close

२५० वर्षका लागि टाइम क्याप्सुलमा राखियो आईफोन १७ प्रो म्याक्स, तर भविष्यमा 'अनलक' नै नहुने सम्भावना

टेकपाना टेकपाना

साउन ३, २०८३ १०:६

२५० वर्षका लागि टाइम क्याप्सुलमा राखियो आईफोन १७ प्रो म्याक्स, तर भविष्यमा 'अनलक' नै नहुने सम्भावना

काठमाडौं । अमेरिका स्थापनाको २५०औं वर्षगाँठको अवसरमा गाडिएको एक ‘टाइम क्याप्सुल’ मा एप्पलको आईफोन १७ प्रो म्याक्स पनि समावेश गरिएको छ । यसलाई सन् २२७६ मा निकाल्नेगरी जमिनमुनि गाडिएको छ । तर अबकाे २५० वर्षपछि जमिनमुनिबाट निकाल्दा यो आईफोन चल्ने सम्भावना अत्यन्त न्यून रहेको विज्ञले बताएका छन् । 

उक्त फोनको ‘नोट्स’ एपमा भविष्यका पुस्ताका लागि केही ‘डिजिटल कलाकृति’ सुरक्षित गरी राखिएको छ । 'America250' लेखिएको सेतो रङको यस टाइम क्याप्सुलमा अमेरिकाका सबै ५० राज्यका भौतिक सामग्री, अभिलेखीय दस्तावेज र डिजिटल रेकर्ड संकलन गरिएका छन् ।

तर, फोर्ब्सको एउटा रिपोर्ट अनुसार भविष्यका मानिसका लागि यो आईफोन केवल एक मृत डिभाइस साबित हुने सम्भावना बढी छ । लिथियम-आयन ब्याट्री समयसँगै आफैं खिइँदै र बिग्रँदै जाने भएकाले यसको ब्याट्री नै मुख्य समस्या बन्नेछ । यसका साथै एप्पलको प्रतिबन्धात्मक नीति (जस्तै पुराना मोडललाई नयाँ सफ्टवेयर सपोर्ट नगर्ने) का कारण फोन सुरक्षित नै रहे पनि भविष्यमा यसलाई अनलक गर्न असम्भव जस्तै हुनेछ ।

२५० वर्षपछि मानव समुदायले अहिलेको जस्तै चार्जर, भित्ताका प्लग वा समान भोल्टेजको विद्युतीय ऊर्जा प्रयोग गर्नेछन् वा छैनन् भन्ने कुरा पनि अनिश्चित छ । त्यतिबेला एप्पलका सर्भर नै अस्तित्वमा रहनेछन् वा छैनन् भन्ने पनि अर्को मुख्य प्रश्न हो ।

यो टाइम क्याप्सुल फोर्ब्स र ‘अमेरिका२५०’ द्वारा संयुक्त रूपमा आयोजित ‘अमेरिका इनोभेट्स’ कार्यक्रमको सिलसिलामा तयार पारिएको हो । एप्पलले आफ्ना उत्पादनको आयु जानाजानी सीमित गर्ने रणनीति अपनाउने गरेको छ । त्यसैको सांकेतिक विरोध वा टिप्पणी स्वरूप यो फोन क्याप्सुलमा राखिएको हो कि भन्नेबारे स्पष्ट हुन सकेको छैन । 

प्रविधिलाई यसरी टाइम क्याप्सुलमा गाड्नु दीर्घकालीन संरक्षणका हिसाबले व्यावहारिक नभए पनि सांस्कृतिक ऐनाका रूपमा यसको ऐतिहासिक महत्त्व भने रहन सक्छ । दुई शताब्दीभन्दा बढी समय बित्नुअघि नै यसको हार्डवेयरले काम गर्न छाड्ने निश्चित भए पनि यसले अहिलेको समयको प्रतिनिधित्व गर्नेछ । आजको उत्कृष्ट प्रविधि मानिएको यो फोन २५० वर्षपछि जैविक रूपमा सड्न नसक्ने केवल प्लास्टिकको फोहोरमा परिणत हुन सक्छ ।

यो ९०० पाउन्ड (करिब ४०८ केजी) तौल भएको टाइम क्याप्सुलमा अमेरिकी सरकारका तीनवटै अंग, सबै ५० राज्य र क्षेत्रका तस्बिर, कागजात र अन्य ऐतिहासिक सामग्री राखिएका छन् । यसमा प्युर्टो रिकोको एउटा ‘स्टेनलेस स्टिल’ को क्रिस्चियन माला र सर्वोच्च अदालतका न्यायाधीशले हस्ताक्षर गरेको एउटा ‘पकेट संविधान’ पनि समावेश छ ।

विज्ञहरूका अनुसार भूमिगत पानी र अन्य प्राकृतिक कारणले गर्दा सूचना वा सामग्री संरक्षणका लागि टाइम क्याप्सुल प्रभावकारी माध्यम होइन । सन् २०१९ को एउटा अनुसन्धानमूलक लेखका अनुसार उत्खनन गरिएका ९९ प्रतिशत क्याप्सुल कि त नष्ट भइसकेका हुन्छन् वा तिनमा रहेका सामग्री काम नलाग्ने अवस्थामा फेला पर्छन् ।

‘पेलियोफ्युचर’ ब्लगका लेखक म्याट नोभाकले ‘मेन्टल फ्लस’सँग कुरा गर्दै भनेका छन्, “भविष्यका पुस्ताका लागि कुनै चिज सुरक्षित राख्ने सबैभन्दा खराब तरिका भनेकै त्यसलाई जमिनमुनि गाड्नु हो, तर हामी अझै पनि यही काम दोहोर्‍याइरहेका छौँ ।”

टाइम क्याप्सुलमा एप्पलको उत्पादन गाडिएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१३ मा, ३० वर्षअघि (सन् १९८३ मा) गाडिएको ‘स्टिभ जब्स टाइम क्याप्सुल’ फेला पारिएको थियो । त्यसमा एप्पलको माउस, ब्यालेन्टाइन बियरको ६ वटा क्यान र एउटा रुबिक्स क्युब सुरक्षित फेला परेका थिए ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १०:६