close

त्रिभुवन विश्वविद्यालयमा एडुरोमको लोकल सर्भर स्थापना

टेकपाना टेकपाना

चैत २४, २०७९ ९:१४

त्रिभुवन विश्वविद्यालयमा एडुरोमको लोकल सर्भर स्थापना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा अवस्थित आईटी इनोभेसन सेन्टरमा एडुरोम (eduroam) को लोकल सर्भर सञ्चालनमा आएको छ । नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनरेन) को प्राविधिक सहयोगमा बिहीबार सो सर्भर जडान भएको हो ।

याेसँगै एडुरोमका प्रयोगकर्तालाई नेटवर्कमा जोडिन सजिलो र छिटो हुने एनरेनका सिस्टम इन्जिनियर निराजन पराजुलीले बताए । त्यस्तै प्रयोगकर्ताका लागि एडुरोम थप विश्वसनीय हुने पनि उनले जनाए ।

यसअघि पुतलीसडकमा भएको एडुरोमको सर्भरबाट त्रिविले उक्त सेवा लिइरहेको थियो । त्यहाँ दूरी लामो भएकाले नेटवर्कमा समस्या आउँदा सेवा प्रभावित हुनसक्ने भएकाले त्रिवि परिसरमै सर्भर स्थापना गरिएको पराजुलीले जानकारी दिए ।

हाल त्रिवि परिसरमा एडुरोमका २२० ओटा वायरलेस एक्सेस पोइन्ट छन् । यसले गर्दा त्रिविको जुनै ठाउँमा बसेपनि यस नेटवर्कमा जोडिन सकिने छ ।

यसअघि नेटवर्कमा जोडिन एनरेनको डेटा सेन्टरमा पुग्नुपर्थ्यो भने अब त्रिवि परिसरबाट नै विश्वविद्यालयका कर्मचारी/विद्यार्थीले सो काम गर्न सक्नेछन् ।

यस नेटवर्कमा त्रिवि २०२१ अगस्ट ११  मा जोडिएको थियो । हाल नेपालमा २५ ओटा शैक्षिक संस्था एडुरोममा जोडिएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० ८:३०