मण्डिखाटारमा डिजिटल नोम्याड र स्टार्टअप लक्षित ८० जना क्षमता भएको ‘को-वर्किङ स्पेस’ सञ्चालनमा
साउन ५, २०८३ ७:२०
काठमाडौं । सरकारले विदेशी कम्पनीमा आबद्ध भई नेपालमा बसेर काम गर्ने विदेशी नागरिकलाई लक्षित गरी ‘डिजिटल नोम्याड’ भिसा उपलब्ध गराउने तयारी गरिरहेका बेला निजी क्षेत्रले पनि यस्ता जनशक्ति तथा स्टार्टअपलाई लक्षित पूर्वाधार विस्तार गर्न थालेको छ । यसै क्रममा ‘वुल्फ अफिसेज’ ले काठमाडौंको मण्डिखाटारमा आफ्नो नयाँ ‘को-वर्किङ स्पेस' सञ्चालनमा ल्याएको छ ।
चार महिनाअघि मध्य बानेश्वरबाट सेवा सुरु गरेको यस कम्पनीले विशेषगरी स्टार्टअप, फ्रिल्यान्सर, रिमोट वर्कर र डिजिटल नोम्याडलाई ध्यानमा राख्दै मण्डिखाटारमा सेवा विस्तार गरेको हो । कम्पनीका एक सह-संस्थापकले भने, “सरकारले डिजिटल नोम्याडका लागि नेपालमा सहज वातावरण बनाउने नीति ल्याउन लागेपछि उनीहरूलाई लक्षित गरी कार्यस्थल उपलब्ध गराउने सोचका साथ हामीले ‘वुल्फ अफिसेज’ सुरु गरेका हौँ । पछि स्टार्टअप कम्पनी र फ्रिल्यान्सरहरूलाई पनि यस्तो अफिसको आवश्यकता देखिएपछि सोहीअनुसार सेवा विस्तार गर्यौँ ।”
उनका अनुसार वुल्फ अफिसेजले दैनिक, साप्ताहिक वा मासिक रूपमा कार्यालयका लागि स्थान भाडामा उपलब्ध गराउँछ । त्यसबाहेक फ्रिल्यान्सर र नोम्याडहरूका लागि काम गर्न ‘को-वर्किङ स्पेस’ समेत प्रदान गरिन्छ । यहाँ काम गर्ने वातावरणका अतिरिक्त उच्च गतिको इन्टरनेट, चिया, कफी लगायतका सुविधाहरू उपलब्ध छन् ।
यस्तै, वुल्फ अफिसेजमा बसेर काम गर्नेहरूले विभिन्न सफ्टवेयरको सब्स्क्रिप्सनमा विशेष छुट पाउने तथा विभिन्न क्याफे र होटलहरूमा सहुलियत पाउने गरी कम्पनीले व्यावसायिक संस्थाहरूसँग सम्झौता गरिरहेको जनाएको छ । यसबाट कम्पनीसँग आबद्ध व्यक्तिहरूले विभिन्न स्थानमा काम गर्दा थप सुविधा प्राप्त गर्नेछन् ।
मण्डिखाटारस्थित नयाँ शाखामा एकैपटक ६० देखि ८० जनासम्मले काम गर्न सक्ने क्षमता छ । जहाँ १५ जनाका लागि को-वर्किङ स्पेस र बाँकी निजी अफिसका लागि स्थान छुट्याइएको छ । बानेश्वर शाखामा भने ४० जनाको क्षमता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीहरूका लागि बैठक सञ्चालन गर्न मिटिङ रुमको समेत व्यवस्था गरिएको छ । ती सह-संस्थापकले भने, “मिटिङ रुम खाली भए/नभएको हेर्न र चाहिएको समयमा बुकिङ गर्न हामीले एउटा एप पनि बनाइरहेका छौँ ।” कम्पनीका अन्य सेवामा आबद्ध नभई मिटिङका लागि मात्र पनि रुम बुकिङ गर्न सकिने उनले बताए ।
भर्चुअल अफिसको सुविधा
कम्पनीले काठमाडौं बाहिर रहेका व्यावसायिक कम्पनीका लागि ‘भर्चुअल अफिस’को सुविधा पनि प्रदान गर्ने भएको छ । यस सेवाअन्तर्गत काठमाडौंमा ठेगाना आवश्यक पर्ने कम्पनीलाई वुल्फ अफिसेजले आफ्नो ठेगाना उपलब्ध गराउनेछ । सोही ठेगानामार्फत पत्राचार गर्न र पार्सल व्यवस्थापन गर्न सकिनेछ । निश्चित शुल्क तिरेर यो सेवा लिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा अन्य क्याफे, होटल वा वर्किङ स्पेस प्रदायकहरूका खाली स्थानलाई सूचीकृत गर्ने प्लेटफर्म बनाउने योजना पनि राखेको छ । सो प्लेटफर्ममार्फत प्रयोगकर्ताले आफ्नो पायक पर्ने स्थानमा सहजै वर्किङ स्पेस खोजेर काम गर्न सक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: साउन ५, २०८३ ७:२३
