अर्जेन्टिना-इजिप्टको खेलमा गलत निर्णय भएको भन्दै फिफाका फेसबुक पोस्टमा ‘एङ्ग्री रियाक्ट’ को ओइरो
असार २४, २०८३ २२:१
काठमाडौं । अर्जेन्टिना र इजिप्टबिच सम्पन्न राउन्ड अफ १६ को खेलमा रेफ्रीको निर्णयलाई लिएर खेलप्रेमीले असन्तुष्टि व्यक्त गरेका छन् । रेफ्रीका केही निर्णय अर्जेन्टिनाको पक्षमा रहेको दाबी गर्दै फुटबल समर्थकले फिफाको आधिकारिक फेसबुक पेजका पोस्टहरूमा ‘एङ्ग्री रियाक्ट’ गर्दै विरोध जनाएका हुन् ।
उक्त खेलमा इजिप्टले सुरुवाती अग्रता लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै इजिप्टलाई पहिलो हाफमा १-० को अग्रता दिलाए । दोस्रो हाफपछि ६७ औँ मिनेटमा मोस्ताफा जिकोले गोल गरेपछि इजिप्टले २-० को बलियो अग्रता बनायो । खेलको ७९ औँ मिनेटमा अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले पहिलो गोल फर्काए भने त्यसको चार मिनेटपछि कप्तान लियोनल मेस्सीले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिना ३-२ ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गर्यो ।
तर, रेफ्रीका मुख्य दुई निर्णयलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । खेलको ५८औँ मिनेटमा इजिप्टका हैसेम हसनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् ।
त्यसैगरी, ९०+२ मिनेटमा अर्जेन्टिनाको पेनाल्टी बक्सभित्र एलेक्सिस म्याक एलिस्टेरले इजिप्टका हाम्दी फाथीको जर्सी तानेको स्पष्ट देखिए पनि रेफ्रीले सम्भावित पेनाल्टीको रिभ्यु नगरेको भन्दै प्रश्न उठाइएको छ । सोही मुभमा अर्जेन्टिनाले निर्णायक गोल गरेको थियो । उक्त निर्णयको विरोध गर्दा इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनसहित बेन्चका सदस्यलाई रेफ्रीले देखाएका थिए ।
यिनै निर्णयमा असन्तुष्ट फुटबल समर्थकहरूले फिफाको आधिकारिक फेसबुक पेजका पोस्टमा आक्रोश पोखिरहेका छन् । खेल सकिएलगत्तै अर्जेन्टिनाको जीतसम्बन्धी राखिएको पोस्टमा यो समाचार तयार पार्दासम्म लाइक इमोजी ३२ हजार, लभ इमोजी ४० हजार आउँदा दुई लाख ८४ हजार बढी एङ्ग्री रियाक्ट आएका छन् ।
खेलमा रेफ्री र फिफाको भूमिका निष्पक्ष नभएको आरोप लगाउँदै फिफाका अन्य पोस्टहरूमा समेत लगातार असन्तुष्टि व्यक्त भइरहेको छ ।
पछिल्लो पटक बुधबार राति ९:४५ मा फिफाले राखेको पोस्टमा समेत यो क्रम रोकिएको छैन । ‘एङ्ग्री रियाक्ट’ सँगै कमेन्टमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोखेका छन् ।

पछिल्लो अध्यावधिक: असार २४, २०८३ २२:१७
