काठमाडौं । १५ जेठ २०६५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा नेपाल टेलिकमले विशेष प्याकेज ल्याएको छ । यही १५ जेठमा मनाउन लागिएको गणतन्त्र दिवस को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि रिपब्लिक डे अफर उपलब्ध गराएको हो ।
यो अफर आज (२०८१ जेठ १४) देखि प्रारम्भ भई आगामी दुई दिनसम्म लागु हुने बताइएको छ । अफर अन्तर्गत ४९ मा १ दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा पाँच दिनसम्म चलाउन सकिने छ जीबी डेटा, १९९ मा सात दिनसम्म चलाउन सकिने १३ जीबी डेटा, र २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डेटा प्याक पनि रिपब्लिक डे अफरको रूपमा ल्याइएको छ ।
त्यस्तै ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ । यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि रहेको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० ओटा अल नेट एसएमएस पाउन सकिनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने बताइएको छ । टेलिकमका ग्राहकले आफ्नो मोबाइलबाट एस्ट्रिक्स १४१५ एस्ट्रिक्स ११ ह्यास (*1415*11#) डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेज खरिद गर्न सक्नेछन् ।