close

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी गर्ने दुई पक्राउ

टेकपाना टेकपाना

साउन ५, २०८३ ९:२०

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी गर्ने दुई पक्राउ

 

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका व्यक्तिको नक्कली फेसबुक अकाउन्ट र मेसेन्जर आईडी बनाएर अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-१ का २० वर्षीय जस्मुदिन अन्सारी र पर्सा बहुदरमाई नगरपालिका-१ का २० वर्षीय विशाल पटेल रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-८ बाट शनिबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले वीरगञ्ज महानगरपालिका-१६ का ४९ वर्षीय शिव पुजन बैठाको घरमा डेरा बसी हाल बेलायतको लन्डनमा वैदेशिक रोजगारीमा रहेका रौतहटका एक व्यक्तिको तस्बिर प्रयोग गरी नक्कली फेसबुक अकाउन्ट र मेसेन्जर आईडी बनाएको खुलेको छ ।

अन्सारी र पटेलले उक्त नक्कली अकाउन्टमार्फत घरभेटी शिव पुजनलाई पीडितसँगै कुराकानी भइरहेको विश्वास दिलाएर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

यस घटनामा पक्राउ परेका दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ ९:२०