close

अब च्याटजीपीटीले बनाइदिनेछ तपाईंको बचत र लगानीको योजना, यस्तो छ ‘पर्सनल फाइनान्स टुल’

टेकपाना टेकपाना

जेठ २, २०८३ १९:४६

अब च्याटजीपीटीले बनाइदिनेछ तपाईंको बचत र लगानीको योजना, यस्तो छ ‘पर्सनल फाइनान्स टुल’

काठमाडौँ । ओपनएआईले च्याटजीपीटीमा व्यक्तिगत वित्त (पर्सनल फाइनान्स) व्यवस्थापन गर्ने फिचर ल्याउने भएको छ । कम्पनीले हाल अमेरिकाका ‘प्रो’ प्रयोगकर्ताका लागि परीक्षणको रूपमा यो सुविधा उपलब्ध गराएको छ ।

नयाँ फिचरमार्फत प्रयोगकर्ताले आफ्नो बैंक अकाउन्ट, क्रेडिट कार्ड र अन्य लगानीका विवरण च्याटजीपीटीमा सिधै जोड्न सक्नेछन् । यसबाट प्रयोगकर्ताले आफ्नो खर्चको विश्लेषण गर्ने, अनावश्यक सब्स्क्रिप्सन पत्ता लगाउने र भविष्यका लागि वित्तीय योजना बनाउन च्याटजीपीटीसँग परामर्श लिन सक्नेछन् ।

खाताहरू सुरक्षित रूपमा जोड्नका लागि ओपनएआईले वित्तीय प्रविधि प्रदायक संस्था ‘प्ल्याड’ सँग साझेदारी गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले चेस, फिडेलिटी, रोबिनहुड, अमेरिकन एक्सप्रेस जस्ता १२ हजार बढी वित्तीय संस्थाहरूका खाता लिङ्क गर्न सक्ने सुविधा दिइएको छ ।

ओपनएआईका अनुसार हरेक महिना २० करोड बढी प्रयोगकर्ताले च्याटजीपीटीलाई वित्तसम्बन्धी प्रश्न सोध्ने गरेका छन् । प्रयोगकर्ताको यही चाहनालाई मध्यनजर गर्दै कम्पनीले यो टुल विकास गरेको हो ।

नयाँ जीपीटी-५.५ मोडेलमा आधारित यो फिचरले प्रयोगकर्ताको व्यक्तिगत खर्चको सन्दर्भ बुझेर अझ सटीक सुझाव दिने दाबी गरिएको छ ।

सुरक्षा र गोपनीयताका लागि प्रयोगकर्ताले जुनसुकै बेला आफ्नो बैंक खाताको सम्पर्क विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । खाता हटाएको ३० दिनभित्र च्याटजीपीटीबाट ती सबै वित्तीय तथ्याङ्क पूर्ण रूपमा मेटिने कम्पनीले जनाएको छ ।

हाललाई च्याटजीपीटीको वेब संस्करण र आईओएस एपमा ‘प्रो’ प्रयोगकर्ताका लागि मात्र यो सुविधा खुला गरिएको छ । अमेरिकामा भइरहेको यो परीक्षण सफल भएपछि र प्रयोगकर्ताको प्रतिक्रियाका आधारमा यसलाई ‘प्लस’ प्रयोगकर्ता र अन्य देशमा पनि विस्तार गरिने ओपनएआईको योजना छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २, २०८३ १९:५५