close

व्यवस्थित अनलाइन परीक्षाका लागि केके चाहिन्छ ?

टेकपाना टेकपाना

साउन ३२, २०७८ १६:२६

व्यवस्थित अनलाइन परीक्षाका लागि केके चाहिन्छ ?

यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास पछिल्लो समय नेपालका विभिन्न शैक्षिक संस्थाहरूले अनलाइन अर्थात वैकल्पिक माध्यमबाट परीक्षा गर्नु पर्छ भन्ने माग तपाईं हामीले सामाजिक सञ्जाल तथा समाचारहरूमा देख्दै अनि सुन्दै आएका छौँ । र धेरैको मनमा अनलाइन परीक्षा गर्न के गर्नु पर्छ अथवा के-के भयो भने अनलाइन परीक्षा गर्न सकिन्छ भन्ने जिज्ञासा पनि रहेको पाइन्छ ।

त्यसैले व्यवस्थित र वैधानिक तवरले अनलाइन परीक्षा सञ्चालन गर्न के-के कुराको आवश्यकता पर्छ भन्ने विषयमा केन्द्रित रहेर यो लेख तयार पारिएको हो । हरेक शैक्षिक संस्थाहरूले आफ्ना विभिन्न शैक्षिक कार्यक्रमहरूसँग सम्बन्धित पठनपाठन तथा शैक्षिक क्रियाकलापहरू सेमेस्टर वा वार्षिक रुपमा पुरा गरिसकेपछि विद्यार्थीहरूले प्राप्त गरेको सिकाइ र ज्ञानको मापन गर्नका लागि जाँच लिने गर्दछन् ।

यसरी प्राप्त नतिजालाई संसारभर मान्यता दिइन्छ। तपाईं हामीलाई थाहा छ कि त्यस्तो जाँचमा हरेक उत्तर आफ्नो स्वविवेकले लेख्नुपर्ने हुन्छ र कुनै पनि प्रकारका चोरी अर्थात चिटिङसँग सम्बन्धित क्रियाकलापहरू बर्जित अर्थात निषेध गरिएका हुन्छन् यदि त्यसो गरिएको पाइएमा तत्कालै रोक्ने, सचेत गराउने वा आवश्यक कारवाही गरिन्छ।

जसले परीक्षाको मर्यादा र विश्वसनीयता कायम राख्छ । तर यस्तो विषय भौतिक रुपमा भइरहेका परीक्षाहरूको हकमा लागु हुन्छ । अहिलेको कोरोना महामारीको अवस्था र यसका विरुद्धको खोप सबै परीक्षार्थीहरूले पाइनसकेको अवस्थामा भौतिक उपस्थितिमा लिइने परीक्षा गर्न नहुने र अनलाइन वा वैकल्पिक माध्यमबाट हुनुपर्छ भन्ने माग उठ्न थालेको छ ।

र अर्कोतिर विभिन्न शैक्षिक संस्थाहरूले विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, वैधानिकता तथा विद्यार्थीको भविष्यलाई समेत मध्यनजर गर्दै उक्त माग पुरा गर्न नसकिने भन्दै आएका छन् ।

अब प्रश्न उठ्छ, व्यवस्थित र वैधानिक तवरमा अनलाइन परीक्षा सञ्चालन गर्नका लागि के के कुराको आवश्यकता पर्छ त ? बुँदागत रुपमा भन्नु पर्दा अनलाइन परीक्षा सञ्चालन गर्न हामीलाई मुख्यतः तीन ओटा पक्षहरूमा ध्यान दिनुपर्ने हुन्छ ।

उपयुक्त प्रविधि

उपयुक्त प्रविधिलाई विस्तृतमा बुझ्नु पर्दा यो एउटा यस्तो वातावरण हो, जहाँ सम्बन्धित निकाय वा शैक्षिक संस्थाले प्रश्नहरू सोध्ने र विद्यार्थीले उत्तर लेख्ने परिस्थितिको रुपमा बुझ्नु पर्छ। यो सिस्टममा विभिन्न फिचरहरू हुनु पर्छ ।

जस्तै विद्यार्थीलाई उपलब्ध गराइएको युजरनेम र पासवर्डबाट सिस्टममा इन्ट्री गर्न मिल्ने र लगइन गरिसकेपछि उक्त ल्याप्टप वा कम्प्युटरमा अन्य कुनै फाइल, ब्राउजर वा ट्याब खोल्न नमिल्ने गरी लक हुनुपर्छ । अनलाइन परीक्षा सुरु भइसकेपछि विद्यार्थीले उक्त सिस्टममै अंग्रेजीमा उत्तर टाइप गरी तोकिएको समयभित्र पेश गर्ने सुविधा हुनुपर्छ ।

विद्यार्थीले सम्बन्धित विषयको जाँच अवधिभर आफू र वरपरको वातावरण देखिने गरी भिडिओ अन गर्नुपर्ने हुन्छ र सिस्टम आफैँले विद्यार्थीको अनुहार तथा शरिरीक गतिविधि आर्टिफ़िसियल इण्टिलिजेन्स (एआई) प्रयोग गरी मनिटरिङ गर्नुपर्ने हुन्छ । जसमार्फत कुनै विद्यार्थीले चिटिङ गरिरहेको छ वा छैन भनेर पत्ता लगाउने र सोही अनुसार सिस्टम चालु राख्ने वा अटोमेटिक बन्द गर्ने लगायतका फिचर हुनुपर्छ ।

विद्यार्थीले लेखेको उत्तर बौद्धिक चोरी जस्तै इन्टरनेटबाट वा इन्टरनेटमा भएका सामग्रीहरूबाट चोरिएको हो वा आफैँले लेखेको हो भन्ने बारे चेकजाँच गर्नका लागि उक्त सिस्टममा टर्नइटइन जस्ता प्लेजेरिजम (बौद्धिक चोरी) चेक गर्ने सफ़्टवेयर प्रयोग गरिएको हुनुपर्छ । र यति हुँदाहुँदै पनि यस्तो सिस्टमका केही सीमितता पनि हुन्छन् ।

जस्तै नेपाली भाषामा लेखिएका उत्तर अहिलेको अवस्थामा विश्वभर मान्यता प्राप्त एवम् चल्तिका प्लेजेरिजम सफ़्टवयरले चेक गर्न सक्दैनन् । अर्को कुरा यदि कुनै नोट्स वा पुस्तकबाट चोरी गरिएको रहेछ, जुन इन्टरनेटमा छैन भने पनि यसले पत्ता लगाउन सक्दैन ।

तर अन्य अवस्थामा धेरै हद सम्म यसले नियन्त्रण गर्न सक्छ । हातले लेखेर स्क्यान गरी अपलोड गरेका उत्तरपुस्तिकाको हकमा पनि यो सिस्टमले काम गर्दैन ।

भरपर्दो इन्टरनेट कनेक्टिभिटी

उपयुक्त प्रविधिपछि अनलाइन परीक्षाका लागि आवश्यक पर्ने अर्को महत्वपूर्ण कुरा भनेको हाई स्पिड इन्टरनेट कनेक्टिभिटी हो । भर्खरै उल्लेख गरिएको प्रविधि र सिस्टम प्रयोग गर्नका लागि प्रत्येक विद्यार्थीसँग उपयुक्त क्षमताको इन्टरनेट सुविधा हुनुपर्छ । इन्टरनेट र विद्युती आपूर्ति अवरुद्ध हुनसक्ने अवस्थालाई समेत यसमा विचार गर्नुपर्ने हुन्छ ।

यदि यो सबै सिस्टम छ, तर विद्यार्थी हाई स्पिड र भरपर्दो इन्टरनेट कनेक्टिभिटीको पहुँचमा छैनन् भने उक्त सिस्टम चलाउन, भिडियो स्ट्रिमिङ गर्न र सहज तरिकाले अनलाइन परीक्षामा सहभागी हुन सक्दैनन् । जसले गर्दा सिस्टम आफैँ डिसेबल हुने वा अफ हुनसक्ने जोखिम रहन्छ ।

सीप र साधन

तेस्रो तथा अन्तिम, तर नभई नहुने अर्को कुरा भनेको सीप र साधन हो । मानौं यसअघि उल्लेख गरिएको प्रविधि र इन्टरनेट क्षमता त उपलब्ध छ । तर यो सिस्टममा प्रत्यक्ष सरोकार राख्ने विद्यार्थीहरूसँग उपयुक्त डिभाइस जस्तै ल्याप्टप, कम्प्युटर, ट्याब अथवा अन्य आवश्यक उपकरण छैनन् भने अनलाइन परीक्षामा सहभागी हुन गाह्रो पर्नसक्छ ।

त्यस्तै उक्त सिस्टम चलाउनसक्ने ज्ञान-सीप र कम्प्युटर सम्बन्धी आधारभूत सीप जस्तै टाइपिङ गर्न सक्ने क्षमता, कम्प्युटरको आधारभूत ज्ञान आदि हुनुपर्छ । जसका लागि उपयुक्त अनि प्रयाप्त तालिम र अभ्यासको समेत आवश्यकता पर्दछ ।

यसरी यी तीन ओटै पक्षहरूको तालमेल र सुनिश्चितता भए पश्चात मात्रै अनलाइन परीक्षालाई धेरै हदसम्म व्यवस्थित र नियन्त्रण गर्न सकिन्छ । विकसित राष्ट्रहरूले तथा प्रतिष्ठित शैक्षिक संस्थाहरूले यस किसिमको अभ्यास र प्रयासबाट आवश्यकता अनुसार अनलाइन परीक्षा लिने गरेका हुन्छन् ।

लेखकले यसै समग्रीमाथि केन्द्रीत रहेर तयार पारेको जानकारीमूलक भिडिओ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१