ओपनएआईले ल्यायो नयाँ भ्वाइस मोडेल 'जीपीटी-लाइभ', मानिसले जस्तै एकै समयमा सुन्न र बोल्न सक्ने
असार २५, २०८३ ११:४५
काठमाडौं । ओपनएआईले च्याटजीपीटीको भ्वाइस अनुभवलाई थप प्राकृतिक बनाउन नयाँ एआई मोडेल ‘जीपीटी-लाइभ’ (GPT-Live)सार्वजनिक गरेको छ । नयाँ भ्वाइस मोडेलले मानिसले जस्तै एकै समयमा सुन्न र बोल्न सक्ने भएकाले प्रयोगकर्तासँगको संवाद पहिलेभन्दा धेरै सहज र स्वाभाविक हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जीपीटी-लाइभ दुई संस्करणमा उपलब्ध छ । ‘जीपीटी-लाइभ-१’ सशुल्क सब्क्रिप्सन लिएका ‘गो, प्लस र प्रो’ प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भने ‘जीपीटी-लाइभ-१ मिनि’ निःशुल्क प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । यी दुवै मोडेल वेब, एन्ड्रोइड र आईओएसमा क्रमशः विश्वभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
जीपीटी-लाइभको मुख्य फिचर
नयाँ प्रणालीको मुख्य विशेषता ‘फुल डुप्लेक्स’ प्रविधि हो । यो प्रविधिले एआईलाई प्रयोगकर्ताले बोलिरहेकै बेला सुन्न र उपयुक्त समयमा प्रतिक्रिया दिन सक्षम बनाउँछ । यसले वार्तालापमा हुने अनावश्यक अवरोध कम गर्ने, स्वाभाविक विराम बुझ्ने र मानिससँग कुरा गरेजस्तै अनुभव दिने ओपनएआईको दाबी छ ।
जीपीटी-लाइभले प्रयोगकर्ताले केही समय रोकेर फेरि बोल्न थाले पनि संवादको सन्दर्भ कायम राख्न सक्छ । साथै, बीचमै प्रश्न थप्न वा कुरा सच्याउन सकिने भएकाले कुराकानी अझ सहज हुन्छ । यसमा वास्तविक समयमै भाषान्तर (रियल-टाइम ट्रान्सलेसन) गर्ने सुविधा पनि समावेश गरिएको छ ।
वेब खोज, लामो विश्लेषण र जटिल प्रश्नहरूको उत्तर दिनुपर्ने अवस्थामा जीपीटी-लाइभले आवश्यक पर्दा शक्तिशाली टेक्स्ट मोडेलको सहायता लिएर प्रतिक्रिया दिने कम्पनीले जनाएको छ । मौसम, खेलकुद वा शेयर बजारजस्ता विषयमा कुराकानी गर्दा सम्बन्धित दृश्य सामग्रीसमेत देखाउन सक्ने क्षमता यसमा थपिएको छ ।
यस्तै, जीपीटी लाइभमा सडकको आवाज वा वरपरको हल्लाबिच पनि प्रयोगकर्ताको आवाजमा राम्रोसँग केन्द्रित हुन सक्ने क्षमता थपिएको छ । ओपनएआईका अनुसार नयाँ मोडलमा सुरक्षा पक्षलाई पनि प्राथमिकता दिइएको छ । संवेदनशील अवस्थाका प्रयोगकर्ताका लागि विशेषज्ञबाट तयार पारिएका प्रतिक्रिया र किशोर प्रयोगकर्ताका लागि उमेरअनुसारका उत्तर दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ ११:४७
