पारिवारिक विवाद उछालेर काभ्रेकी महिलालाई दुर्व्यवहार गर्ने युट्युबरहरूले माफी माग्दै हटाए भिडियो
साउन ८, २०८३ ११:३८
काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका एक वृद्ध पति र कम उमेरकी पत्नी बिचको पारिवारिक विवादलाई लिएर ‘अन्तर्वार्ता अभियान’ चलाएका युट्युब च्यानल तथा फेसबुक पेजका सञ्चालकहरूले सार्वजनिक रूपमा माफी मागेका छन् । प्रेस काउन्सिल नेपालबाट उक्त भिडिओ हटाउन निर्देशन आएको भन्दै उनीहरूले आफ्ना च्यालनबाट भिडिओहरू पनि हटाएका छन् । उनहरूले माफी माग्दै आगामी दिनमा पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
करिब दुई साता अघिदेखि काभ्रेको मण्डनदेउपुर-४ चैनपुरका ६४ वर्षीय चन्द्रबहादुर दर्जी र उनकी ३४ वर्षीय श्रीमती जुनु परियारबिचको व्यक्तिगत विवादलाई केही युट्युबर र फेसबुक पेज सञ्चालकहरूले भ्रामक र उत्तेजक ढङ्गले प्रस्तुत गरेका थिए । पीडितलाई मकैबारीमा दौडाउने, रुवाउने र महिलाको गोपनीयताको धज्जी उडाउँदै खिचिएका ती सामग्रीहरू ‘भ्युज र डलर’को खेतीका लागि सम्प्रेषण गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
यसरी राखिएको भिडिओले कानुनी र नैतिकतामा समेत प्रश्न खडा गरेको भन्दै टेकपानाले ‘पारिवारिक कलह उछाल्न झापा-सुनसरीबाट आएको युट्युबर जत्थाले लियो काभ्रेकी दलित महिलाको हुर्मत’ शीर्षकमा समाचार समेत सार्वजनिक गरेको थियो ।
यसरी भिडिओ बनाउने च्यानलहरू मध्येका एक सञ्चालक श्यामबहादुर भुजेलले बिहिबार (२३ जुलाई) मा आफ्नो फेसबुक अकाउन्टमा क्षमायाचनाको भिडिओ सार्वजनिक गर्दै उक्त घटनासँग सम्बन्धित सामग्रीहरू हटाएको जानकारी दिएका छन् । ‘उदयपुर अनलाइन’, ‘उदयपुर प्याराडाइज’ र ‘चुरे पर्वत अनलाइन’ जस्ता युट्युब च्यानलका साथै ‘श्यामबहादुर भुजेल’को फेसबुक पेजबाट उक्त सामग्री हटाएको उनले बताएका छन् । प्रेस काउन्सिलका अधिकारीहरूबाट प्राप्त सुझाव र निर्देशनपछि आफूले सबै सामग्री हटाएको उनले भिडिओमा बताएका हुन् ।
भुजेलले भनेका छन्, “हाम्रो सामाजिक सञ्जाल मार्फत प्रकाशित सामग्रीको संवेदनशीलतालाई लिएर उठेका प्रश्न तथा प्रेस काउन्सिलको सुझावप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त सामग्री सम्प्रेषण गर्नुको उद्देश्य कसैको मानमर्यादामा आँच पुर्याउने वा बदनाम गर्ने थिएन । तर यसबाट सम्बन्धित पक्षको भावनामा चोट पुगेको भए हामी हार्दिक क्षमायाचना गर्दछौं ।” उनले टिक बहादुर भुजेल र दीपिका भुजेलका अकाउन्टबाट समेत सामग्री हटाइसकेको जानकारी दिएका छन् ।
यस्तै, अर्का युट्युबर तथा ‘इटहरी न्युज’का सञ्चालक विक्रम लिम्बुले २३ जुलाईमा नै भिडिओ सार्वजनिक गर्दै घटनालाई ‘जनचासो’का रूपमा प्रस्तुत गर्न खोज्दा गल्ती भएको स्वीकार गरेका छन् । तीन मिनेट ५० सेकेन्ड लामो भिडिओ सार्वजनिक गर्दै उनले भनेका छन्, “कुनै व्यक्ति विशेषको चरित्रहत्या गर्ने हाम्रो उद्देश्य थिएन । प्रेस काउन्सिलको सुझावलाई सम्मान गर्दै हामीले फेसबुक र युट्युबबाट सामग्री हटाएका छौँ । आगामी दिनमा तथ्यको सत्यापन र सन्तुलित प्रस्तुतीकरणमा विशेष ध्यान दिनेछौं ।”
त्यसैगरी, सप्तकोशी अनलाइनका बिक लिम्बुले पनि बिहिबार नै आफ्नो युट्युब च्यानलमा सर्ट भिडिओ सार्वजनिक गर्दै माफी मागेका छन् । उनले ‘सप्तकोशी अनलाइन’को युट्युब र फेसबुक पेजका साथै ‘बादल लिम्बु’, ‘कोपिला मगर’ नामको फेसबुक र आफ्नो व्यक्तिगत टिकटक आईडीबाट उक्त विवादास्पद सामग्रीहरू हटाइएको जानकारी दिएका हुन् । उनले पत्रकार आचारसंहिता र प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै अझ जिम्मेवार र संवेदनशील रूपमा प्रस्तुत हुने प्रतिबद्धता समेत भिडिओमा व्यक्त गरेका छन् ।
माफी मागेका सञ्चालकहरूले आफ्नो नियन्त्रणमा रहेका च्यानल र अकाउन्टबाट भिडिओ हटाएपनि कतिपय प्रयोगकर्ताले पहिले नै ती सामग्री डाउनलोड गरिसकेको बताएका छन् । अन्य व्यक्तिले पुनः सम्प्रेषण गरेका ती भिडिओमा आफ्नो च्यानलको लोगो वा नम्बर देखिए पनि त्यसमा आफ्नो कुनै नियन्त्रण र संलग्नता नरहेको उनीहरूको भनाइ छ ।
भिडिओ प्रसारण गर्नेहरूले माफी मागेसँगै प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीहरूलाई स्वनियमनमा बस्न आग्रह गरेका छन् । युट्युबरहरूले माफी मागेका स्क्रिनशट र लिङ्कहरू सार्वजनिक गर्दै उनले लेखेका छन्, “सञ्चारकर्मीलाई अरूले नियमन गर्नुपर्ने अवस्था नै नआओस्। सञ्चारकर्मीहरू आफैँ सचेत, उत्तरदायी र स्वनियमनमा बस्न सके बाह्य नियमनको आवश्यकता स्वतः घट्छ।"”अध्यक्ष श्रेष्ठले स्वतन्त्रता र जिम्मेवारी सँगसँगै हिँड्दा मात्र पत्रकारिताप्रति जनविश्वास बलियो हुने र त्यसले सञ्चारकर्मी, सञ्चार संस्था र समाज सबैको भलो हुने उल्लेख गरेका छन् ।
पछिल्लो अध्यावधिक: साउन ८, २०८३ ११:४३
