close

पब्जी मोबाइल र पब्जी न्यू स्टेटमा के छ फरक ?

गणेश सुवेदी गणेश सुवेदी

फागुन २४, २०७८ १५:३९

पब्जी मोबाइल र पब्जी न्यू स्टेटमा के छ फरक ?

काठमाडौं । अहिले मोबाइलका लागि धेरै ब्याटल रोयल गेम आइसकेका छन् । पब्जी, फ्री फायर, सीओडी यसका केही उदाहरण हुन् । ब्याटल रोयल गेममध्ये पब्जी मोबाइल सबैभन्दा चलेको गेम हो ।

२०१८ मा यो गेम आएपछि मोबाइल गेमिङ बजारमा तहल्का नै मच्चियो । बेलाबखत गेममा आइरहने अपडेटले यसलाई उत्कृष्ट पारेको त छ नै, त्यसमा पनि झनै अहिले आएको पब्जीको भविष्य केन्द्रित गेम पब्जी न्यू स्टेटले थप उचाइ दिएको छ ।

पब्जी न्यू स्टेट पब्जीको नयाँ भर्जन हो ,जसलाई पब्जीको २०५१ को भविष्य भनिएको छ । पब्जी न्यू स्टेट र पब्जी मोबाइल दुवै कम्पनीका गेम हुन् । यी दुवैमा केही समानता र केही भिन्नता छन् ।

११ नोभेम्बर, २०२१ मा प्ले स्टोरमा आएको यस गेमलाई अहिलेसम्म एक करोडभन्दा धेरैले डाउनलोड गरिसकेका छन् । अब कुरा गरौं पब्जी मोबाइलभन्दा पब्जी न्यू स्टेट कसरी फरक छ त ?

१. ग्राफिक्सः

पब्जी न्यू स्टेटको ग्राफिक्स धेरै नै राम्रो छ ,जसले तपाईंहरुलाई पब्जी पीसी खेलेको जस्तो अनुभव दिनेछ । प्लेनबाट उत्रँदा देखिने म्यापका दृश्यले यसलाई झनै उत्कृष्ट बनाउँछ ।

पब्जी न्यू स्टेटको म्याप  पब्जी मोबाइलको भन्दा थोरै पहेँलो र केही अँध्यारो देखिन्छ । यसका घरहरु धेरै नै राम्रा छन् । साना साना घरलाई गाडीले हान्दा भत्किन्छन्, जुन चाँहि हामीले पब्जी मोबाइलमा देख्न पाउँदैनौँ ।

२. यथार्थमा आधारित:

पब्जी न्यू स्टेट पब्जी मोबाइलभन्दा धेरै यथार्थमा आधारित छ । गाडीले आफ्नो साथीलाई ठोक्दा मर्नु ,ग्रेनाइड फाल्दा साथी मर्नुले यसलाई झनै ‘रियलिस्टिक’ बनाउँछ ।

पानीभित्र जाँदा हावाको फोका देखिनु, हेल्मेट फोड्दा टुक्क्राटुक्क्रा भएर झर्नु र ग्रेवयार्ड जाँदा काग उड्नुले यसलाई पब्जी माेबाइलभन्दा फरक बनाउँछ ।

पब्जी न्यू स्टेटमा ग्रेनाइड तथा मोलिको एनिमेसन पनि फरक छ । यसमा  प्यारासुटबाट उत्रँदा प्यारासुट भुँइमै देखिने एनिमेसन झनै गज्जबको छ ।

३. गाडीहरुः

पब्जी मोबाइल र पब्जी न्यू स्टेटमा गाडी उस्तै छन् । तर पनि पब्जी न्यू स्टेटका गाडी अत्याधुनिक जस्ता देखिन्छन् । यसमा इलेक्ट्रिक सँगसँगै इन्धनबाट चल्ने गाडीहरु छन् ।

गाडी चड्न लाग्दा ढोका खोलिने एनिमेसनले यसलाई झनै रियलिस्टिक बनाउँछ । गाडी कन्ट्रोलकाे कुरा गर्दा पनि पब्जी न्यू स्टेटमा फरक अनुभव पाउन सकिन्छ ।

४. छुट्टै म्याप र मोडः

पब्जी न्यू स्टेटमा पब्जी माेबाइलको भन्दा केही कम म्याप रहेका छन् । यसमा ट्रोय, इर्याङ्गल २०५१ जस्ता म्यापको साथसाथै एरेना, ट्रेनिङ ग्राउन्ड जस्ता मोड छन् ।

पब्जी मोबाइलको कुरा गर्दा एरेना, ट्रेनिङ, टिम डेथम्याच, गन गेम, डोमिनेसनजस्ता गेम मोड रहेका छन् । साथै यसमा इर्याङ्गल लिभिक भिकेन्डी कारकिन र सनहोक जस्ता म्याप छन् ।

५. आवश्यक सिस्टमः

पब्जी मोबाइल खेल्न तपाईंको फाेनमा कम्तिमा २ जीबी र्‍याम र ३ जीबी मेमोरी हुनुपर्छ भने पब्जी न्यू स्टेटका लागि कम्तिमा २.५ जीबी र्‍याम र ३ जीबी मेमोरी आवश्यक पर्छ ।

यदि तपाईंसँग ४ जीबी भन्दा बढी र्‍याम भएको मोबाइल छ भने यी दुवै गेम सजिलै चल्छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२