एमाले सांसदले 'कान सुन्नुहुन्न' भन्दै सभामुखको अपमान गरेको ठहर, संसद् अभिलेखबाट हटाइयो रेकर्ड
असार २५, २०८३ ९:५१
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठकमा सभामुखको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले बोलेका शब्दहरू संसद्को अभिलेख (रेकर्ड) बाट हटाइएको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएसँगै प्रतिपक्षतर्फका सांसदहरू आ-आफ्नो स्थानमा उभिएका थिए ।
सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सुरुमा सांसद प्रमिलाकुमारी गच्छदारलाई छोटकरीमा आफ्नो भनाइ राख्न समय दिएका थिए । गच्छदारले भारतसँगको सीमा समस्या र प्रधानमन्त्रीको हलुका अभिव्यक्तिका कारण सुस्ता लगायतका क्षेत्रका जनता त्रसित र दबाबमा रहेको दाबीसहितका विषयहरू उठाएकी थिइन् ।
त्यसपछि सभामुखले एमाले सांसद राजेन्द्रकुमार राईलाई बोल्न समय दिए । तर, समय पाउनासाथ सांसद राईले, 'सम्माननीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्नुपर्यो । तपाईं कान सुन्नु हुन्छ कि सुन्नु हुँदैन ? मेरो यो सभामुखलाई निवेदन हो," भन्दै प्रश्न गरे ।
सांसद राईको उक्त भनाइ लगत्तै सभामुखले बीचमै हस्तक्षेप गर्दै उनलाई रोकेका थिए । सभामुखले सांसद राईलाई मर्यादामा रहेर बोल्न निर्देशन दिँदै योभन्दा अगाडि बढ्न समय नदिने जानकारीसहित बस्न आग्रह गरे । सभामुखले 'माननीय सदस्यले सभामुख र सभाकै अपहेलना गरिरहनुभएको छ, त्यसैले बस्नुस्' भन्दै निर्देश गरे पनि सांसद राई उभिरहे र एमालेका अन्य सांसदहरूले समेत माइक बिना नै उठेर बोलिरहे । सभामुखले हलबाटै सभामुखको अपमान हुने गरी प्रयोग भइरहेको भाषाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
यसै क्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टीका सङ्ग्रौला (ज्वाला) ले नियमापत्ति जनाउँदै सांसद राईको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् । त्यसपछि सभामुखले संसद् नियमावली २०८३ को नियम २१ को खण्ड 'घ' उद्धृत गर्दै सांसद राईले आफ्नो भाषा सुधार गर्ने र क्षमायाचना गर्ने कुरा राखेको जानकारी गराउँदै उनलाई पुनः आफ्नो कुरा राख्न अनुमति दिए ।
तर, पुनः बोल्ने मौका पाएका सांसद राईले आफ्नो व्यवहार सुधार्नुको सट्टा सभामुखको तीव्र आलोचना गरे । उनले, 'यस्तो गरिमामय सदनमा एउटा सदस्यले कुरा राखिरहेको बेलामा तपाईंले जुन व्यवहार गर्नु भयो नि तपाईंले ५ वर्षसम्म सभा चलाउनु हुँदैन, सभामुख महोदय । मैले बुझिसकेँ, मैले खुट्टी हेरिसकेँ । के कुरा भन्दै हुनुहुन्छ भनेर कुरा सुन्नु पर्यो कि परेन ?' भन्दै आक्रोश पोखे । तनावको स्थिति सिर्जना भएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरिदिए ।
१५ मिनेटका लागि स्थगित भएर पुनः सुरु भएको बैठकमा सांसद राईले फेरि आफ्नो कुरा राख्ने मौका पाए । यस पटक भने उनले संयमित हुँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्न र नियमावलीमा उल्लेख भएअनुसार प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग दोहोर्याए ।
उनले आफू आवेगमा आएको स्वीकार गर्दै भने, "मैले अघि प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग राख्न खोजेको थिएँ । भाषा मिलाउन खोज्दै थिएँ, आत्तिएको थिइनँ । कतिपय कुराहरू, म पनि आवेगमा नआएको भए हुन्थ्यो ।" उनले संवाद र सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफ्नो भनाइ टुङ्ग्याए ।
सांसद राईले आफ्नो भनाइ टुङ्ग्याए लगत्तै सभामुख अर्यालले यसअघि सांसद राईले बोलेका सम्पूर्ण शब्दहरू संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिए ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ ९:५१
