काठमाडौं । टिकटकले मनसुनी बाढीको समयमा नेपाली प्रयोगकर्ताहरूलाई आधिकारिक र अद्यावधिक जानकारी प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले यस वर्ष पनि ‘सर्च गाइड’ सार्वजनिक गरेको छ । प्राकृतिक विपद्का बेला आफ्नो प्लेटफर्ममा तथ्यपरक सचेतनालाई सुदृढ पार्ने र गलत सूचनाको प्रसारलाई सीमित गर्ने योजनासहित कम्पनीले यो पहललाई निरन्तरता दिएको हो ।
टिकटकमा बाढीसँग सम्बन्धित सामग्रीहरू खोज्ने प्रयोगकर्ताले एउटा ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूमार्फत जानकारी प्रमाणित गर्न निर्देशित गर्नेछ । यो गाइडले प्रयोगकर्तालाई देशको राष्ट्रिय विपद् सूचना पोर्टल ‘विपद्’ (BIPAD), टिकटकको सेफ्टी सेन्टरका स्रोतहरू र टिकटकको ‘ट्र्याजिक इभेन्ट सपोर्ट गाइड’ सँग सिधै जोड्ने बताइएको छ ।
उक्त सपोर्ट गाइडले दुःखद घटनाहरूबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने कम्पनीको भनाइ छ ।
“यस गाइडले प्राकृतिक विपद् र व्यक्तिगत क्षति लगायतका दुःखद घटनाहरूमा के-कस्ता कुराहरू समावेश हुन्छन् भन्ने कुराको रूपरेखा प्रस्तुत गर्दछ,” कम्पनीले विज्ञप्तिमा भनेको छ, “यसले मानसिक स्वास्थ्य सहयोग प्राप्त गर्ने र यस्ता घटनासँग सम्बन्धित सामग्रीहरू जिम्मेवारीपूर्वक शेयर गर्ने वा रिपोर्ट गर्ने बारेमा समेत विस्तृत जानकारी उपलब्ध गराउँछ ।”
यो गाइड टिकटकको सेफ्टी सेन्टर (www.tiktok.com/safety) मा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ १५:२
