close

नेपालमा किन छन् उस्तै किसिमका स्टार्टअप ?

किरण तिम्सिना किरण तिम्सिना

साउन २, २०७९ ११:४

नेपालमा किन छन् उस्तै किसिमका स्टार्टअप ?

नेपालमा उस्तै नाम वा उही तरिकाको सेवा उपलब्ध गराउने स्टार्टअप धेरै छन् । कुनै एउटा व्यापारले राम्रो व्यवसाय गरेकाे छ भने मानिसहरू त्यही वा त्यस्तै किसिमका कामप्रति आकर्षित भएर सुरु गर्न थाल्छन् ।

अहिले नामको अगाडि वा पछाडि सेवा, माण्डौं, हाम्रो जस्ता थप्यो भने स्टार्टअप सुरु भयो भन्ने विचार धेरैले राख्छन् । सेवा पनि उही प्रकृतिको बढ्दो छ । एउटाले जस्तो काम गर्‍यो, अर्को पनि त्यही काम गर्ने परिपाटी धेरै छ ।

कतिपय कम्पनीले सुरुवातमा नै युनिक नाम राखे, जस्तै; फुडमान्डु, ईसेवा, हाम्रो पात्रो । यी कम्पनीहरू आफ्नो समयका नवीनतम सोच भएका नयाँ कम्पनी हुन् । उनीहरूको समयमा त्यो नाम र काम क्रियटिभ नै थियो ।

नामलाई त्यसरी राख्नुपर्छ, जसले कम्पनीले के गर्छ भन्ने कुरा खुलस्त पार्न सकोस् । यदि नामबाट कम्पनीले के गर्छ भन्ने भाव प्रष्ट भयो भने मार्केटिङ नामबाट नै हुन्छ ।

उदाहरणका लागि धेरै नामहरू छन् । जस्तै; मेरै कम्पनीको नाम ‘अर्बान गर्ल’ हो, जसको छोटो रूप यूजी हुन्छ । अर्बान गर्लको नामबाट यो कस्तो कम्पनी हो वा के काम गर्छ भन्ने कुरा धेरैलाई अनुमान लगाउन गाह्रो नै हन्छ । तर, हामीले यूजी केक्सको नामबाट सामान बिक्री गर्छौं ।

यूजी केक्स भन्ने बित्तिकै यो कम्पनी केकसँग सम्बन्धित छ भन्ने कुरा खुलस्त हुन्छ । प्रायः मानिसहरूलाई नामबाटै धेरै कुरा थाहा भयो । यो नाममा कुनै क्रियटिभिटी छैन । मानिसहरूलाई नाम बुझ्न सजिलो भयो भने कम्पनीको ब्रान्डिङ आफै हुँदै जान्छ ।

अर्कोतर्फ फेरि नाममात्र सबै कुरा होइन । कम्पनीले कस्तो सेवा दिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । उनीहरूले गरेको काममा हाम्रो सम्पूर्ण उद्योगमा कत्तिको परिवर्तन भइरहेको छ भन्ने कुराले अर्थ राख्छ ।

एउटा कम्पनी आफैँ एक्लै अगाडि बढ्न सक्ने होइन । उनीहरूलाई सपोर्टिङ कम्पनीहरू चाहिन्छन् । सपोर्टिङ इन्डस्ट्रीले गर्दा सबैलाई सजिलो भइरहेको छ । एउटा चेन निर्माण भएको हुन्छ । हामी प्रायः नाममा पनि गइरहेका हुन्छौं ।

लोगो आकर्षक बनाउन खोज्छौं । हामीले आफूले सोचेका विचार कतै खोज्यौं भने त्यो प्रायः अगाडि नै आइसकेको हुन्छ । धेरैले नाम, लोगो वा काम मिल्यो भने पनि मजाक उडाएको वा कपी गरेको ट्याग लगाइदिने परिपाटी छ ।

प्रायः मानिसहरूलाई आफ्नो मनमा आएको विचार वा व्यवसायको आइडिया खत्रै लाग्छ । त्यो किन बजारमा आएको छैन भन्ने लागेको हुन्छ । यदि उनीहरूले गर्न सुरु गरे भने किन नआएको रहेछ भन्ने बुझ्छन् ।

खोज तथा अनुसन्धान गरेर काम गर्न निकै महँगो पर्न जान्छ । पहिले कुनै पनि काम गरियो भने सफल हुने नहुने निश्चित हुँदैन । यदि केही गरी असफल भयो भने लगानी डुब्छ ।

त्यसैले पनि मानिसहरू पहिले बजारमा राम्रोसँग चलिरहेको कन्सेप्टको व्यापार गर्न खोज्छन् । त्यसरी रिसर्च गरेर ब्यापार गर्न महँगो पर्छ । मानौं कसैले लाखौं, करोडौं खर्च गरेर रिसर्च गर्‍यो रे । त्यसपछि व्यापार कसरी गर्ने ? किनभने रिसर्च गर्दा त धेरै खर्च भइसकेको छ ।

त्यस्तै ल मानौं अनुसन्धान गरेर व्यापार गर्न लागियो रे, त्यसमा पनि निर्माण खर्च हुन्छ । बजार लग्ने खर्च हुन्छ, स्टकमा रह्याे भने त्यसको छुट्टै खर्च हुन्छ ।

नेपालमा रिसर्चमा खर्च गर्ने र जुन कम्पनी नाफामा जान्छ भन्ने निश्चित छैन । त्यस्तो कम्पनीमा लगानी गर्ने चलन नै छैन । पैसा भएको मान्छेले त्यस्तो कुरामा लगानी गर्ने जोखिम लिँदैन भने विचारमात्र भएको मान्छेले कसरी अगाडि बढाउन सक्छ ।

किनभने आन्टरप्रेनियर भनेको सुरुवातमा पैसा नभएको मान्छे हो । पैसा नभएको मान्छेले त्यस्तो रिसर्चमा कसरी खर्च गर्न सक्छ ? जस्तो कसैले विद्युतिय गाडी बनाउने योजना बनायो रे । जसमा कसरी काम गर्ने भन्ने कुराको योजना बनाउन नै अर्बाैं रुपैयाँ लाग्छ ।

पैसा त्यतिका खर्च भइसक्यो। तर गाडी बनेको छैन । त्यसपछि लगानीकर्ताले कति गाडी बेचिस् भनेर सोध्छ । अब सबै पैसा योजना बनाउँदै सकेको कम्पनीले कति गाडी बेचेको छ भन्ने ? अब त्यो गाडीको योजना बनाउने कम्पनीको भ्यालु कति त ?

लगानीकर्ताले, उत्पादनकर्ताले वर्षमा कति सामान बेच्यो, त्यसको केही गुणा बढी भ्यालु हुनुपर्छ भन्ने हुन्छ । उसले अब एउटा पनि गाडी बेचेको छैन भने उसको भ्यालु त जिरो हुने भयो ।

गाडी कस्तो बनाउने, कसरी बनाउने, त्यसको डिजाइन कस्तो, मार्केटमा कसरी लिने, कसरी आकर्षक बनाउने भन्ने कुरामा त्यतिका खर्च हुँदा कम्पनीको भ्यालु जिरो हुन्छ । उसँग आईपी (इन्टेलेक्चुअल प्रोपर्टी) मात्र हुन्छ ।

यही कुराले गर्दा नेपाली आन्टरप्रेनियरले कम्पनीको ‘राइट भ्यालुएसन’ पाउँदैन । नेपालको सन्दर्भमा इन्टेलेक्चुअल पार्टमा भ्यालुएसन हुँदै हुँदैन । त्यसको उचित भ्यालुएसन पाउनका लागि विदेशी लगानीकर्ता सहजै नेपाल आउन पाउनुपर्‍याे ।

हाम्रो नीतिले गर्दा वैदेशिक लगानीकर्ता नेपाल आउनै मान्दैनन् । जो आएका थिए, उनीहरूले पनि फिर्ता लगिसकेको अवस्था छ । बाँकी रहे नेपाली लगानीकर्ता ।

नेपाली लगानीकर्तालाई पनि के सजिलो छ भने बैंकमा राख्यो भने ११ प्रतिशत ब्याज आउँछ । जग्गामा हाल्यो भने त्योभन्दा धेरै आउँछ ।

विश्वका कतिपय बैंकमा पैसा राख्दा ब्याज नेगेटिभमा जान्छ । भन्नुको अर्थ, त्यो देशका बैंकले पैसा जम्मा गरिदिएबापत उनीहरूबाट पैसा लिने गर्छ । कतिपय देशमा ब्याज जिरो हुन्छ ।

कतिपय देशमा एक प्रतिशतभन्दा पनि कम ब्याज रहेको छ । त्यो देशको मान्छेले बैंकमा पैसा राख्दैन । त्यस्तो देशको मान्छेले लगानी गर्ने बाटो खोजिरहेको हुन्छ । त्यस्तो मान्छेलाई हाम्रो नीतिले यता आउने बाटो बन्द गरिदिएको छ ।

यताको मान्छेलाई त लगानी नगरे पनि भएको छ । जग्गा किने पनि भयो, बैंकमा राखे पनि भयो । त्यो हिसाबले हेर्दा यता रिसर्च एण्ड डेभलपमेन्टमा मैंले नेपालमा केही देखेको छैन ।

त्यसैले मान्छे कुनै पनि सामान किनेर बेच्न खोज्छ । यसो गर्दा बिक्री नै भएन भने पनि त्यति घाटा हुँदैन । जति आफैँले निर्माण गरेर बिक्री गर्दा घाटा हुन्छ । त्यसैले पनि जे काम भइरहेको छ, त्यही काममा राम्रो अवसर देखेर मान्छे त्यही गर्न खोज्छ । नेपालमा विस्तारै नयाँ स्टार्टअप उदाउँदै छन् ।

विस्तारै आर एण्ड डिमा पनि लगानी हुन थाल्छ होला । तर, जबसम्म गभरमेन्ट ग्रान्ट आउँदैन र वैदेशिक लगानीकर्ताले लगानी गर्न चाहँदैन, तबसम्म रिसर्चमा धेरै खर्च गरेर हामीलाई अर्थ पनि लाग्दैन ।

चीनमा रिसर्च गरेर बनेको कुराले हामीलाई फाइदा गर्छ भने हामी किन आफैँ रिसर्च गर्ने भन्ने कुरा आउँछ ।

अवसर हुँदैमा त्यो अवसरलाई एक्सप्लोइट गर्न सकिँदैन । नेपालमा केही पनि भएको छैन । भन्नुको अर्थ यहाँ थुप्रै अवसरहरू छन् । तर, अवसर छन् भन्ने थ्यौरीमा मात्र भएर हुँदैन । प्रयाक्टिक पनि हुनुपर्ने हुन्छ ।

नेपालमा अहिले डलर रिजर्भ सकिँदैछ । सरकार विदेशमा बस्ने नेपालीलाई डलर सहयोग गर्न भन्छ । त्यसको सट्टा देशमा नै डलर भित्राउने माहोल बनायो भने देशलाई धेरै सहयोग हुन्छ ।

नेपालमा विदेशी डलर ल्याउन नै गाह्रो छ । अनावश्यक करको भार उद्यमीकाे टाउकोमा पर्छ । नीति बनाएर विदेशी लगानी भित्राउन सक्यो भने नेपालबाट त्यो परिपाटी विस्तारै कम गर्दै लग्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३