close

यस्तो बन्यो कोरोना ट्रेसिङ गर्ने सरकारी एप, सार्वजनिक गर्ने तयारीमा प्रधानमन्त्री

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १७:१५

यस्तो बन्यो कोरोना ट्रेसिङ गर्ने सरकारी एप, सार्वजनिक गर्ने तयारीमा प्रधानमन्त्री

काठमाडौं । सरकारले कोरोनाभाइरस ट्रेसिङ गर्न छुट्टै एप तयार पारेको छ । लकडाउनका बावजूद मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न कोभिड एनपी एप नामक तयार पारिएको हो ।

यस अघि २५ चैतमा राष्ट्रका नाममा संवोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका सम्भावित संक्रमितको पहिचान गर्न ट्रेसिङ एप प्रयोगमा ल्याउने घोषणा गरेका थिए ।

सम्भावित सङ्क्रमितको पहिचान तथा जानकारीको अभावमा कोरोनाबारे यकिन तथ्यांङ्क आउन नसकेको आशंका गरिदै आएको छ । प्रधानमन्त्री ओलीका आईटी विज्ञ अस्गर अलीले ट्रेसिङ एप तयार गरेर गूगल प्ले स्टोरमा राख्ने काम समेत सम्पन्न भइसकेको जानकारी दिए ।

नयाँ एप सार्वजनिक भएको अवस्थामा पनि कोरोनाभाइरसको महामारीलाई नै लक्षित गर्दै स्वास्थ्य मन्त्रालय मातहतको हाम्रो स्वास्थ्य एप समानान्तर रुपमा प्रयोगमा रहने बताइएको छ । समन्वयको अभावमा कोरोनासम्बन्धी दुबै एप इन्टिग्रेट गर्न नसकिएको कोभिडएनपी एप निर्माणमा संलग्न स्रोतको भनाई छ ।

कोरोना ट्रेसिङ गर्न सार्वजनिक हुने तयारीका क्रममा रहेको एप समेत डाउनलोड गर्न स्वेच्छिक हुने प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले जानकारी दिए । विभिन्न डेभलपरहरुको स्वयम्‌सेवी भूमिकामा तयार पारिएको यो एप परीक्षणकै क्रममा छ ।

आईटी विज्ञ अलीले भने, ‘परीक्षणसँगसँगै एपलाई थप परिस्कृत गरी केही दिनमै प्रधानमन्त्री ज्यूबाट नै औपचारिक रुपमा सार्वजनिक गर्ने योजना छ।’ एपमा कोरोना सम्बन्धी सम्पूर्ण जानकारीहर समावेश गर्ने सरकारको योजना छ । मोबाइल एपसँगै वेब एप्लिकेसन समेत सार्वजनिक हुने बताइएको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३