close

डेटा माइग्रेसनले यातायात कार्यालयको सेवा प्रभावित, अत्यावश्यक नभए साउन ८ गतेपछि मात्र आउन आग्रह

टेकपाना टेकपाना

साउन ४, २०८३ १४:१९

डेटा माइग्रेसनले यातायात कार्यालयको सेवा प्रभावित, अत्यावश्यक नभए साउन ८ गतेपछि मात्र आउन आग्रह

काठमाडौं ।  यातायात व्यवस्था विभागको प्रणालीमा ‘डेटा माइग्रेसन’को प्राविधिक काम सुरु भएसँगै देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवा केही दिनका लागि प्रभावित हुने भएको छ । विभागले प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डेटाबेस स्थानान्तरणको काम अघि बढाएकाले अति आवश्यक अवस्थाबाहेक आगामी ८ साउनपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सेवाग्राहीलाई आग्रह गरेको हो ।

विभागका अनुसार डेटा माइग्रेसनका साथै नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारले तोकेका नयाँ करका दररेट प्रणालीमा प्रविष्टि गर्ने र त्यसलाई पुराना डेटासँग मिलान गर्ने काम पनि सँगसँगै भइरहेको छ । यी काम पूर्ण रूपमा सम्पन्न भई प्रणाली पूर्ववत् रूपमा सञ्चालन हुन करिब एक हप्ता लाग्ने विभागको अनुमान छ ।

प्रणाली स्तरोन्नति र तथ्याङ्क व्यवस्थापनको यो काम नसकिँदासम्म सेवा लिन केही दिन पर्खिनुपर्ने विभागले जनाएको छ । “उक्त कार्यहरू पूर्णरूपमा कार्यान्वयन हुन करिब १ हप्ता समय लाग्ने भएकाले अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि मिति २०८३।०४।०८ गते पश्चात् मात्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ,” विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसबाट पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी रहेको व्यहोरा अनुरोध छ ।”

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ १४:२८