काठमाडौंमा ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ आयोजना हुँदै, ३० भन्दा बढी कम्पनी सहभागी बन्ने
असार २६, २०८३ १३:४४
काठमाडौं । काठमाडौंमा ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ आयोजना हुने भएको छ । दरबारमार्गस्थित होटल याक एन्ड यतीमा २५ सेप्टेम्बरमा उक्त कन्फेरेन्स आयोजना हुन लागेको हो । ड्रोन हब नेपालको मुख्य आयोजना तथा एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई) र इन-स्पान सेन्टर अफ एक्सिलेन्सको सहकार्यमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । यस कार्यक्रममा भारतीय दूतावासको समेत सहयोग रहेको छ ।
आयोजकका अनुसार ‘विकासका लागि ड्रोन: नेपाल र बाहिरका लागि एआई-सञ्चालित समाधानहरू’ भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनमा नेपाल, भारत र युरोपमा भइरहेको ड्रोनको प्रयोगबारे अनुभव आदानप्रदान हुनेछ । सम्मेलनमा ड्रोनको उचित व्यावसायिक प्रयोगका लागि आवश्यक नीतिगत बहस समेत हुने बताइएको छ । नेपाल विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय र मधेश विश्वविद्यालयले शैक्षिक साझेदारका रूपमा सहभागिता जनाउने छन् ।
यस एक दिने सम्मेलनमा नेपाल र भारतका ड्रोन कम्पनीका लागि बजार विस्तारका सम्भावित अवसरबारे छलफल हुने आयोजकले जनाएको छ । यो कार्यक्रममा ३० भन्दा बढी ड्रोन कम्पनीका साथै ५०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न किसिमका ड्रोनहरू प्रदर्शन गरिनेछ ।
सम्मेलनमा ड्रोन प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र नवीनतम आविष्कारले विकासका विभिन्न क्षेत्रमा ल्याउन सक्ने परिवर्तनका बारेमा विज्ञले आफ्ना कार्यपत्र समेत प्रस्तुत गर्ने तयारी छ । सम्मेलनले नीति निर्माता, उद्योग विज्ञ, अनुसन्धानकर्ता र प्रविधि प्रेमीहरूलाई एउटै थलोमा ल्याएर नेपालको ड्रोन इकोसिस्टमलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।
पछिल्लो अध्यावधिक: असार २६, २०८३ १३:४४
