले ८१औं मिनेटमा मैदान छाडे ।

बाँकी समय बेन्चमै बसेर खेल नियालेका रोनाल्डोको विश्वकप ट्रफि उचाल्ने आशा ९४औं मिनेटमा गोन्जालो रामोसले गोल गर्दै जिवितै राखिदिए । तर त्यसको केही समयपछि नै क्रोएसियाले गोल गरेपछि रोनाल्डो स्तब्द बनेका थिए । यद्दपि, विवादास्पद भीएआर निर्णणले गोल राद्द गरेपछि रोनाल्डोको विश्वकप आत्रा थप अघि बढेको छ ।

यता, भीएआरको निर्णयले रियल मड्रिडमा रोनाल्डोसँगै एउटै टोलिमा खेलेका क्रोएसियाका भेट्रान खेलाडी लुका मोड्रिचको विश्वकप यात्रा भने समाप्त भएको छ । यस निर्णयले क्रोएसियाली टोली स्तब्ध बन्यो भने टोरन्टोस्थित रंगशालामा रहेका उनीहरूका धेरै समर्थकहरू पनि आक्रोशित बने । क्रोएसियाका समर्थकहरूले मैदानतर्फ दर्जनौं बोतल र क्यानहरू फ्याँकेपछि खेलको अन्तिम क्षण केही समयका लागि रोक्नुपरेको थियो ।

विवादित बनेको ‘कनेक्टेड बल टेक्नोलोजी’

एडिडासले गत अक्टोबर महिनामै विश्वकप खेलहरूमा प्रयोग हुने बलमा मोसन सेन्सर चिप जडान गर्ने घोषणा गरेको थियो । यो प्रविधिलाई कम्पनीले ‘कनेक्टेड बल टेक्नोलोजी’ नाम दिएको छ । बलको गति र चाल मापन गर्ने सेन्सरयुक्त यो चिप बलका चार प्यानलमध्ये एउटामा प्रत्यक्ष रूपमा जडान गरिएको हुन्छ । यसका कारण बलको सन्तुलन नबिग्रियोस् भनेर बाँकी भागमा विशेष प्रतितौल (काउन्टर वेट) राखिएको हुन्छ, जसले बलको तौल र सन्तुलन समान राख्ने काम गर्छ ।

एडिडासका अनुसार उक्त चिपबाट प्राप्त हुने जानकारी रियल टाइम मा भीएआर समक्ष पठाइन्छ । यस प्रविधिले खेलाडीले बल कहिले र कति गतिमा प्रहार गरे भन्ने जानकारीसहित सम्भावित ह्यान्डबलजस्ता घटनाको पनि सटीक पहिचान गर्न खेल अधिकारीलाई सहयोग पुर्‍याउँछ । यी चिपहरू ब्याट्रीबाट सञ्चालित हुने भएकाले प्रत्येक खेलअघि आधिकारिक बललाई चार्ज गर्नुपर्ने हुन्छ । एकपटक पूर्ण रूपमा चार्ज गरेपछि बलभित्र रहेको ब्याट्री करिब ६ घण्टासम्म चल्छ ।

यही चिपकै कारण क्रोएसियाको बराबरी गोल भीएआरले उल्ट्याउँदा पोर्चुगल विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।


 

पछिल्लो अध्यावधिक: असार १९, २०८३ १७:२६