close

एसुसले ल्यायो विश्वकै पातलो ल्यापटप, कति होला मूल्य ?

टेकपाना टेकपाना

जेठ २९, २०८० १३:३७

एसुसले ल्यायो विश्वकै पातलो ल्यापटप, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा एसुसको स्लिम ल्यापटप ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स५३०४)’ सार्वजनिक भएको छ । एसुसका लागि नेपालको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले सोमबार १३.३ इन्चको ओएलईडी ल्यापटप सार्वजनिक गरेको हो । 

कम्पनीले जेनबुक एस १३ लाई विश्वकै पातलाे ल्यापटप भनेर दाबी गरेकाे छ । याे ल्यापटपको मोटाइ एक वर्ग सेन्टिमिटर छ भने तौल एक किलोग्राम छ ।

यसमा १३.३ इन्चको एसुस लुमिना ओएलईडी डिस्प्ले समावेश छ, जसले ब्ल्याक ५०० प्रमाणीकरण प्राप्त गरेको छ । यस मोडेलमा १६ जीबी र्‍याम र एक टेराबाइट स्टोरेज उपलब्ध छ ।

दुई ओटा थन्डरबोल्ट फोर, यूएसबी ३.२ जेन टु र एचडीएमआई २.१ पोर्ट रहेको ल्यापटपमा ६३ वाट आवर क्षमताको ब्याट्री छ । यसको सहायताले लगातार १४ घण्टासम्म भिडिओ हेर्न सकिने कम्पनीको दाबी छ ।

चार्ज गर्नका लागि कम्पनीले जेनबुक एस १३ मा ६५ वाटको एडाप्टर उपलब्ध गराएको छ ।

विन्डोज ११ प्रो ओएसद्वारा सञ्चालित ल्यापटप १३ जेन इन्टेल कोर आई सेभेन प्रोसेसरमा आधारित छ । कम्पनीका अनुसार यसमा आइरिस एक्स ई ग्राफिक्स समावेश गरिएको छ ।

अत्याधुनिक क्यामेरा प्रणाली भएको जेनबुक एस १३ ल्यापटपमा ह्यान्डफ्री लगइन, एम्बियन्ट लाइट सेन्सर र एआई भिडिओ कल जस्ता फिचर रहेकाे कम्पनीकाे भनाइ छ ।

अडियो, भिडिओका लागि यसमा डल्बी भिजन एटमको सिस्टम जडान गरिएको छ । जसले ३.५ गुणासम्म भिडिओको साउन्ड बढाउन सकिने कम्पनीको दाबी छ ।

क्यामेराको सन्दर्भमा यसमा फुल एचडी इन्फ्रारेड क्यामेरा जडान गरिएको छ । यस क्यामेरामा एआईद्वारा सञ्चालित भिजुअल इफेक्ट र एआई नोइज क्यान्सिलेसन प्रविधि जडान गरिएको छ ।

यसलाई १८० डिग्रीसम्म घुमाउन सकिन्छ । कनेक्टिभिटीका लागि कम्पनीले यसमा वाई-फाई सिक्स ई उपलब्ध गराएको छ ।

ल्यापटपलाई हलुका र टिकाउ बनाउन कम्पनीले यसमा म्याग्नेसियम अल्मुनियम एलोई प्रयोग गरेको छ ।

आजदेखि दराज अनलाइन र अन्य भौतिक पसलहरूमा उपलब्ध जेनबुक एस १३ ओएईडी (यूएक्स५३०४) को मूल्य दुई लाख चार हजार ४४४ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १४:५०