close

२३-२४ जेठमा ‘राष्ट्रिय एआई ह्याकाथन’ आयोजना हुँदै, शार्क ट्याङ्क शैलीमा लगानी खोज्ने अवसर

टेकपाना टेकपाना

जेठ ११, २०८३ १६:२९

२३-२४ जेठमा ‘राष्ट्रिय एआई ह्याकाथन’ आयोजना हुँदै, शार्क ट्याङ्क शैलीमा लगानी खोज्ने अवसर

काठमाडौँ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्ने उद्देश्यका साथ आगामी २३-२४ जेठमा ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आयोजना हुने भएको छ । कोडदृष्टि सफ्टवेयर प्रालिले ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) को परिसरमा यो ३२ घण्टे प्रतिस्पर्धा आयोजना गर्न लागेको हो ।

प्रतिस्पर्धामा देशभरका सातै प्रदेशबाट २५० भन्दा बढी डेभलपर, विद्यार्थी, अनुसन्धानकर्ता र प्रविधि उद्यमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

ह्याकाथनको मुख्य आकर्षण शार्क ट्याङ्क शैलीको इन्भेस्टर पिचिङ रहनेछ । ३२ घण्टाको कोडिङ सेसन सकिएको एक हप्तापछि हुने पोस्ट-इभेन्टमा उत्कृष्ट ठहरिएका सहभागी टोलीले प्रतिष्ठित लगानीकर्ता, सफल प्रविधि उद्यमी र व्यापारिक लिडरहरू सामु सिधै आफ्नो एआई परियोजना र व्यावसायिक योजना प्रस्तुतिका लागि अवसर पाउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार व्यावसायिक रूपमा सम्भाव्य देखिएका प्रोजेक्टहरूमा लगानीकर्ताहरूले तत्कालै फन्डिङ गर्ने र बजारमा लैजान मार्गनिर्देशन प्रदान गर्नेछन् ।

प्रतिस्पर्धाका क्रममा चयन गरिएका ३५ टोलीहरूले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र फिनटेक क्षेत्रमा विद्यमान समस्याहरूको समाधानका लागि एआई प्रविधिमा आधारित नवीन र व्यावहारिक मोडेलहरू विकास गर्नुपर्ने बताइएको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि करसहित एक लाख ५० हजार रुपैयाँ तोकिएको छ । उत्कृष्ट टोलीहरूले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सहभागी टोलीका लागि सुरक्षित कार्यस्थल, उच्च गतिको इन्टरनेट र खानपानको व्यवस्था आयोजकले नै गर्नेछ ।

ह्याकाथनमा सहभागी हुन चाहने टोलीहरूका लागि ६ जेठदेखि नै दर्ता प्रक्रिया खुल्ला गरिएको छ । इच्छुक समूहले आगामी १८ जेठभित्र कोडदृष्टिको आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता गरिसक्नुपर्नेछ । प्रति टोली (दुईदेखि चार जना) दर्ता शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ १६:२९